बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विस्तृत अध्ययनपछि प्रदेशकेन्द्रित सडक निर्माण अघि बढाउन आग्रह

सोमबार, ०२ असोज २०७४, २१ : १९
सोमबार, ०२ असोज २०७४

पोखरा –व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले विस्तृत अध्ययन, अनुसन्धान एवं वैज्ञानिक गुरुयोजना तयार गरेर मात्र प्रदेशकेन्द्रित सडक निर्माण सुरु गर्न सरोकार भएका निकायका अधिकारीलाई सुझाव दिएका छन् ।  

समितिद्वारा आज यहाँ आयोजित  ‘प्रदेश नं ४ भित्रका प्रमुख सडकको वर्तमान अवस्था र भावी योजना’ विषयको अन्तरक्रियामा उनले संघीयतासँगै सडक सञ्जाल पनि गाउँपालिकाको केन्द्रमा केन्द्रित गर्दै कम्तीमा दुई लेनको सडक निर्माण हुनुपर्नेमा जोड दिए । 

राष्ट्रिय गौरवका योजनाअन्तर्गत निर्माणाधीन १०० किमी दूरीको बेंसीशहर–चामे–खांगसार सडक र ७३ किमी दूरीको भीमाद–डेढगाउँ–कावासोती सडक निरीक्षण गरी फर्केको समितिको पाँच सदस्यीय टोलीले अन्तरक्रिया गरी ती सडक निर्माणलाई तीव्रता दिन सडक डिभिजन कार्यालयका प्रमुखलाई निर्देशन दिएको हो । 

उक्त अवसरमा प्रदेश नं ४ अन्तर्गत पर्ने सडक सञ्जाल रणनीतिक सडक, प्रदेश नं ४ मा पर्ने लोकमार्ग, सहायक राजमार्ग, रणनीतिक शहरी सडक, मोटर जाने पुल र भावी कार्यक्रमका बारेमा छलफल गर्नाका साथै ती योजनालाई द्रुत गतिमा अगाडि बढाउनुपर्नेमा जोड दिइएको थियो । 

पश्चिमाञ्चल क्षेत्रीय सडक निर्देशनालय पोखराका क्षेत्रीय निर्देशक दीपक श्रेष्ठले प्रदेश नं ४ अन्तर्गत उत्तर–दक्षिण राजमार्ग, बेंसीशहर–चामे–खांगसार सडक निर्माण तथा स्तरोन्नति, मुग्लिङ–पोखरा सडक चार लेनमा विस्तार, सिद्धार्थ राजमार्ग विस्तारको सर्भे डिजाइन, पोखरा चक्रपथको निर्माण, दुलेगौँडा–पुतलीबजार सडक निर्माणका सम्बन्धमा जानकारी गराएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप