शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

योजनाबद्ध रुपमा यसरी ट्रक त्रिशुलीमा खसालियो, योजनाकारसहित चार पक्राउ

सोमबार, ०२ असोज २०७४, १८ : ०४
सोमबार, ०२ असोज २०७४

हेटौडा– बनावटी दुर्घटना गराई बीमा रकम ठगी गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ट्रक चालक मकवानपुर मनहरी गाउँपालिका ५ बस्ने ३० वर्षका उज्वल कण्डेल, हेटौडा उपमहानगरपालिका १९ बस्ने वर्ष २२ का निर्मल सुवेदी, सोही उपमहानगर १३ बस्ने वर्ष २४ का मणि लामा र हेटौडा उपमहानगर ११ बस्ने २८ वर्ष सन्तोष खत्रीलाई हेटौंडा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।  

ना.५ ख. ७२९७ को ट्रक भदौ २६ गते चितवनस्थित इच्छा कामना गाउँपालिका जलबिरेमा दुर्घटना भएको थियो ।

यसरी बन्यो दुर्घटनाको योजना 

ट्रक चालक कण्डेलले गाडी दुर्घटना गरेपछि नक्कली साहु निर्मल सुवेदीलाई  खबर गरे ।  नक्कली साहु सुवेदीले इलाका प्रहरी कार्यालय मुग्लिनमा दुर्घटनाबारे जानकारी गराएका थिए । उनले नै बीमाको रकम पाउने उद्देश्यले इलाका प्रहरी कार्यालय मुग्लिनमा निवेदन दिएका थिए । 

दुर्घटना पश्चात पनि चालक कण्डेललाई कुनै चोटपटक नदेखिएपछि शंका हुने भन्दै चक्कुले खुट्टा काटेर नेशनल मेट्रोसिटी अस्पतालमा उपचार गराई ६ टाकासमेत लगाइएको थियो ।

दुर्घटना अघि   

बियर र ट्रकको बिमा वापतको रकम ठगी गरी खाने उद्देश्यले योजना बनाई भदौ २० गते नै खत्री र कण्डेल दुर्घटना गराउने ठाउँको अवलोकन गर्न गएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।  

दुर्घटना गराइएको उक्त ट्रकमा उनीहरुले भदौ २५ गते साढे चार बजे नवलपरासी भेडाबारीस्थित गोर्खा ब्रुअरीबाट १ हजार ४ सय कार्टुन टुवर्ग बियर काठमाडौं पुर्याउन भनी लिई हिडेको तर काठमाडांै नपुर्याई चितवनको गितानगरमा नाम नम्वर नखुलेको अर्को ट्रकमा १२ सय कार्टुन पल्टी गरेका थिए भने २ सय कार्टुन सोही ट्रकमा राखिएको थियो ।

सो नम्बर नखुलेको भाडाको ट्रक हेटौडा उपमहानगर ११  थानाञ्ज्याङमा आई बसी भोली भदौ २७ गते १२ सय कार्टुन हेटौडा उपमहानगरपालिका वडा नं. २ नयाँ मनकामना रोड कुमाणमणी दहालको घरमा लुकाई राखिएको थियो । त्यसपछि सो सामान भदौ ३१ गते हेटौडाको पदमपोखरीमा लुकाई छिपाई राखेका थिए । 
तर त्यो भन्दा अघि ना.५ ख. ७२९७ को ट्रक भने जलबिरेमा सडबाट खसालेर दुर्घटना गराइएको प्रहरीले जनाएको छ । 

उक्त घटना बनावटी भएको आशंकामा प्रहरीले अनुसन्धान गरी असोज १ गते पदमपोखरीस्थित मणि लामाको घरबाट ५३७ कार्टुन र सोही स्थानका बुद्ध तामाङको घरबाट ४२३ कार्टुन टुवर्ग बियर गरी ३७ लाख बराबरको बरामद भएको र अन्य बाँकी बियरको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

निज चालक र नक्कली साहुले बिमा वापतको रकम ठगी गरी खाने मनसायले योजनाबद्ध रुपमा गराइएको दुर्घटनाग्रस्त ट्रक हालसम्म पनि त्रिशुली नदिमा नरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप