कभानीलाई पीएजसीबाट हटाउन नेयमारको माग
पेरिस । नेयरमारले पेरिस सेन्ट जर्मेनका समकक्षी एडिसन कभानीलाई बेच्न क्लबसँग माग गरेका छन् ।
स्पेनिस पत्रिका स्पोर्टका अनुसार ब्राजिलियन खेलाडीले क्लबका अधिकारीहरुसँग भेटेर सो कुरा राखेका हुन् ।
उनले मैदानमा उरुग्वेका खेलाडीसँग सम्बन्ध राम्रो हुन नसक्ने बताउँदै सो कुरा राखेको बताइएको छ ।
गत आइतबार लियोनविरुद्ध २–० को जीत निकाल्ने क्रममा पेनाल्टी कसले लिने भन्ने विषयमा कभानी र नेयमारबीच भनाभन भएको थियो ।
स्पोर्टका अनुसार नेयमारले नासेर अल खेलाफीसँग क्लबमा कभानीसँग आफू रहन नसक्ने कुरा स्पष्ट पादै उनलाई बेच्नुपर्ने माग राखेका छन् ।
अब क्लबका अधिकारीहरुका लागि आफ्नो विश्वकिर्तिमानी अनुबन्ध र क्लबको सिनियर खेलाडीको सम्बन्ध कसरी सुधार गर्ने भन्ने चिन्ताको विषय बनेको छ ।
लियोन विरुद्धको खेलमा पीएसजीले पेनाल्टी पाएको थियो जसलाई हिर्काउन कभानीले जोड गरेका थिए । यस विषयमा नेयमार असन्तुष्ट रहेका थिए । अन्ततः कभानीले उक्त पेनाल्टी खेर फाल्न पुगेका थिए ।
खेलपछि पनि दुई खेलाडीबीच भनाभन भएको थियो ।
लियोनेल मेस्सीको छाँयाबाट उम्कन पीएसजी आएका नेयमार क्लबमा आफू प्राथमिकतामा हुनुपर्ने बताइरहेका छन् ।
उता, कभानी सन् २०१३ मा नापोलीबाट पीएसजी आए यता क्लबको महत्वपूर्ण खेलाडीको रुपमा रहँदै आइरहेका छन् ।