बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले तय गर्यो प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवार छनौटको मापदण्ड

सोमबार, ०२ असोज २०७४, १८ : ३१
सोमबार, ०२ असोज २०७४

काठमाडौँ । नेपाली काँग्रेसले अगामी आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवार छनौट गरी केन्द्रमा सिफारिस गर्नका लागि मापदण्ड तय गरेको छ । 

पार्टीको कार्य सम्पादन समितिको आइतबार बसेको बैठकले असोज १७ गतेभित्र उम्मेदवारहरुको सिफारिस पठाउने गरी मापदण्डहरु तय गरेको हो ।

उम्मेदवारको नाम सिफारिश गर्दा निरन्तर क्रियाशील सदस्यता कायम रहेका, पार्टीभित्र र आम जनतामा लोकप्रिय एवं गत स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी बनाउन क्रियाशील भूमिका निर्वाह गरेका मध्येबाट गर्नुपर्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वरा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्ता छन् बैठकका निर्णयहरु :

१.    बैठकमा सहभागिता र अध्यक्षता

क.   निर्वाचन क्षेत्रः  हाल कायम हुन आएको निर्वाचन क्षेत्रमा आफ्नो क्रियाशील सदस्यता रहेको पार्टीका केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि/महासमिति सदस्य, दोस्रो संविधान सभा निर्वाचनमा सो क्षेत्रको प्रत्यक्ष तर्फका उम्मेदवार, क्षेत्रीय सभापतिको पदको निर्वाचन भएको भए सो पदको निर्वाचनका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सो क्षेत्रको बैठकमा सहभागी हुनेछन् । हाल कायम हुन आएको क्षेत्रको मतदाता नामावलीमा आफ्नो नाम रहेका क्षेत्रीय सभापतिहरुमध्येबाट उमेरमा ज्येष्ठतम सभापतिले बैठक बोलाउने र बैठकको अध्यक्षता गर्नेछ । 

ख.   जिल्लाः जिल्ला सभापति, हाल कायम हुन आएको जिल्लामा आफ्नो क्रियाशील सदस्यता रहेको पार्टीका केन्द्रीय सदस्य, सांसद, दोस्रो संविधान सभाका प्रत्यक्ष तर्फका उम्मेदवार, जिल्ला सभापति पदको निर्वाचन भएको भए सो पदको निर्वाचनको निकटतम प्रतिस्पर्धी, जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सो जिल्लाको बैठकको निर्णय प्रकृयामा सहभागी हुनेछन् । जिल्ला सभापतिले बैठक बोलाउने र बैठकको अध्यक्षता गर्नेछ ।

२.  उम्मेदवार सिफारिश

क. जिल्लामा एक संसदीय क्षेत्र रही हाल पनि एकै निर्वाचन क्षेत्र यथावत कायम भएकोमा जिल्लाले उम्मेदवारको सिफारिश गरि केन्द्रमा पठाउनेछ । 

ख. जिल्लामा एक भन्दा बढी निर्वाचन क्षेत्र रहेकोमा हाल पनि सोही संख्यामा निर्वाचन क्षेत्र यथावत कायम रहेकोमा क्षेत्रले उम्मेदवारको सिफारिश गरी जिल्लामा पठाउनेछ । क्षेत्रको सिफारिशमा आफ्नो राय सहित जिल्लाले केन्द्रमा पठाउनेछ ।

ग. जिल्लामा निर्वाचन क्षेत्र थपघट भई हाल एक संसदीय क्षेत्र कायम हुन आएकोमा जिल्ला सभापतिको अध्यक्षतामा जिल्ला र क्षेत्रहरुको संयुक्त बैठकबाट उम्मेदवारको सिफारिश केन्द्रमा पठाउनेछ । 

घ. जिल्लामा निर्वाचन क्षेत्र थपघट भई एक भन्दा बढी संसदीय क्षेत्र कायम हुन आएकोमा क्षेत्रले उम्मेदवारको सिफारिश जिल्लामा पठाउनेछ । क्षेत्रको सिफारिशमा आफ्नो राय सहित जिल्लाले केन्द्रमा पठाउनेछ ।

३. उम्मेदवार सिफारिश संख्याः 
प्रतिनिधिसभा र प्रदेश सभाका लागि प्रत्येक क्षेत्रबाट छुट्टाछुट्टै प्रत्यक्ष तर्फ महिला सहित बढीमा ३ जना र समानुपातिक तर्फ महिला सहित बढीमा ३ जना । समानुपातिक निर्वाचन प्रणाली तर्फ उम्मेदवारको नाम सिफारिस गर्दा समावेशी प्रतिनिधित्वको सिद्धान्तका आधारमा सम्बन्धित क्षेत्रको जनसंख्याको बनौटलाई ध्यानमा राखी (दलित, आदिवासी जनजाती, खस आर्य, मधेशी, थारु र मुस्लिम) सिफारिस गर्नु पर्नेछ ।  

४. सम्बन्धित निकायले पार्टीभित्रबाट उम्मेदवारको नाम सिफारिश गर्दा निरन्तर क्रियाशील सदस्यता कायम रहेका, पार्टीभित्र र आम जनतामा लोकप्रिय एवं गत स्थानीय तहको निर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी बनाउन क्रियाशील भूमिका निर्वाह गरेका मध्येबाट गर्नुपर्नेछ । 

५.    उम्मेदवारहरुको नाम सिफारिश गर्ने प्रयोजनका लागि पार्टीको तेह्रौं महाधिवेशनमा गठन भएका पार्टीका गाउँ/नगर कार्यसमितिले २०७४ असोज १० गतेभित्र आफ्नो सुझाव र सिफारिश क्षेत्रमा, क्षेत्रले आफ्नो सिफारिश २०७४ असोज १३ गतेभित्र जिल्लामा र जिल्लाले क्षेत्रबाट आएको सिफारिशमा आफ्नो राय सहित २०७४ असोज १७ गतेभित्र केन्द्रमा अनिवार्यरुपमा पठाउनु पर्नेछ । तोकिएको निकायले निर्धारित समयभित्र सिफारिश नपठाएता पनि माथिल्लो निकायले निर्णय गर्नेछ । 

६. प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन तर्फ नाम सिफारिस गरिएका उम्मेदवारहरुको “नेपाली कांग्रेस पार्टीका तर्फबाट उम्मेदवार हुन गरेको मन्जुरीनामा, नागरिकताको प्रतिलिपी, मतदाता रहेको गाउँ÷नगर, वडा नं., मतदाता क्रसं. र २ प्रति पार्सपोर्ट साइजको फोटो” समेत लिई जिल्ला कार्यसमितिमा राख्ने र केन्द्रले मागेको समयमा तत्काल जिल्ला सभापतिले केन्द्रमा उपलव्ध गराउने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप