शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै

बिहीबार, १३ कात्तिक २०७७, १० : ३२
बिहीबार, १३ कात्तिक २०७७

पछिल्लो समय काभ्रेपलाञ्चोकमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या बढ्दै गएको छ । 

जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका अनुसार जिल्लामा बुधबार एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १०५ रहेको छ । 

मङ्गलबार जिल्लामा कुनै सङ्क्रमित देखिएनन् । सोही दिन उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १८ जना रहेको पोष्टले जनाएको छ । आइतबारअघिको ४८ घण्टामा १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने त्यसअघिको सङ्क्रमणदर घट्दै गएको पोष्टले जनाएको छ । 

पोष्टका अनुसार बुधबारसम्म काभ्रेपलाञ्चोकमा ५९९ महिलासहित एक हजार पाँच सय ३३ जना सङ्क्रमितमध्ये ७१ प्रतिशत अर्थात् एक हजार ७८ सङ्क्रमणमुक्त भएका हुन् । सङ्क्रमितमध्ये १० पुरुष र सात महिलाको मृत्यु भइसकेको छ । 

गत असार २ गते काभ्रेपलाञ्चोकमा पहिलो कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । अहिलेसम्म कोरोना भाइरसको सक्रिय सङ्क्रमितमध्ये ४४ प्रतिशत अर्थात् १९० बनेपा नगरपालिकाका छन् । त्यस्तै धुलिखेलमा ९०, पनौतीमा ८१, पाँचखालमा १८, नमोबुद्धमा २०, मण्डनदेउपुरमा २६ तथा रोशीमा छ, बेथानचोकमा तीन, खानीखोला र चौंरीदेउरालीमा एक÷एक सक्रिय सङ्क्रमित रहेको पोष्टले जनाएको छ । 

सङ्क्रमितहरुमध्ये ९७ जनाको अस्पताल आइसोलेसनमा र ३४१ जनाको होम आइसोलेसनमा उपचार भइरहेको छ । यहाँको दुई स्थानीय तह भुम्लु र महाभारत गाउँपालिका कोरोनामुक्त भएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप