केन्द्रीय संस्करण

सौन्दर्यताको यात्रामा लेखकको महत्व

person explore access_timeअसोज ४, २०७४ chat_bubble_outline0

वास्तवमा सौन्दर्यता मानिसको भावना र हृदयसँग जोडिएको हुन्छ  । जुन उपयोगी हुन्छ, त्यही नै सुन्दर हुन्छ । वर्गको उदय भएदेखि नै भावनात्मक सौन्दर्याका दुईवटा पक्षहरू देखापरेका हुन्छन् । शोषक वर्गीय पक्ष र शोषित वर्गीय पक्ष । सचेत वा अचेत रूपमा सौन्दर्यकर्मीहरू कुनै न कुनै वर्गको सेवामा लागेका हुन्छन् । मानव इतिहासमा शोषक वर्गले पैसा र सत्ताको बलमा साहित्य, कला र संस्कृति आफ्नो पक्षमा निर्माण गर्दै आएका हुन्छन् । दास युगमा दास मालिक, सामन्ती युगमा राजा महाराजा र सम्राटहरूको सेवामा मानिसहरू रहेका हुन्छन् । 

    अहिले पुँजीवादको सेवामा अश्लील र विकृत साहित्य आएको देखिन्छ । शोषक, सभ्रान्तबाट पालित पोषित कलाकार र साहित्यकारले आफूलाई पाल्ने पुँजीपतिका विरुद्ध सौन्दर्यको सिर्जना गर्दैनन् । शोषित पीडित जनता पनि आफ्नो संस्कृति निर्माणमा लागेका हुन्छन् । मजदुर आन्दोलनको विकाससँगै विश्व सर्वहारा वर्गको साहित्यले पनि आफ्नो क्षेत्र बिस्तार गरेको बुझिन्छ । उत्पीडित वर्गको मन छुने साहित्य ऊर्जाबाट स्रष्टा र कलाकारहरूको बाढी नै आएको देखिन्छ । नेपालमा पनि राणा शासनविरोधी आन्दोलनले शोषित पीडितका पक्षमा साहित्यले उभार ल्यायो । १० वर्षसम्म चलेको जनयुद्धले पनि साहित्य कला सिर्जनाको धेरै विकास गरेको अनुभूति हुन्छ । 

   आकाशमा होइन, धर्तीमा साहित्य जन्मन्छ । हुर्कन्छ । अब निष्ठा र सिद्धान्तको राजनीति पातलिँदै गएको अवस्थामा बजारका लागि होइन, विचारका लागि साहित्य, सङ्गीत सिर्जना गर्न चुनौती छ । तर जनताको पक्षमा कलम चलाउने साहित्यकारहरूले चुनौतीहरूको सामना गर्नुपर्ने देखिन्छ । साहित्य निरपेक्ष हँुदैन । यो वर्गीय हुन्छ । बम बारुदभन्दा पनि साहित्य बढी विष्फोटक हुन्छ । यसैले सत्यतथ्य पस्कँदा पत्रकार तथा साहित्यकारहरूले जोखिम मोल्नुपर्ने हुन्छ । सामन्तवाद तथा दलाल पुँजीवादविरुद्ध कलम चलाउने साहित्यकारहरू गिरफ्तार गरिएका हुन्छन् । अङ्गभङ्ग पनि भएका हुन्छन् । दोहरो भिडन्तको बहानामा मारिएका पनि हुन्छन् । 

साहित्यमा दुई धार हुन्छन् । एउटा सुन्दर र अर्को असुन्दर हुन्छ । शोषित, उत्पीडित जनताका लागि सामन्तवाद, विस्तारवाद तथा साम्राज्यवाद असुन्दर पक्ष हुन् । यही कुरा दलाल पुँजीवादका लागि सुन्दर पक्ष हुन जान्छ । प्रगतिशील लेखक सङ्घले पनि सुन्दर पक्ष लिएको हुन्छ । तर भाट लेखकहरू भने लोभ, भय त्रास आदिका कारण सत्य तथ्य कुरा उजागर गर्न सकेका हुँदैनन् । एउटै कम्युनिस्ट पार्टी भएको समयमा स्थापित प्रलेस आज कम्युनिस्टका धेरै चिरा भएको अवस्थामा प्रायः लेखकहरूले वास्तविक कुरा नलेखी  आस्थाको बन्दी भएका हुन्छन् । कतिपय कम्युनिस्ट पार्टी नामका मात्र हुन्छन् । उनीहरूले कम्युनिस्टको विचार, सिद्धान्त र आदर्श छाडेका हुन्छन् । तैपनि प्रलेसको विधानले कम्युनिस्टको आचार र विचारलाई पक्डेको महसुस हुन्छ । 
 

 प्रलेस बामपन्थी बुद्धिजीवीहरूको साहित्यिक सङ्गठन हो । नबोल्नेको आवाज हो प्रलेस । यसले उत्पीडित अन्यायमा कहरकाटेका गरिब, श्रमिक वर्गको सेवा गर्छ । माक्र्सवादी सौन्दर्य चेतले उदात्त बुद्धिजीवीहरूको दायित्व आजको आवश्यकता हो । प्रलेसले द्वन्द्वात्मकभौतिकवादी दर्शनलाई सौन्दर्य चिन्तनको आधार मानेर कला, साहित्य र संस्कृतिको सिर्जना गरेको हुन्छ । आजभोलि प्रलेसमा नाम दर्ता गराएका लेखकहरूले सांस्कृतिक क्रान्ति गर्नसकेका हुँदैन  । आध्यात्मवादमा रुमलिएका हुन्छन् उनीहरू । छूवाछूत र छाउपडी प्रथाको खुलेर विरोध गर्न सकेका हुँदैनन् । रहस्यवाद र काल्पनिक कुरामा बढी महत्व दिएका हुन्छन् । जीवन र जगतको कुरा नबुझेर पुनर्जीवनको चिन्तनमा बाँधिएका हुन्छन् ।  यथास्थितिवाद अवलम्बन गरेर वर्गसमन्वयको यात्रा गर्छन् । आफू बदलिएर अरूलाई बदल्न सक्नुपर्छ । तर लेखकहरूको लेखाइ र गराइमा कुरा मिलेको हुँदैन । किसान, मजदुरहरू मैला मान्छे मानिन्छन् । प्रलेसमा देखिएको भोगवाद, शून्यवाद, बिसर्जनवाद र बजारले साहित्यलाई नियन्त्रणमा राखेको छ । लेखक र पाठकलाई उपभोक्ता बनाएको छ । यसले गर्दा वैचारिक लेखनभन्दा बिनाविचारका टपर्टुइयाँ लेखकहरूको मूल्य ठूलो हुने गरेको छ । आस्थाका पुजारी भएका कारण भाट लेखकहरूले नै पुरस्कार पाएका हुन्छन् । दलाली मानसिकता र एनजीओ, आईएनजीओको झोलाबाहेक उनीहरूको मस्तिष्कले अरू केही बोक्दैन । उनीहरूले आफ्नो बौद्धिकतालाई नाफासँग मात्र जोडेका हुन्छन् । उनीहरूले श्रमजीवीको हितलाई लत्याएर बजारको चाहनाअनुसार लेख्छन् । भाडाको लेखक मौलाएका हुन्छन् । प्रचार आतङ्कले सुन्दरलाई कुरूप र कुरूपलाई सुन्दर बनाएको छ । आजको उत्तरआधुनिकवादमा भूमण्डलीकरणले साम्राज्य बनाएको छ ।  भूमण्डलीकरणले सिर्जना गरेका व्याप्त रूपवाद र बजारवाद आजको ठूलो चुनौती हो । 

   अर्को सुन्दर पक्ष भनेको राष्ट्रियता हो । भारतको नेपालसँग १७५१ किमि लामो सीमा छ । भारतसँग जोडिएका  २६ जिल्लामध्ये २२ वटा जिल्लाका ६२ ठाउँबाट अतिक्रमण भएको छ । करिब ६५ हजार हेक्टर जमिन भारतमा गाभिएको छ । १९५० लगायतका  असमान सन्धि सम्झौताहरू खारेज हुनसकेका छैनन् । जुन जोगी आए पनि कानै चिरेका भनेजस्तै आजसम्म कुनै पनि प्रधानमन्त्रीले राष्ट्रियताको पक्षमा  कुराहरू उठाउन सकेका छैनन् । भारतसँग खुला सीमाको कारणले सांस्कृतिक अतिक्रमण, अवैध व्यापार, नेपाली युवतीहरूको बेचविखन हतियारको तस्करी, डकैती र गुण्डागर्दी मौलाएका छन् । प्रतिस्पर्धामा नेपालका उद्योग टिक्नसकेका छैनन् । यता भने  नेपाली युवाहरू पैसा कमाउनका लागि मलेसिया अरबको खाडीमा धाउनुपर्ने बाध्यता छ । कोशी (मातृका), गण्डक (बीपी), टनकपुर (गिरिजा) र सिङ्गै महाकाली प्याकेजमा– (एमाले) सम्झौता गर्ने नेताहरू बदनाम भएका छन् । यद्यपि एमाले नेता मनमोहन अधिकारी भने राष्ट्रियताको सवालमा अडिग रहेका हुन् । अहिले कोशी बाँधले तराई डुबानमा पारेर जनजीवन बिचल्ली बनाएको छ । अझ दुःखलाग्दो कुरा कोशीमा १९८ मिटर अग्लो बाँध बनाउने तयारी छ । यसले तराईका जमिन र जङ्गल सबै डुबान हुने खतरा स्पष्ट छ । 
 

  अहिले एकाधिकार पुँजीको ठाउँमा समन्वयवादी पुँजीवाद आएको छ । यसले अरूलाई केही हिस्सा दिने अरू बाँकी आफैले कुम्ल्याउने गर्छ । उत्तर भन्नु नै पछि हो । अथवा विकसित अवस्था हो । अहिले साम्राज्यवाद झन विकराल अवस्थामा छ । शक्तिराष्ट्रहरूको दबदबा छ । तर पनि चाइना र रुसले गर्दा शक्तिको चेक एन्ड ब्यालेन्स छ । उत्तर कोरियाले अमेरिकालाई थर्काइरहेको अवस्था छ । 
 

 प्रगतिशील लेखकहरूले राष्ट्रियता, जनतन्त्र र जनजीविकामा कलम चलाएर सबैलाई सौन्दर्य बोध गराउन आवश्यक छ । नेपाल स्वतन्त्र र सार्वभौम देश हो । विदेशी हस्तक्षेपविरुद्ध राष्ट्रिय स्वाभिमानी नेपालीहरू वीर बलभद्र, अमरसिंह र भक्ति थापाजस्ता देशभक्त हुनु जरुरी भइसकेको छ । सिक्किमीकरण र नागरिकताको हकमा  फिजीको सवालबाट देशलाई जोगाइराख्न आवश्यक छ ।  सबैले खस सभ्रान्त वर्गको जातीय अहंकारवाद, आत्मसमर्पणवाद त्यागेर राष्ट्र निर्माणमा लाग्नुको विकल्प छैन । वैज्ञानिक समाजवादको सुन्दर सपना साकार पार्न र साम्यवादको लक्ष्यमा पुग्न सुन्दर विचारको आवश्यकता छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ