शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

के–के कुरा भए चिनियाँ अमेरिकी राष्ट्रपति फोनवार्तामा ?

मङ्गलबार, ०३ असोज २०७४, १७ : ०६
मङ्गलबार, ०३ असोज २०७४

बेइजिङ – चिनियाँ राष्ट्रपति सि चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार बिहान फोन वार्ता भएको छ । उहाँहरुबीच अमेरिकी राष्ट्रपति ट्रम्पको चीन भ्रमणका विषयमा कुराकानी भएको बताइएको छ । राष्ट्रपति ट्रम्पले यसैबर्षको अन्त्यतिर चीनको भ्रमण गर्दै हुनुहुन्छ । 

अमेरिकी राष्ट्रपतिको चीन भ्रमण, पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा सिर्जना भएको तनावका साथै समसामयिक विश्व राजनीतिका बारेमा उहाँहरुबीच फोनवार्ता भएको जानकारी चिनियाँ समाचार समिति, सिन्ह्वाले दिएको छ । 

सो फोनवार्ताका क्रममा चीनले अमेरिकासँग सहकार्य गर्ने र यसबाट आपसी हितका क्षेत्रमा आगामी दिनमा पनि मिलेर काम गर्ने वातावरण निर्माण भएको जानकारी चिनियाँ राष्ट्रपति चिनफिङले दिनुभएको बताइएको छ । 

राष्ट्रपति चिनफिङले अमेरिकी राष्ट्रपतिको चीन भ्रमण दुवै देशका लागि एक ऐतिहासिक उपलब्धि हो भन्दै यसबाट दुई देशका लागि साझा फाइदा पुग्ने धारणा राख्नुभएको जानकारी दिनुभएको समाचारमा जनाइएको छ । 

सो फोनवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले आफू चीनको भ्रमणमा आउन प्रतिक्षारत रहेको बताउनुभएको थियो । साथै यस भ्रमणले चीन र अमेरिकाबीचको सम्बन्धलाई आगामी दिनमा थप उचाइमा पुर्याउने र यसले द्विपक्षीय हित र आपसी फाइदाका नयाँ सम्भावनाहरुको ढोका खोल्ने राष्ट्रपति ट्रम्पले बताउनुभएको थियो । 

साथै उहाँहरुले हालैका केही दिनयता उत्तर कोरियाले आणविक परीक्षणहरुलाई निरन्तरता दिइरहेकोले यसका कारण कोरियाली प्रायद्वीपमा जारी तनाव कमगर्ने विषयमा पनि कुराकानी भएको थियो । 

उहाँहरुबीच गएको दुई हप्तायतामात्र दुई पटक फोन वार्ता भएको सिन्ह्वाले जानकारी दिएको छ । यसअघि उत्तर कोरियाले हाइड्रोजन बमको परीक्षण गरेपछि पनि उहाँहरुबीच फोनवार्ता भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप