बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एक सय ९९ जनामा औलोको जीवाणु

मङ्गलबार, ०३ असोज २०७४, १२ : ४९
मङ्गलबार, ०३ असोज २०७४

धनगढी - औलो रोग रोकथामका लागि विभिन्न प्रयास भइरहे पनि कैलाली जिल्लामा औलो रोगी फेला पर्ने दर भने अझै घटेको छैन । 

औलो रोगको जोखिम रहेको कैलाली जिल्लामा पछिल्लो एक वर्षमा १९९ जनामा औलोको जीवाणु फेला परेको छ । 

शंकास्पद रोगीको रगत परीक्षण गर्दा यी व्यक्तिमा औलोको जीवाणु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय औलो शाखाप्रमुख उदयशंकर साहले जानकारी दिनुभयो । औलोको जीवाणु फेला पर्नेमध्ये अधिकांश भारतमा काम गरेर फर्किने नेपाली रहेका छन् । 

शाखाप्रमुख साहले कामको खोजीमा भारत गएर फर्किनेहरूमा यो रोगको संक्रमण बढी देखिने गरेकाले रोकथाममा समस्या भएको बताउनुभयो । यसबाहेक जनचेतनाको अभावका कारण पनि रोकथाममा समस्या भइरहेको छ । 

कैलाली जिल्लाको धनगढी उपमहानगरसहित साविकको मालाखेती, गोदावरी, चौमाला, जोशीपुरलगायत गाविस औलोको उच्च जोखिमा रहेको जनाइएको छ । 

जनस्वास्थ्य कार्यालयको तथ्यांकमा कैलालीमा आव २०७०÷७१मा १७९ जनामा औलोका जीवाणु फेला परेकामा आव २०७१÷७२मा यो दर बढेर २५५ जनामा जीवाणु फेला परेको उल्लेख छ । गत वर्ष २०७२÷७३मा कैलालीमा १९५ जनामा औलोको जीवाणु फेला परेको थियो । 

“नेपालमा सबैभन्दा बढी औलो जोखिमको जिल्लाका रुपमा कञ्चनपुर र कैलाली रहेका छन्”, शाखा प्रमुख साहले भन्नुभयो, “नेपालका कूल औलो रोगीमध्ये कैलालीमा ३० प्रतिशत र कञ्चनपुरमा ४० प्रतिशत औलो रोगी भेटिने गरेको तथ्यांक छ ।” 

संक्रमित ‘एनोफिलिज’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने यो रोग वयस्क उमेरका व्यक्तिमा बढी देखिने गरेको छ । 

यो रोगमा चिसो महसुस हुने, टाउको दुख्ने, ज्वरो आउने, पसिना आउनेजस्ता लक्ष्यण देखिने र लामो समयसम्म रोगीको उपचार हुन नसके मृत्युसमेत हुने गरेपनि नेपालमा सन् २००१२ यता औलो रोगका कारण कसैको मृत्यु भएको छैन । 

रोग रोकथामका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले जोखिम बढी रहेका क्षेत्रमा कीटनाशक विषादी प्रयोग गरिएको ‘सुपानेट झुल’ वितरण गर्ने र कीटनाशक औषधि छर्किने काम गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप