बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२ नम्बरमा मतगणना भइरहँदा यस्तो आयो पाँच दलको प्रतिक्रिया

बुधबार, ०४ असोज २०७४, ०९ : ०७
बुधबार, ०४ असोज २०७४

आजको नयाँ पत्रिकामा यो खबर छ 

एमाले पहिलो दल हुने निश्चित भयो 
झलनाथ खनाल, वरिष्ठ नेता
प्रदेश नम्बर २ को आठ जिल्लामा समग्र जनमतका हिसाबले धेरैअघिदेखि एमाले अघि थियो । एमालेलाई घेराबन्दी गरेर एक्लो बनाउन थुपै्र शक्तिकेन्द्र लागे, विभिन्न किसिमका हथकण्डा अपनाइयो, अराजकता फैलाइयो । कतिपय उम्मेदवारको घरमै बम हान्ने कामसमेत भयो । यी सबै कुराका बाबजुद प्रारम्भिक परिणामबाट एमाले प्रदेश नं. २ मा पनि मुख्य शक्ति हो भन्ने तथ्य पुनस्र्थापित हुुँदै छ । नतिजा आउन बाँकी छ, तर यो तथ्यलाई कसैले यताउति गर्न सक्नेछैन ।

माओवादीका लागि नतिजा सन्तोषजनक
मातृका यादव, माओवादी केन्द्र
अहिलेसम्म प्रदेश नम्बर २ का १३६ तहको मतगणना हुन सकेको छैन । केही तहको मात्र गणना भइरहेको छ । धनुषा, सिरहाजस्ता जिल्लामा राम्रो संकेत देखिएको छ । अरू जिल्लामा पनि खासै नराम्रो रिपोर्ट आएको छैन । प्रारम्भिक रूपमा आएको नतिजा हेर्दा सन्तोषजनक नै देखिन्छ । बुधबारसम्म धेरै मतगणना हुन्छ, त्यसपछि निर्वाचनको समग्र समीक्षा गर्न सकिएला । मधेसमा विचार, दर्शन, सिद्धान्त, नैतिकताको राजनीति हरायो । पैसा र पावर हुनेले टिकट पाएको देखियो ।

कांग्रेसले अझै धेरै स्थान जित्न सक्थ्यो
रामचन्द्र पौडेल, कांग्रेस नेता
तराई मधेसका जनता अल्मल्याउने कुरासँग सहमत छैनन्, स्थिरता चाहन्छन् भन्ने विषय सिद्ध भएको छ । निर्वाचन परिणामले मधेसी दलहरूलाई पनि पाठ सिकाएको छ । तराईमा कांग्रेस एकातिर र अरू सबै पार्टी अर्कोतिर हुनुपर्ने हो । तर, हामीले टिकट वितरणलाई राम्रो बनाउन सकेनौँ । टिकटमा साथीहरूले गडबड गर्न पुगे । यस्तो हुुँदाहुँदै पनि जनताले भोट दिएका छन् । तर, जति ठाउँमा जित्नुपर्ने हो त्यस्तो हुने अवस्था छैन । यो पार्टी नेतृत्वको कमजोरी हो ।

मनी र मसलको बलमा मत आएको छ
राजेन्द्र महतो, राजपा
अहिले आइरहेको मतपरिणाम अन्तिम होइन । अन्तिम समयसम्म मतपरिणाम अहिलेको भन्दा उल्टो पनि हुन सक्छ । राजपा मधेसमा पहिलो नभए पनि दोस्रो दल हुन्छ । राजपामा आधाभन्दा बढी विद्रोह भयो । आन्दोलनमा लागेकाहरू प्रतिबद्ध भएर राजपालाई मत दिए भने पद र पैसाका लागि आएकाहरू टिकट नपाएको झोकमा हराउन लागे । कसले कति मनी र मसल प्रयोग ग¥यो, त्यसै आधारमा मतपरिणाम आएको छ । वास्तवमा यो सैद्धान्तिक मत होइन ।

फोरमको उपस्थिति बलियो 
रत्नेश्वरलाल कायस्थ संघीय फोरम
मधेसमा स्थानीय निर्वाचन निकै शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भयो । अहिले जति पनि परिणाम आइरहेको छ, त्यो राजमार्गआसपासका स्थानीय तहका हुन् । प्रारम्भिक तथ्यांकका आधारमा विश्लेषण गर्न सकिँदैन । कुन दलले अग्रता लिन्छ भन्ने मधेसको भित्री स्थानीय तहको मतगणनापछि आकलन गर्न सकिन्छ । तर, हाम्रो उपस्थिति बलियो हुन्छ, यसमा कुनै शंका छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप