मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

यस कारण ७ नम्बर प्रदेशको राजधानी दिपायल

मङ्गलबार, ०३ असोज २०७४, १२ : ५०
मङ्गलबार, ०३ असोज २०७४

सिंहदरबारको राजनीतिसँग खास्सै सरोकार नराख्ने सुदूरपश्चिम यस पटक भने सङ्घीयता चासो, सरोकार र बहसको विषय बनाउँदै आएको छ । मुलुकको पुनर्संरचना हुँदा सुदूरपश्चिमको संरचना कस्तो हुने ? पहाडी ७ जिल्लाको एक प्रदेश बनाउने वा सुप एक प्रदेश बनाउने त्यसमा पनि सङ्घीय राज्यको राजधानी कता हुने ? भन्ने खास बहस र चर्चाको विषय बनेको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली काङ्ग्रेस र सत्ता साझेदार नेकपा एमाले बीच सातवटा सङ्घीय प्रदेश बनाउने सहमति भएको थियो । उक्त बैठकमा सुदूर–पश्चिमको हकमा सुप एक प्रदेश रहने, खप्तड प्रदेश नामकरण र त्यसको राजधानी अत्तरिया बनाउने विषयमा समजदारी भएको कुरा विभिन्न सञ्चार माध्यममा पनि सार्वजनिक भएको छ र केही राजनीतिक दलका नेताहरूले यस विषयमा सार्वजनिक रूपमा बोलेका छन् र उनीहरूले दिपायर नै राजधानी हुनुपर्ने भनेका छन् ।

केही वर्षयता सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायलमा निजी क्षेत्रबाट अर्बौंको लगानी भएको छ । तीव्र रूपमा भइरहेको बजारीकरणलाई निरास पार्दै सरकारको नेतृत्व गरिरहेको नेपाली काङ्ग्रेस र नेकपा एमाले बीच भएको सहमतिले निराश तुल्याएको छ । सुदूरका पहाडी ७ जिल्ला सहितको एक प्रदेश निर्माण गर्नुपर्ने धारणा राख्दै आएको एकीकृत नेकपा माओवादी र ९ जिल्लासहितको एक प्रदेश निर्माण गर्नुपर्ने काङ्ग्रेस एमालेको प्रस्ताव बाजिएको थियो । उक्त दुई नितान्त फरक प्रस्तावमा त्यहाँका नागरिकको मत पनि बाजिएको थियो । सत्ताधारी दुवै पार्टीको घोषणपत्रमा राजधानी दिपायल बनाउने उल्लेख गरेको भए पनि अहिले निर्णय फेर्दा अखण्ड सुदूरपश्चिम आन्दोलनसँग असन्तुष्ट हुनेहरूको सङ्ख्या बढ्दो रहेको छ । सुदूरपश्चिमको सङ्घीयराज्यको राजधानी अत्तरिया बनाउने निर्णय यहाँको वास्तविकता, अनुकुलता र भविष्यको अध्ययन नगरिकन राज्य तोक्नु भनेको द्वन्द्व सृजना गराउनुबाहेक अन्य केही पनि हुन सक्दैन । हालको क्षेत्रीय सदरमुकाम दिपायलमा नै राजधानी बनाउनै पर्ने कारण निम्न प्रकार रहेका छन् ।

१. डोटीको पहिचानका लागि
सिंहदरबारका वरिपरि मुख्य राजनीतिक दलहरू पहिचानसहितको सङ्घीय राज्य निर्माण गर्ने विषयमा सहमत छन् । जातीय पहिचान सहितको सङ्घीयताका विषयमा काङ्ग्रेस र एमाले लगायतका दलहरू असहमत भए पनि पहिचान सहितको राज्य निर्माण गर्ने पक्षमा सहमत छन् । पहिचान दिने हो भने विगत राणाकालमा बाइसेचौबीसे   राज्य भएको समयदेखि नै यस ठाउँलाई ‘डोटी गौँणा’को रूपमा राखेको पाइन्छ । त्यसपछि यही यहाँको पहिचानलाई मध्यनजर गर्दै तत्कालीन राजा महेन्द्रको पालामा क्षेत्रीय सदरमुकाम स्थापना गरिएको हो ।  ‘डोटी गाँैणा’ डोटीको पहिचान हो । क्षेत्रीय सदरमुकाम पनि यस प्रकारको पहिचान हो अझ भनौँ विगतदेखि नै प्रशासनिक कामकाज गर्ने ठाउँ हो । त्यस कारण पनि अब पनि यसलाई प्रशासनिक कामकाज गर्ने बनाइनु पर्छ । 

२. क्षेत्रीय सदरमुकाम 
देशको सबैभन्दा कान्छो विकास क्षेत्रका रूपमा रहेको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदर–मुकाम दिपायलमा रहेको छ । सुदूरपश्चिमेलीले हाम्रो क्षेत्रीय सदरमुकाम दिपायल हो भन्ने पूर्ण मनस्थिति तयार छ । फलस्वरूप पहाडी जिल्लाका नागरिकहरूले प्रान्तीय  राजधानी दिपायलमै हुन्छ भन्ने एक प्रकारको मनस्थिति तयार  गरेका छन् । अहिले चर्चामा आएजस्तै कैलालीको अत्तरिया राजधानी बनाउँदा राजधानी बन्ने भनिएको कैलाली र क्षेत्रीय सदरमुकाम रहेको डोटीबीच एक आपसमा द्वन्द्व सिर्जना हुन्छ । दिपायलमा राजधानी बनाउने हो भने कसैसँग खोस्नुपर्दैन । कसैलाई राजधानी नदिएमा अथवा कसैलाई सङ्घर्ष गर्न बाध्य हुँदैन ।
 

३. धेरै भौतिक संरचना तयार 
नयाँ ठाउँमा राजधानी स्थापना गर्दा पूरै भौतिक संरचना निर्माण गर्नुपर्ने हुन्छ । सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम रहेको दिपायलमा धेरै भौतिक संरचनाहरू निर्माण धेरै हदसम्म निर्माण भइसकेको अवस्था छ । क्षेत्रीय सदरमुकाम भएकाले त्यसको सुरक्षाका लागि नेपाली सेना र नेपाल प्रहरी त्यस प्रकारको संरचना वषौँ लगाएर निर्माण गरेको छ । अन्य क्षेत्रीय कार्यालयहरूका भवन पनि अर्बौं लगानीबाट निर्माण गरेको छ । क्षेत्रीय प्रशासन कार्यालय, हुलाक कार्यालय, लोकसेवा आयोग, क्षेत्रीय पशु सेवा कार्यालय, क्षेत्रीय खानेपानी लगायतका थुप्रै कार्यालय रहेका भवनहरू यथावत छन् ।  विकासका लागि आएको सङ्घीयता सयौँ वर्षसम्म भौतिक संरचनाको मात्र विकास गर्न लाग्ने हो भने विकास कहाँ जान्छ ।  हाम्रो देशका केन्द्रीय तहका नेताहरू पनि आतङ्कवादीको खतरामा रहेको भन्ने सूचनाहरू बाहिर आइरहेको अवस्थामा प्रान्तीय नेताको अवस्था के होला ? यस प्रकारका एवं विषयमा सोच्न जरुरी छ । त्यसैले नयाँ संरचना बनाउने र बनेका संरचनामा थप गर्ने कुन उपयुक्त होला ?

४. सबै जिल्लालाई उपयुक्त स्थान 
डोटीको दिपायल सुदूरपश्चिमको सबैभन्दा उपयुक्त र बीच भागमा पर्ने ठाउँ हो । सुदूरपश्चिमको छेउमा रहेका कञ्चनपुर, दार्चुला र बाजुराको समजोडको बीचमा रहेको छ । बझाङ, कैलाली, अछाम, बैतडी र डडेल्धुरासँग सीमा जोडिएको एक मात्र जिल्ला हो डोटी । दिपायल नै सबैलाई उपयुक्त र पाइक पर्ने स्थान त्यसकारण पनि दिपायल उपयुक्त छ । दार्चुलालाई नजिक हुँदा बाजुरालाई अन्याय हुन सक्छ  बाजुराको नजिक हुँदा कञ्चनपुरलाई अन्याय हुन सक्छ तर डोटी मात्रै त्यस्तो ठाउँ हो जहाँ कसैलाई पूर्ण रूपमा अन्याय भएको छैन भन्न नमिल्ने खालको एक मात्र जिल्ला हो  । 

५. कैलाली र कञ्चनपुरको उपनिवेश 
सुन्दा अप्ठ्यरो पनि लाग्न सक्छ, काठमाडौँको उपनिवेश समग्र सुदूरपश्चिम र सुदूरपश्चिममा पनि कैलाली र कञ्चनपुरको उपनिवेश पहाडी जिल्ला रहँदै आएको छ । सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दिपायल हुँदाहुँदै पनि क्षेत्रीय कार्यालयहरू कैलाली र कञ्चनपुरमा बढी छन्, सुदूपश्चिमका लागि स्थापना गरिएको विश्व विद्यालय सबैको पहुँच हुने, पायक गर्ने उपयुक्त जिल्लामा स्थापना गरिनु पथ्र्यो कञ्चनपुरमा स्थापना गरियो, अख्तियारको सुदूरपश्चिम क्षेत्रीय कार्यालय स्थापना भएको केही महिनामै कञ्चनपुरमा सम्पर्क कार्यालय स्थापना गरियो । एक वर्ष नपुग्दै क्षेत्रीय कार्यालयलाई तीन जिल्ला हेर्ने जिम्मेवारी दिइयो, दार्चुलाको बलासमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजनाको पावर हाउस कैलालीको अत्तरिया बन्ने रे । पहाडी जिल्लामा राजधानी स्थापना गर्ने तराई केही अगाडि छँदैछ त्यसपछि मात्रै विकासमा सन्तुलन हुन्छ । क्षेत्रीयस्तरका कार्यक्रमहरू क्षेत्रीय सदरमुकाम दिपायलको सट्टा कैलाली र कञ्चनपुरमा हुने गरेका छन् ।  

६. तराईतर्फ भइरहेको तीव्र बसाइँसराइ रोक्न 
सुदूरका तराईका जिल्ला कैलाली र कञ्चनपुर उत्पादनका दृष्टिले निकै राम्रो मानिन्छ । पछिल्ला वर्षमा ती दुई जिल्लामा बसाइँसराइको तीव्र चाप रहेको छ । उत्पादनयोग्य भूमि दिन प्रतिदिन प्लटिङ गर्दै घडेरी निर्माण भइरहेका छन् । यसरी नै प्लटिङ र यस्तै बसाइँसराइ दर रहेको खण्डमा अबको २५ वर्षमा कैलाली र कञ्चनपुरमा खेती गर्ने जमिन खोज्नुपर्ने अवस्था आउने छ । पहाडी जिल्लामा उत्पादनका हिसाबले कमै उत्पादन हुने भएकाले त्यहाँ भौतिक संरचना निर्माण गरिनुपर्छ तराईका जिल्ला उत्पादनका लागि छोडिदिनुपर्छ । बढ्दै गइरहेको जनसङ्ख्या वृद्धिलाई खाद्यान्नको अभाव देखिने भएकाले त्यस चुनौतीसँग जुध्नका लागि तराईमा भइरहेका घर निर्माण र जमिनको प्लटिङ रोक्नुपर्छ र बसाइँसराइ रोक्नका लागि पनि दिपायलमै राजधानी बढाउनुपर्छ । यदि कैलाली वा कञ्चनपुरमा राजधानी तोक्ने हो भने त्यहाँ अहिलेको भन्दा कैयौँ गुणा बढी मानिस त्यहाँ  बसाइँसराइ गर्ने छन् ।
 
७. समानुपातिक विकासका लागि 
“राज्य धनी भएर मात्र हुँदैन, प्रत्येक जनता धनी हुनपर्छ । कुनै एक नागरिक मात्रै धनी भएर हुँदैन, राज्य पनि धनी हुनुपर्छ ।” कुनै एक जिल्ला, गाविस, नगरपालिका सम्पन्न हुँदैमा हुँदैन । उक्त प्रान्त वा राज्य सम्पन्न हुन पर्छ, तब मात्र विकास भएको हुन्छ । तराईका जिल्लामा विकास गर्नका लागि सरकारको उपस्थिति नभए पनि खास्सै फरक पर्दैन, पहाडमा भने हरेक विकासमा उपस्थित हुन जरुरी छ । तराईका जिल्लामा राजधानी स्थापना गर्ने हो भने विकास एकतर्फ केन्द्रित हुन्छ तर पहाडी जिल्लामा स्थापना गर्ने  हो भने समानुपातिक विकास हुन्छ ।

नयाँ ठाउँमा राजधानी स्थापना गर्ने हो भने अन्य जिल्लाहरूमा प्रान्तीय सरकारको उपस्थिति दुर्लभ हुने खतरा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कर्ण चन्द
कर्ण चन्द
लेखकबाट थप