शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चीन जोड्ने सम्झौता नयाँ नाकाबाट

बुधबार, ०४ असोज २०७४, ०६ : ५४
बुधबार, ०४ असोज २०७४

चीन हुँदै नेपालको एक नाकाबाट अर्को नाका जोड्ने थप सडक खुलाउनेबारे नेपाल र चीनबीच सम्झौता हुँदै छ । दुई देशका उच्चस्तरीय वार्ताटोलीबीच बुधबार काठमाडौंमा हुने छलफलपछि सम्झौता हुने भएको हो । त्यसका लागि १३ सदस्यीय चिनियाँ टोली काठमाडौं आइसकेको छ भने १७ सदस्यीय नेपाली टोलीको अन्तिम टुंगो लागेको छ ।

चिनियाँ टोलीमा त्यहाँको यातायात मन्त्रालय, पराराष्ट्र, गृह, अर्थ, वाणिज्य मन्त्रालयलगायत तिब्बत क्षेत्रका प्रतिनिधि रहेका छन् । त्यस्तै, नेपाली पक्षको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका कार्यबाहक सचिव धु्रवराज जोशीले गर्नेछन् । त्यस्तै, गृह, अर्थ, वाणिज्य, पराराष्ट्र, कानुन मन्त्रालयका सहसचिव टोलीमा छन् ।, यो खबर आजको नयाँ पत्रिकामा छ । 

दुई देशबीच हुने उच्चस्तरीय वार्तामा नेपालले यसअघि नै चीनसँग प्रस्ताव गरेका थप १२ सडक र नाका खुला गर्नेबारे सम्झौता गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिनियर डिभिजनल इन्जिनियर गोविन्दप्रसाद खरेलले जानकारी दिए । तर, चिनियाँ पक्षले भने नाका संख्या घटाउने तयारीमा रहेको बुझिएको छ । ‘सुरक्षाको दृष्टिकोणबाट पनि चीन धेरै नाका नखोल्ने पक्षमा छ,’ मन्त्रालयका एक अधिकारीले भने । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले छलफलमा राखिने सबै नाकामा दुई देशबीच सम्झौता हुने विश्वास व्यक्त गरे ।

नेपाल–चीन सडक यातायात सम्झौताअन्तर्गत अहिलेसम्म चीन हुँदै तीन नाका खुला गर्नेबारेको प्रोटोकलमा सम्झौता भएको छ । तिनीहरूमा खासा–यारी, खासा–रसुवागढी र खासा–ओलाङचुङगोला हुन् । भूकम्पपछि तातोपानी–खासा नाका पूर्ण रूपमा बन्द भएपछि अहिले चीन भएर नेपालको एक नाकाबाट अर्को नाकामा आवतजावत पूर्णतः बन्द छ । दुई देशबीच हुने वार्तामा अवरुद्ध भएको खासा नाका सुचारु गराउनेबारे पनि चिनियाँ टोलीसँग विषय उठाउने नेपाली पक्षको तयारी छ । नेपाल र चीनबीच २७ वर्षअघि (सन् १९९४ मा) सडक यातायात सम्झौता भएको थियो ।

नेपाल–चीन सडक प्रोटोकल सम्झौताका ५ फाइदा
१) नेपालका हिमाली र उच्च पहाडी क्षेत्रमा खाद्यान्न, शिक्षा, स्वास्थ्य, औषधि, पूर्वाधार सामग्री चीनबाट आयात गर्न सस्तो र सहज तथा सही व्यवस्थापन गर्न सकिनेछ ।

२) केही नाकाबाहेक नेपालले सडक निर्माण गरेर अहिलेसम्म चीन (तिब्बत) सम्म पु¥याउन सकेको छैन । यस्तो अवस्थामा पहाडी र हिमाली क्षेत्रमा सुरुङमार्ग निर्माण गर्नका लागि मेसिन ल्याउन चिनियाँ सडक उपयोगी हुनेछ । सुरुङ खन्ने अत्याधुनिक मेसिन चीनमा तयारी गरिने भएकाले पनि यसबाट नेपालले लाभ लिन सक्नेछ ।

३) नेपालको पहाडी र हिमाली क्षेत्रमा निर्माण हुने जलविद्युत्, सिँचाइ र सडकलगायत आयोजनामा आवश्यक डिजेल, पेट्रोललगायत पेट्रोलियम पदार्थ आयातमा सहज हुनेछ । ठूला आयोजना निर्माण खर्च घट्नेछ ।

४) चीनको नेपालसँगको व्यापारमा वृद्धि हुनेछ ।

५ नेपालको समग्र व्यापार घाटा घटाउन थप नाकाले सहयोग पुग्नेछ ।

चिनियाँ राजदूतलाई जानकारी

यसअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले सोमबार चिनियाँ राजदूत यु होङलाई मन्त्रालयमा नै बोलाएर भेट गरेका छन् । उक्त भेटमा नेपालका एक नाकाबाट चीन हुँदै अर्को नाका जोड्ने थप १२ नाकाको आवश्यकता रहेको उनले जानकारी गराएका छन् । यस विषयलाई राजदूतले सकारात्मक रूपमा लिँदै पारित गराउन चीन सकारात्मक रहेको आश्वासन दिएको मन्त्रीका सञ्चार अधिकृत रमेश जोशीले जानकारी दिए ।

चीनसँग प्रोटोकल संशोधन सम्झौतामा प्रस्तावित नाकाहरू 
-रसुवागढी–हिल्सा

-रसुवागढी–कोराला

-खासा–कोराला

-रसुवागढी–डोल्पा

-खासा–डोल्पा

-रसुवागढी–डोल्पा

-रसुवागढी–दार्चुला

-खासा–दार्चुला

-रसुवागढी–बझाङ (ताक्लाकोट)

-खासा–बझाङ (ताक्लाकोट)

-रसुवागढी–ओलाङचुङोला

-रसुवागढी–किमाथांका (संखुवासभा)

नेपाललाई पूर्वाधार प्रयोग गर्न दिन चीन सकारात्मक 
नेपाललाई चीनमा बनेका पूर्वाधार प्रयोग गर्न दिन चिनियाँ उच्च नेतृत्व सकारात्मक रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । विशेषगरी चिनियाँ राजमार्ग प्रयोग गरेर नेपालको हिमाली जिल्लामा पनि सामान ढुवानी गर्न दिनेबारे चीनले उच्च प्राथमिकता दिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले बताए । तर, चिनियाँ पक्षले उसको राजमार्ग प्रयोग गर्दा केही सर्त भने पूरा गर्नुपर्ने जानकारी गराएको छ । चिनियाँ पूर्वाधार प्रयोग गर्नेबारे नेपाल र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’समेत भइरहेको मन्त्रालयले जनाएको छ । बुधबार नै यससम्बन्धी पनि दुई पक्षबीच छलफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप