बाबा राम रहिमको सहयोगी हनिप्रित धरानबाट पक्राउ ?
सुनसरी– चर्चित भारतीय बाबा गुरुमित रामरहिम सिंह पक्राउ परेपछि उनको सहयोगी भनिएकी हनिप्रित सुनसरीबाट पक्राउ परेको आशंका गरिएपनि प्रहरीले मौन बसिदिएको छ ।
रामरहिम बलात्कारी ठहरिर २० वर्षे कारबासमा गएपछि उनको सहयोगी भनिएकी हनिप्रित नेपालतर्फ भागेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । बाबाको कुकर्ममा मतियार भनिएकी वास्तविक नाम प्रियंका तनेता भएकी उनी धरानबाट पक्राउ परेको आशंका गरिएको हो ।
प्रत्यक्षदर्शीहरुका अनुसार धरान १३ मा रहेको सेवारो सेकुवा कर्नरमा सादापोशाकमा आएका प्रहरीले मंगलबार उनको अनुहारसँग मिल्दोजुल्दो भएकी युवतीलाई पक्राउ गरेको हो । भारतीय युवती र उनकै अनुहारसँग मिल्दोजुल्दो भएकाले पक्राउ पर्ने हनिप्रित नै भएको आशंका गरिएको हो ।
प्रहरीले भने पक्राउ परेकी युवतीबारे खुलाउन चाहेको छैन । कोशी अञ्चल प्रहरी प्रमुख हरिबहादुर पालले हनिप्रितसँग अनुहार मिलेको एक्भारतीय युवती दुई दिनदेखि धरानको होटलमा बसेको पाइएको तर परिचय पत्र हेर्दा अर्कै युवती रहेको परिचय खुलेको दाबी गरे । प्रहरीले उनलाई सोधपुछ गरेर छाडिएको बताएपनि स्थानीय प्रत्यक्षदर्शीहरुले सादा पोशाकमा आएका प्रहरीले पक्राउ गरेर लगेको बताएका छन् ।