शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधेशवादी दलले नै पटक–पटक स्वीकारी सके संविधान, तर अझै किन भनिदैछ ‘कालो दिन’

मङ्गलबार, ०३ असोज २०७४, २१ : ०७
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले आज मध्यान्ह आफ्नो फेसबुकमा ‘असोज तीन, कालो दिन’ विभेदकारी संविधान २०७२ विरुद्धको हाम्रो संघर्ष जारी छ’ भनि लेखे ।

आजको दिनलाई कालो दिनको रुपमा राजपा नेपालले लिएपनि आधिकारिक र औपचारिक कार्यक्रम कतै गरेको छैन । 

अनिल झाको यो स्टाट्स र राजपा नेपालको दोहोरो नीतिका कारण यसले वर्तमान राजनीतिक परिवेशमा ठूलो प्रश्न सृजना गरेको छ । जुन संविधानलाई कालो भनिएको छ, जुन संविधानलाई टुक्रा टुक्रा पारिएको छ, जुन संविधानलाई पटक पटक जलाइएको छ, आज त्यही संविधानलाई टेकेर राजपा नेपाल स्थानीय तहको चुनावमा भाग लिएको छ । 

यसले राजपा नेपालको दोहोरो चरित्र उदाङ्गिएको विश्लेषणहरु भइरहेको छ । प्रमुख तीन दल काँग्रेस, एमाले र माआवादी केन्द्रलगायतका दलहरुले स्थानीय तहको चुनावलाई संविधान कार्यान्वयनका लागि मुख्य आधार मानेका छन् । 

स्थानीय तहको चुनाव घोषणा गरेसँग शीर्ष दलहरुले संविधान कार्यान्वयनको रुपमा यसलाई लिएका थिए जसलाई राजपा नेपाललगायत अन्य मधेशवादी दलहरुले विरोध गरेका थिए । संविधान संशोधन नभएसम्म कुनै पनि चुनाव हुन नदिने भन्दै मधेशवादी दलले विभिन्न आन्दोलनका कार्यक्रमहरु शुरु गरे । निर्वाचनका कार्यक्रमहरु विथोले पनि । त्यही कार्यक्रम विथोलेको र चुनावलाई अवरोध गरेको कारण बैशाख १४ गते तय भएको दुई नम्बर प्रदेशको चुनाव असोज २ गतेका लागि सरेको थियो । असोज २ गते सरेको चुनावमा पनि भाग नलिने घोषणा राजपा नेपालले गरेका थिए ।

संविधान संशोधन नभएसम्म कुनै पनि हालतमा चुनावमा भाग लिदैनौ भनि सत्तारुढ दललाई पटक पटक भन्दै आइरहेका थिए । संविधान संशोधन त भएन तर त्यही संविधानलाई टेकेर भएको स्थानीय तहको चुनावमा भाग लिए ।

मधेशी दलले कहाँ कहाँ गरे संविधानलाई स्वीकार
२०७२ असोज ३ गते जारी भएसँगै संविधानलाई जलाएर अस्वीकार गरेको बताउँदै आएपनि मधेशवादी दलले विभिन्न चरणमा स्वीकार भने गरेका छन् ।  

पहिलो पटक
संविधान निर्माण हुनै लाग्दा तत्कालिन मधेशी मोर्चाले सविधान अनुसार सञ्चालित रहेको भन्दै संसद वहिष्कार गरेका थिए । यहाँसम्म कि तत्कालिन सद्भावना पार्टीले संसदबाट राजीनामा नै दिएका थिए । तर संविधान जारी भएपछि ओलीको सरकार ढाल्न भएको मतदानमा मधेशी मोर्चाका नेताहरुले काङ्ग्रेसका तत्कालिन सभापति सुशिल कोइरालाको पक्षमा मतदान गरेका थिए । सुशिल कोइरालालाई मतदान गर्नका लागि वहिष्कारमा रहेका मधेशी मोर्चाका सांसद तथा संसदबाट राजिनामा दिएका सद्भावना पार्टीका संसदहरु पनि व्यवस्थापिका संसदमा आएर २०७२ असोज २४ गते कोइरालाको पक्षमा मतदान गरेका थिए । त्यसरी मतदान गर्दा पनि कोइराला प्रधानमन्त्री बन्न सकेनन् । 

दोस्रोपटक
ओली सरकार ढलेपछि माओवादी केन्द्रको नेतृत्वमा बनेको सरकारलाई तत्कालिन मधेशी मोर्चाले संसदमा उभिएर अध्यक्ष प्रचण्डलाई समर्थन गरेको थियो । २०७३ साउन १९ गते प्रधानमन्त्रीमा चयन भएका प्रचण्डको समर्थकमा फोरम नेपालका उपेन्द्र यादव, राजपा नेपालका लक्ष्मण लाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला पनि समर्थक बसेका थिए । यी सबै प्रकृया संविधान अनुसार नै भएको थियो । 

तेस्रो पटक 
२०७३ जेठ २३ गते नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुन लाग्दा राजपा नेपाल र फोरम नेपालले समर्थन गरेका थिए । त्यो पनि संविधान अनुसार नै भएको थियो । 

यसरी पटक–पटक सविधानलाई स्वीकार गरेका मधेशी नेतालाई यस्तो किन गरेको भन्ने प्रश्न गर्दा उनीहरुले एमालेलाई सत्ताभन्दा बाहिर राख्नका लागि बाध्य भएर यस्तो कदम चाल्नु परेको प्रतिकृयाहरु दिएका थिए । एमाले मधेशविरोधी शक्ति भएका कारणले यसलाई बाहिरै राख्नुपर्ने भएकाले यस्तो गरेको प्रतिकृया उनीहरुको हुन्थ्यो । 

चौथो पटक
मधेशी मोर्चामा रहेका विभिन्न छवटा दल मिलेर राजपा नेपाल बनायो । २०७४ बैशाख ७ गते राजपा नेपाल घोषणा गरेको त्यसलाई दलको रुपमा निर्वाचन आयोगमा असार ३१ गते दर्ता गराए । दल दर्ता पनि नयाँ संविधान अनुसार नै दर्ता भएको हो । जुन संविधानलाई जलाएर रद्दीको टोकरीमा फ्याकेका थिए त्यसलाई नै टेकेर राजपा नेपाललाई दलको रुपमा दर्ता गराएको छ । 

पाँचौ पटक
नयाँ सविधान अनुसार दल दर्ता गराएका राजपा नेपालका नेताहरु त्यही दलबाट संविधानलाई मान्दै स्थानीय तहको चुनावमा भाग लिएका छन् । संविधान संशोधन नभएसम्म चुनावमा भाग नलिने अडानमा रहेका मधेशी नेताहरुले नयाँ पार्टी दर्ता गराएर असोज २ गते भएको स्थानीय तहको चुनावमा भाग लिए । तर, त्यही दल आज संविाधान दिवसलाई कालो दिवसका रुपमा पनि मनाइरहेको छ ।

राजनीतिक बेइमानी
मधेश राजनीतिका विश्लेषक तुलानारायण साहले त्यतिकै ‘धन्धेमे बेइमानी नही होना चाहिए’ भनेका होइनन् । 

उनले आजै आफ्नो फेसबुकमा लखेका छन्,–‘संविधान संशोधनकालागी आन्दोलन गर्नेहरुको पराजय भएको छ । निर्वाचनलाई उपयोग गर्नु वा त्यसमा मतदान गर्नु नै नयाँ संविधानलाई स्वीकार गर्नु हो । अब निर्वाधरुपमा यो संविधान कार्यान्वयन भइरहन्छ ।’

उनले अगाडि लेखेका छन्–‘अन्य निर्वाचनहरु पनि निर्वाधरुपमै सम्पन्न हुनेछन् । संविधान संशोधनको मुद्दा अब चुनावी स्टन्ट मात्र बनिरहनेछ । हिजो मधेसीको अधिकार कटौतीको लागि तीन ठूला दल एकजुट थिए, आज मधेसीको मत पाउनको लागि लुछाचुडी गर्दै आपसमा झगडा गर्दैछन् ।’

हिजोको निर्वाचनलाई उपयोग गर्नेहरुले आजको संविधान दिवसलाई कालो दिन भन्नुको अब तुक छैन, तुलानारायणले भनेका छन्– ‘के गर्ने र के नगर्ने कुराको निर्णय लिने हरेक व्यक्तिको नितान्त व्यक्तिगत र नैसर्गिक अधिकार हो । तर कुनै पनि तथ्य, घटना र परिवेशलाई आफ्नो अनुकुल वा फाइदाको लागि मात्र व्याख्या गर्न खाजेर समाजलाई दिग्भ्रमित पार्नु घोर अवसरवादी चरित्र हो ।’

उनले एउटा हिन्दी फिल्मको डायलग सम्झिदै लेखेका छन्,–‘धन्धा बैइमानी का भी हो तो कोइ बात नही, पर धन्धेसे बेइमानी नही होनी चाहिए ।’ निर्वाचनलाई उपयोग गर्नु समस्या होइन तर निर्वाचनको उपयोग गर्नेहरुले यो संविधान स्वीकार गरेको छैन भन्नु र तिनैले आज कालो दिवस मनाउछु भन्नु समस्या हो भन्ने पनि उनले उल्लेख गरेका छन् ।’   

कालो दिन कसरी होला सेतो दिन ?
तर, तुलानारायण भन्दा चन्द्रकिशोरको धारणा फरक छ । उनले भने,–‘हिजो संविधान दिवसलाई कालो दिवस बनाउनेहरुका लागि आज सेतो दिवस कसरी हुन्छ ? मधेशवादी दलले हिजो पनि संविधान स्वीकार गरेको थिएन, आज पनि स्वीकार गरेको छैन ।’

जसरी एमालेले २०४७ सालका संविधानलाई आलोचनात्मक रुपमा स्वीकार गरेको थियो, त्यसरी नै अहिले मधेशवादी दलले स्वीकार गरेको उनले बताए । उनले भने, ‘मधेशवादी दलले सविधानलाई पूर्ण समर्थन गरेको छैन, सविधानलाई संशोधन गर्नुपर्छ भनि माग राख्दै अगाडि बढ्ने रणनीति मधेशवादी दलको रहेको छ ।’

के भन्छन् नेताहरु ?
राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले चुनावमा संविधानलाई टेकेर होइन, ओन्दोलनको रुपमा भाग लिएको दावी गरे । उनले भने, ‘आन्दोलनकै रुपमा हामीले चुनावलाई लिएका छौं, जबसम्म संविधान संशोधन हुँदैन तबसम्म आन्दोलन जारी रहनेछ र अगामी चुनावमा पनि आन्दोलनकारीकै रुपमा सहभागि हुनेछौ ।’

अध्यक्ष मण्डलका अर्का सदस्य शरतसिंह भण्डारीले पनि सविधानलाई स्वीकार नगरेको दावी गरे । उनले भने, ‘आजको दिन पनि हाम्रो लागि कालो दिन नै हो, जबसम्म संविधानलाई संशोधन गर्दैनन् तबसम्म आफूहरुको आन्दोलन जारी नै रहनेछ र आन्दोलनकै रुपमा भाग लिन्छौ ।’

राजपा नेपालका महासचिव मनिष सुमनले पनि आजको दिनलाई राजपा नेपालले कालो दिनकै रुपमा लिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप