शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

३ सय रोपनी जग्गाको लोभमा ठगिए पोखराका ‘भूमिहीन’

सुकुम्बासी आयोगको नक्कली प्रदेश कमिटी, देवी ज्ञवालीको नक्कली हस्ताक्षर
बुधबार, २८ असोज २०७७, ०८ : ४४
बुधबार, २८ असोज २०७७

काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका–१४ भोटेचौतारामा १ सय ६० परिवारको बस्ती छ । उक्त बस्तीमा सुकुम्बासी मात्र नभएर बाहिरी जिल्लाबाट आएकाहरु पनि बसोबास गर्छन् । यद्यपी सो बस्तीलाई स्थानीयले ‘सुकुम्बासी बस्ती’ भनेर चिन्छन् ।

त्यहाँ ३ सय रोपनी जग्गाको समस्या छ । ‘हामीलाई जिताएर पठाउनुस्, जग्गाको समस्या समाधान गर्छौँ, हातमा लालपूर्जा थमाउँछौँ’ चुनावको बेला भोट माग्नेहरुले त्यहाँ बाँड्ने ललिपप यस्तै हुन्छ । तर, चुनाव जितेपछि सो ललिपप त्यतिकै बिलाउँछ, सुकुम्बासीले चाख्नै पाउँदैनन् ।

भोटेचौताराका स्थानीयको जस्तै देशभरको सुकुम्बासी समस्या समाधान गर्न सरकारले केन्द्रमा आयोग गठन गरेको छ । जसको नाम हो–‘अव्यवस्थित सुकुम्बासी समस्या समाधान आयोग’ । देवी ज्ञवाली आयोगका अध्यक्ष हुन् ।

यसअघिका धेरै आयोगले भोटे चौताराका सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन सकेन । तर, सो जग्गा ‘मिलाइदिन्छौँ’ भन्दै पछिल्लो समय बाक्लो चहलपहल हुन थाल्यो । ‘अव्यवस्थित सुकुम्वासी समाधान आयोग, गण्डकी प्रदेश कार्य समितिका पदाधिकारी हौँ,’ भन्दे भोटेचौतारामा ५ जनाको टोली पुग्यो ।

भूमीहीनलाई उनीहरुले विश्वस्त पार्न खोजे । सुकुम्बासी आयोगको ब्यानरमा ‘गण्डकी प्रदेश कार्यसमिति’को पत्र देखाए । स्थानीयको विश्वास जिते । फिल्डमा अमिन बोलाए । जग्गा नापजाँच गर्ने भनेर पैसा उठाउन थाले । नागरिकता र प्रतिपरिवार ७ हजार उठाए । उनीहरुको काम अनौठो थियो ।

आयोगको नाममा पैसा उठाएको सुराक प्रहरीकोमा पुग्यो । लगत्तै प्रहरी परिचालित भयो । रंगेहात ८ जनालाई समात्यो । ती सुकुम्बासी आयोगका पदाधिकारी नभएर ‘ठगी’ गर्ने गिरोह थियो । पक्राउ परेका ८ जनालाई जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

‘सुकुम्वासी आयोग, गण्डकी प्रदेश कार्य समितिका पदाधिकारी हौँ,’ भन्दै ३ सय रोपनी जग्गा उपलब्ध गराउने झुटो आश्वासन बाँडेर ठगेको आरोपमा ८ जनालाई पक्राउ गरिएको कास्कीका प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा कास्की माछापुच्छ्रे गाउँपालिका–९ घर भएका ३९ वर्षीय हिराबहादुर तामाङ, म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ घर भएका ३० वर्षीय रमेशकुमार परियार र रुपन्देही सैनामैना नगरपालिका–९ बाँसगडीका ३५ वर्षीय ओमबहादुर सुनार छन् ।

त्यस्तै, सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ एक्लेकीका ३७ वर्षीया रीता विश्वकर्मा, पोखराको चोरसाँघुका २२ वर्षीया सोनु परियार, बाँझापाटनका २७ वर्षीया सीता सुनार, मियापाटनका ५० वर्षीय हर्कबहादुर विक र २४ वर्षीय मौसम सदासंकरलाई पनि प्रहरीले पक्रेको छ । 

हिरा, रमेश र ओमलाई पोखरा महानगरपालिका–१४ बाट प्रहरीले पक्राउ गरेको हो । रिता, सिता, हर्क र मौसमलाई पोखरा महानगरपालिका–१३ बाट तथा सोनुलाई पोखरा महानगरपालिका–१७ बाट प्रहरीले पक्रेको हो ।

एसपी श्रेष्ठले रातोापटीसँग भने, ‘आइतबार हिराबहादुर तामाङलाई नियन्त्रणमा लियौँ, उनको बयानका अधारमा थप ५ जना समातिए । पछि थप २ जना पक्राउ परेका हुन् ।’ 

प्रदेशमा छैन आयोगको संरचना

भूमिहिनलाई जग्गा दिने भन्दै ठगी गर्ने गिरोहका नाइके हिराबहादुर तामाङ हुन् । तामाङसहित पाँचजनाको टोलीले सुकुम्बासी समाधान आयोग गण्डकी प्रदेश गठन गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

अनुसन्धानपछि सुकुम्बासी समस्या समाधान आयोगको प्रदेशस्तरको संरचना नभएको थाहा भएको एसपी श्रेष्ठले रातोपाटीलाई बताए । उनले भने, ‘प्रदेशस्तरबाट आयोगका सदस्यहरु चाहिँ प्रदेश सरकारले सिफारिस गरेको पाइयो ।’

नक्कली आयोगको कार्यकारी प्रमुख हुन् हिराबहादुर तामाङ । आयोगका सदस्य बनेका थिए, रमेश कुमार परियार, सीता सुनार, देवकुमार श्रेष्ठ र मौसम सदाशंकर । उनीहरुमध्ये, देवकुमार श्रेष्ठ फरार छन् ।

मुख्य नाइके तामाङ यसअघि ज्यान मार्ने उद्योगमा ४ वर्ष कास्की कारागारबाट कैद भुक्तान गरी निस्किएको पाइएको छ । एसपी श्रेष्ठले तामाङ ज्यान मार्ने उद्योगमा कैद भुक्तान गरेर निस्किएको व्यक्ति रहेको बताएका छन् ।

देवी ज्ञवालीको ‘नक्कली हस्ताक्षर’

आयोगको नक्कली प्रदेश कमिट गठन गरेकाहरुको साथमा सक्कली आयोगका अध्यक्ष देवी ज्ञवालीको नक्कली हस्ताक्षर गरेको सहयोगपत्र प्रहरीले बरामद गरेको छ ।

नक्कली सुकुम्बासी समस्या समाधान आयोगको बैठक पुस्तिका, नगद उठाएको रजिष्टर, रसिद प्याड, नगद उठाएको रसिद प्याडको अर्धकट्टी, १९ थान नागरिकताको फोटोकपी र फोटो बरामद गरेर प्रहरीले त्यसबारे अनुसन्धान गरिरहेको छ ।

जग्गा उपलब्ध गराइदिने भनेर उनीहरुले सुकुम्बासी बस्तीका स्थानीयसँग उठाएको नगद १ लाख ६१ हजार नगद पनि बरामद गरिएको एसपी श्रेष्ठले बताए ।

अनुसन्धानको क्रममा उनीहरुले कुनै संरचना नै नभएको आयोगको नाम लिँदै सुकुम्बासीहरुबाट ७ हजारदेखि १५ हजारसम्म उठाएको पाइएको छ । जग्गा पाउने लोभमा ठगिनेको संख्या धेरै हुनसक्ने प्रहरीको भनाइ छ ।

कास्की प्रहरीका अनुसार सुकुम्बासी बस्तीको नाममा ठगी गर्ने ८ जनाको गिरोह पक्राउ परेको थाहा पाएपछि ६० जनाभन्दा बढी पीडितहरु प्रहरीको सम्पर्कमा आएका छन् । बाहिरी जिल्लाबाट आएर बसोबास गरेका व्यक्तिहरु पनि ठगिएको एसपी श्रेष्ठले बताए । ‘मुख्यतः दोलखा, स्याङजाका बढी छन्,’ एसपी श्रेष्ठले भने । 

सुकुम्बासी बसोवास गर्ने जिल्लामध्ये कास्की पनि प्रमुख जिल्लामा पर्छ । कास्कीमा सुकुम्बासीको नाममा चलखेल भइरहन्छ । कास्कीमा १५ हजारभन्दा बढी सुकुम्बासी तथा अव्यवस्थित तरिकाले बसेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप