बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुरामको गृहजिल्ला पुगेर के–के भने प्रचण्डले ?

बुधबार, ०४ असोज २०७४, १३ : २१
बुधबार, ०४ असोज २०७४

गोरखा–पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आसन्न प्रदेश र संघको निर्वाचनमा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर जोकसैसँग पनि तालमेल हुन सक्ने बताएका छन् । 

अगुवा पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन बिहीबार गोरखा आएका  अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा बोल्दै भने, ‘स्थानीय तहका तीनै चरणका निर्वाचनमा कांग्रेस, एमाले, मधेश केन्द्रित र साना दलसँग पनि तालमेल भएको छ । संघ र प्रदेशको निर्वाचनमा पनि एउटै दलसँग तालमेल गर्ने हाम्रो नीति छैन । संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर जोकसैसँग पनि तालमेल हुन सक्छ, यसमा हामी खुल्ला छौं ।’
‘निर्वाचनअघि सरकार फेरबदल हुँदैन’ अध्यक्ष प्रचण्डले पत्रकार सम्मेलनमा भने, ‘चुनाव यही सरकारले गराउँछ, निर्वाचनअघि सरकार फेरबदलको कुनै सम्भावना छैन, माओवादीका लागि सरकारभन्दा प्राथमिकतामा निर्वाचन छ ।’

राजनीतिक स्थीरताका लागि प्रत्यक्ष कार्यकारीको मुद्दा उठाइएको प्रचण्डले बताए । 
उनले भने, ‘हामीले प्रत्यक्ष कार्यकारीको मुद्दा छोडेका थिएनौं, संविधानमा हाम्रो रिजर्भेसन थियो । संविधान बनेपछि पनि देशमा राजनीतिक स्थीरता भएन, तीन सरकार फेरिए । अब प्रत्यक्ष कार्यकारी प्रमूखको मुद्दा राजनीतिक दल र जनताको बीचमा लैजान्छौं । प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमूखले मात्रै राजनीतिक स्थीरता दिन र देशलाई एकतावद्द गर्न सक्छ ।’
मोहन वैद्य र डा बाबुराम भट्टराईले  विभाजनको औचित्य पुष्टि गर्न नसकेको भन्दै उनले भने, ‘उहाँहरुले विभाजनको औचित्य पुष्टि गर्न सक्नु भएन, अब अल्मलिएर काम छैन । बाबुरामजी भर्खरै आउने देख्दिनँ ।’
 बाबुरामकै गृहजिल्ला गोरखामा उनले  अहिलेको निर्वाचनमा नयाँ शक्तिसँग तालमेल गर्ने अवस्था नरहेको भन्दै   पार्टीका नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे लगायतका नेताहरु प्रतिस्पिर्धी रहेको बताए ।  भट्टराईले गोरखाबाट चुनाव लड्ने घोषणा गरेको अवस्थामा प्रचण्डले नारायणकाजी श्रेष्ठ, हितराज पाण्डे लगायतका नेताहरु प्रतिस्पिर्धी रहेको बताएका हुन् ।  प्रचण्डले भने चुनाव चितवनबाट लड्ने घोषणा गरिसकेका छन् । 
कार्यक्रममा नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, देव गुरुङ, हितराज पाण्डे, देवेन्द्र पौडेल लगायतको उपस्थित थियो । पत्रकार सम्मेलनपछि अध्यक्ष प्रचण्डले गोरखा जिल्लाका कार्यालय प्रमूखहरुसँग अन्तरक्रिया समेत गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप