शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मतदानपछि के गर्ने सोच्दैछन् राजपा नेताहरु ?

सोमबार, ०२ असोज २०७४, १७ : ४६
सोमबार, ०२ असोज २०७४

काठमाडौँ । दुई नम्बर प्रदेशमा विहान सातवजेदेखि शुरु भएको स्थानीय तहको मतदानको कार्यक्रम सकिएको छ । 

मधेशवादी दलको आन्दोलनका कारण ढिलो गरी भएको चुनावमा अन्तिम समयमा आएर राष्ट्रिय जनता पार्टी नेपाल चुनावमा भाग लिएका छन् । 

दुई नम्बर प्रदेशमा मधेशवादी दलको नेतृत्वमा लामो समयसम्म आन्दोलन भएका कारणले चुनावमा पहिलो स्थान ल्याउने राजपा नेपाललगायत फोरम नेपालको दावी रहेको छ । तर, विभिन्न अनुगमन तथा पर्यवेक्षणहरुको तथ्यांकलाई केलाउँदा उनीहरुले सोचे राम्रो अवस्था देखिएको छैन । 

र, यो कुरा राजपा नेपालका अध्यक्षहरुले पनि स्वीकार गरेका छन् । मतदानका क्रममा आ–आफ्नो जिल्लामा रहेका राजपा नेपाल अध्यक्ष मण्डलका सदस्यरुले पार्टीभित्र भएको अन्तर्घातले सोचेभन्दा फरक नतिजा आउने बताएका छन् । 

आन्दोलनपछि संविधान संशोधनेको एजेण्डा लिएर आन्दोलन गर्ने मुडमा रहेका राजपा नेपालका अध्यक्ष मण्डलले दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्ने घोषणा नै गरेका थिए । तर, अहिले उनीहरु निराश छन् । 

अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी भन्छन्, ‘चुनावका लागि अन्तिम समयमा आएर निर्णय गरेको कारण उम्मेदवार छनौटमा समय दिएनौँ । त्यसले धेरैमा असन्तुष्टि देखिएको छ । टिकट नपाउने विद्रोही बनेका छन् कि बागी बनेका छन्, त्यसले हाम्रो पार्टीलाई निकै क्षति गरेको छ ।’

अध्यक्ष मण्डलका तीनजना सदस्य रहेको सर्लाही जिल्लाबाट राजपा नेपालले ठूलो आशा गरेको छ  । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवको गृह जिल्ला रहेको सर्लाहीमा राजपा नेपालले १२ तह जित्ने दावी गरेको छ ।

आफ्नो गृहजिल्ला महोत्तरी रहेका अध्यक्ष मण्डलका सदस्य भण्डारीले आफ्नो जिल्लामा भने राजपा नेपालको राम्रो अवस्था रहेको दावी गरे । पार्टीभित्रबाट अन्तर्घात नभए महोत्तरीमा एक नम्बरको पार्टी बन्ने उनको दावी छ । 

स्थानीय तहको चुनावको परिणाम हेरेर अगाडि रणनीति बनाउने बनाउँदै भण्डारीले आन्दोलनको विकल्प नरहेको बताए । अगामी चुनावलाई पनि आन्दोलनकै रुपमा प्रयोग गर्ने उनले बताए । 

अध्यक्ष मण्डलका तीनजना सदस्य रहेको सर्लाही जिल्लाबाट राजपा नेपालले ठूलो आशा गरेको छ  । अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादवको गृह जिल्ला रहेको सर्लाहीमा राजपा नेपालले १२ तह जित्ने दावी गरेको छ । २० तहमध्ये १२ तह हामीले जित्छौ, गृह जिल्ला सर्लाहीमा रहेका अध्यक्ष मण्डलका सदस्य महतोले भने, ‘पार्टीमा अन्तरविरोध, अन्तर्घात तथा वागी उम्मेदवार नभएको भए हामी १७ सीट जित्थ्यौँ तर टिकटका कारण सबभन्दा बढी बागी सर्लाहीमै देखिएका छन् । तैपनि अवस्था सन्तोषजनक रहेको छ ।’

अध्यक्ष मण्डलका अर्का सदस्य महेन्द्र राय यादव पनि टिकट वितरणको समय कम भएका कारणले केही समस्या भएको बताए । उनले भने, ‘टिकट वितरणका लागि हामीले व्यापक गृहकार्य गर्न सकेनौँ, हतार हतारमा टिकट वितरण हुँदा धेरैमा असन्तुष्टि बढ्यो, पार्टीबाट विद्रोह गरेका छन् त्यसको प्रत्यक्ष असर चुनावमा परेको छ ।’

सोचे जस्तो अवस्था नआएपनि खराब अवस्था नरहने दावी गर्दै उनले परिणाम आएपछि मात्र अवस्थाको बारेमा भन्न सकिने बताए । आफूहरु अहिले पनि आन्दोलनकै अवस्थामा रहेकाले चुनावपछि पनि आन्दोलन जारी रहने उनले बताए । 

परिणाम आएपछि राजपा नेपालको बैठक बसेर अगामि रणनीतिका बारेमा छलफल गर्ने उनले बताए । 

राजपा नेपालले सर्लाहीलगायत सप्तरी, महोत्तरीमा सबै सीट जित्ने आँकलन गरेको थियो । त्यसबाहेक बारा, पर्सामा पनि राम्रो अवस्था रहेको हिसाब किताब गरेको थियो । तर यिनै जिल्लाहरुमा पार्टीभित्र व्यापक विद्रोह भएको छ । 

वीरगञ्जमा राम्रो अवस्था बनाएर बसेका राजपा नेपालका महासचिव विमल श्रीवास्त टिकट नपाएर फोरम लोकतान्त्रिकमा प्रवेश गरेका छन् भने बारामा पनि व्यापक असन्तुष्टि बढेको छ र वागी तथा स्वतन्त्र उम्मेदवारहरु खडा भएका  छन् । 

त्यस्तै, सर्लाहीमा पार्टीका महासचिव जंगीलाल राय यादव र केन्द्रीय सदस्य शिवपुजन राय यादवलगायत नेताहरु पार्टी छाडेका छन् । त्यस्तै महोत्तरीमा पनि केन्द्रीय सदस्यदेखि जिल्ला अध्यक्षहरु पार्टी छाडेर अरु अरु पार्टीबाट टिकट लिएर चुनाव लडेका छन् । त्यस्तै अवस्था सप्तरीमा पनि रहेको छ ।

यिनै अवस्थाको मनन गर्दै राजपा नेपालका नेताहरुले पनि सोचेभन्दा फरक नतिजा आउने बताइरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप