शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सगुनका युजरलाई खुशिको खबर, मोवाइल एप आउँदै, केही सातामै प्रयोग गर्न पाइने

सोमबार, ०२ असोज २०७४, २० : ०२
सोमबार, ०२ असोज २०७४

काठमाडौं – सोसियल कर्मस साइट सगुनका प्रयोगकर्ताहरुका लागि खुशिको खबर छ । नेपालीले अमेरिकामा स्थापना गरेको अरुभन्दा फरक खालको सामाजिक संजाल सगुन अब मोवाइल एपमा समेत उपलब्ध हुने भएको छ । केही अघि विश्वभर आफ्नो सेयर बेचेर चर्चामा आएका सगुन इंकले एन्ड्रोइड भर्सनमा एपको फस्ट लुक सार्बजनिक गरेको छ ।
 
सगुनले केही महिनाअघि अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेको थियो । वेवमा रहेको सगुनलाई अब मोवाइलमै उपलब्ध गराउन यसका दर्जनौं इन्जिनियर भारतको नयाँ दिल्लीमा रहेको सगुनको दक्षिण एशियाली कार्यालयमा अहोरात्र खटिइरहेका छन् ।

सगुनकी सहसंस्थापक स्वाती दयालले सगुनको मोवाइल एपको फस्ट लुक सार्बजनिक गर्दै केही साताभित्रै सर्बसाधारणले उपयोग गर्न पाउने बताइन् । सगुनले मोवाइल एप पहिले एन्ड्रोइड प्लेटफर्ममा र त्यसपछि आइफोनको एप्पल स्टोरमा उपलब्ध गराउने गरी काम गरिरहेको छ । 

दयालले मोवाइल एपको आन्तरिक परीक्षण भइरहेको बताउँदै दक्षिण एशियाली बजारलाई लक्षित गरेर मोवाइल एप ल्याउन लागेको बताइन् । उनका अनुसार सगुनको मोवाइल एप करिव तयार भइसकेको छ । आन्तरिक रुपमा परीक्षण गर्दा देखिने एररहरु फिक्स भएपछि सर्बसाधारणका लागि सार्बजनिक गरिने छ । 

सगुनले मोवाइल एपमा डेस्कटप भर्सनमा नभएका थप सुविधासमेत हुने बताएको छ । मोवाइलमै सोसियल नेटवर्किङ साइटको प्रयोग बढ्दै गएका बेला सगुनले मोवाइल एप ल्याउन लागेको हो ।
सगुनको एपमा सेक्रेट म्यासेज पठाउने, आफ्नो दैनिकी सेयर गर्ने, मुड टक, ओपन सेक्रेटलगायतका कैयन सुविधा हुने कम्पनीले दावी गरेको छ । 

केही महिनाअघि अमेरिकी सेयर बजारमा आफूलाई प्रवेश गराएको सगुनले विश्वब्यापी रुपमा सर्बसाधारणलाई सेयर बेचेर लगानी जुटाउन शुरु गरेको थियो । अहिले सगुनले बेलायतमा रहेको आफ्नो कार्यालयबाट दोस्रो चरणको शेयर निस्कासन गरेको छ ।  सगुनका संस्थापक गोविन्द गिरीले बेलायतमा गोर्खाली सैनिकले बहादुरी देखाएर नेपालीको नाम उचो गरेको भन्दै यही भूमीबाट नेपालीले स्थापना गरेको आइटी कम्पनी सगुनले दोस्रो चरणमा सेयर बेचेर लगानी जुटाउन लागेको बताए । 

उनले लगानीकर्ताले पहिलो पटक क्रेडिट÷डेविट कार्डमार्फत पनि लगानी गर्न सक्ने गरी ब्यवस्था मिलाएको जानकारी दिए । यसअघि संसार भरका लगानीकर्ताले वायर ट्रान्सफर गरेर लगानी गर्न सक्ने ब्यवस्था थियो । यसरी शेयर खरिद आवेदन गर्न निकै झन्झटिलो भएको गुनासो आएपछि सगुनले सहज बनाउन नयाँ व्यवस्था गरेको हो । क्रेडिट र डेविट कार्डमार्फत शेयरमा लगानी गर्न अवसर पाउने अमेरिकी स्टार्ट अप कम्पनीहरुमा सगुन पहिलो भएको कम्पनीको दावी छ।

सगुनको यस पटक प्रति शेयर २३ डलरका दरले कम्तीमा १ हजार डलर शेयरमा लगानी गर्न सक्ने ब्यवस्था मिलाएको छ । सगुनले यस चरणमा ८ लाख कित्ताभन्दा वढी शेयर विक्रि गर्ने योजना बनाएको छ । कम्पनीको शेयर बिक्री सम्बन्धी सूचनाहरु www.sagoon.com/invest बाट उपलब्ध हुने सगुनले बताएको छ ।

सगुनले पहिलो चरणमा गरेको शेयर निस्कासनमा करिव ३ हजार ५ सय लगानीकर्ता शेयर खरिद गर्न आवेदन गरेका थिए । सगुनले संसारभर छरिएर रहेका नेपाली र एशियाली समुदायलाई लक्षित गरि लगानीको योजना सार्वजनिक गरेको छ । सगुनले मोवाइल एपबाट आफ्नो युजर बेस बढाएपछि सामाजिक संजालमा अहिलेसम्म प्रयोगमा नआएको स्मार्ट कार्ड ल्याउने तयारी गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप