शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कुख्यात अपराधी डेभिड : जसले पसिना बेच्न मलेसिया गएका नेपालीलाई बन्धक बनाए

मलेसियामा बन्धक रैदासलाई काठमाडौँ ल्याउने तयारी
मङ्गलबार, २० असोज २०७७, १७ : २७
मङ्गलबार, २० असोज २०७७

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापालाई एउटा फोन आयो । असार १४ मा फोन गर्नेले भने, ‘एउटा ब्याड न्यूज छ ।’ सो कल नेपाल राष्ट्र बैङ्कका फाइनान्सियल इन्भेष्टिगेशन युनिटका प्रमुखले गरेका थिए ।

राष्ट्र बैङ्कका ती अधिकृतले थापालाई भने, ‘श्रीमान्लाई अपहरणमुक्त गराउन एक महिला हिमालय बैङ्कको दाङको घोराही शाखामा १२ लाख डिपोजिट गर्न गएकी छिन् ।’

अपहरण, अनि फिरौतीका लागि १२ लाख ! डीआईजी थापाका लागि सो सूचना साँच्चै ‘ब्याड’ थियो । थापाले तत्काल ब्यूरोका अधिकृतहरुलाई घटनाको अनुसन्धान थाल्न निर्देशन गरे ।

१० लाख बढी पैसा झिक्दा र डिपोजिट गर्दा बैंकले स्रोत खोज्ने हुनाले सो तथ्य खुलेको थियो । बैङ्कका कर्मचारीले रकम डिपोजिट गर्नुको कारण सोध्दा ती महिलाले भनिन्, ‘मलेसियामा श्रीमानलाई ६ दिनदेखि बन्धक बनाएको छ, अपहरण गर्नेले फिरौती रकम पाए छाड्छु भन्छ ।’

दाङका मध्म रैदासलाई मलेसियामा उनकै मालिक दुर्गाबहादुर श्रेष्ठ उर्फ डेभिडले बन्धक बनाएका थिए । ‘१२ लाख नबुझाए रैदासलाई मारिदिन्छु’ भनेर डेभिडको नाममा पैसा डिपोजिट गर्दिनु भनेपछि ती महिला ऋण खोजेर बैङ्कमा गएकी थिइन् ।

हिमालयन बैंकको घोराही शाखाले काठमाडौँस्थित मुख्य कार्यालयमा जानकारी गराएपछि घटना सीआईबीसम्म पुगेको हो । ‘राष्ट्र बैङ्क हुँदै मलाई खबर आयो,’ डीआईजी थापाले भने, ‘हिमालयन बैङ्कमार्फत पीडितको नाम, ठेगाना पत्ता लगाएर अनुसन्धान अघि बढायौँ ।’

रैदासकी पत्नीलाई घटना प्रहरीमा पुगेको थाहै थिएन । आत्तिनसक्ने भएकाले ती महिलासँग थप बुझ्न प्रहरीले एनजिओ, आइएनजिओको प्रतिनिधी बनेर सम्पर्क गरेको थियो । पछि, ती महिला कन्भिन्स भइन् ।

‘गम्भीर अपराधको सुराक पाएको हुनाले हामी पहिले एक्सपोज भएनौँ,’ डीआईजी थापाले भने, ‘विस्तारै ती महिलालाई हामीले फोनमार्फत नै प्रहरी हो भन्यौँ ।’

ब्यूरोको आग्रहपछि उनले डेभिडविरुद्ध ‘अपहरण र शरीर बन्धक’ कसुरमा जाहेरी दिइन् । लकडाउन खुकुलो भएसँगै साउन अन्तिममा ती महिलाले दुर्गाबहादुर श्रेष्ठ भनिने ‘डेभिड’ विरुद्ध जाहेरी दिएकी हुन् । श्रीमानको सल्लाहमा उनले जाहेरी दिएको डीआइजी थापाले बताए ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापा

रैदास मलेसियामा डेभिडको कम्पनीमा काम गर्थे । डेभिड मलेसियामा बसेर गुण्डागर्दी गर्छन् । मलेसियाको केलाङ क्षेत्रमा गुण्डागर्दीमा सक्रिय डेभिडले त्यहाँ रहेका नेपाली युवाहरुलाई कुटपिट गरेर बन्धक बनाउने गरेको ‘रैदास प्रकरण’बाट थाहा भएको छ । डेभिडले मलेसियामा दुःख दिएका १० जना पीडित प्रहरीको सम्पर्कमा पुगेका छन् ।

रैदासलाई बन्धक बनाएको जाहेरी परेका बेला दुर्गाबहादुर श्रेष्ठ उर्फ डेभिड पनि नेपाल आएका थिए । रैदास पत्नीले जम्मा गरिदिएको फिरौती बापतको रकम उनले नेपालमा आएर निकाले । प्रहरी उनको खोजीमा थियो ।

काठमाडौँ महानगरपालिका–३ कान्तीबाल नजिकै  बा १४ च २११२ नम्बरको गाडीमा वाँसबारीबाट पानीपोखरीतर्फ गइरहेको अवस्थामा ब्यूरोले उनलाई पक्राउ गरेको छ । अहिले उनी हिरासतमा छन् ।

रैदासलाई फर्काइँदै

डेभिडले मलेसियामा काम गर्न गएका सोझा नेपाली कामदारहरुलाई धम्क्याएर रकम असुल गर्ने तथा कुटपिट गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

मध्म रैदासको पासपोर्ट समेत श्रेष्ठको श्रीमती धनमाया श्रेष्ठले खोसेर राखिदिएकी छन् । पासपोर्टविहीन रैदासलाई दूतावाससँग समन्वय गरेर ट्राभल डकुमेन्ट बनाएर नेपाल फर्काउने तयारी भइरहेको डीआईजी थापाले बताए । सम्भवतः रैदास बुधबार नेपाल आउँछन् ।

५ वर्षदेखि मलेसियामा श्रम बगाइरहेका रैदासलाई डेभिडले कम्पनीको पैसा चोरेको चार्ज लगाएर चालकको कोठामा थुनेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

बन्धक बनाएर रैदास पत्निसँग ६० हजार रिंगेट अर्थात १७ लाख २८ हजार नेपाली रुपैयाँ फिरौती मागे । ६ दिनसम्म बन्द कोठामा बसेर निस्केपछि घटना बाहिरियो । त्यहाँ रैदासलाई बिहान बेलुकाको खाना मात्र दिइन्थ्यो ।

रैदास पत्नीले उनलाई मुक्त गराउन दुई पटक गरेर १५ लाख रुपैयाँ बैङ्क खातामा डिपोजिट गरेको प्रहरीलाई बताएका छिन् ।

डेभिडलाई जिल्ला अदालत काठमाडौँबाट दोस्रोपटक ५ दिनको म्याद थप गरिएको छ । अदालतले पहिलोपटक उनलाई अनुसन्धान गर्न ३ दिनको म्याद दिएको थियो । मलेसियामा पनि उनी पटक–पटक थुनिने गरेका थिए । डेभिड २२ वर्षदेखि मलेसियामा बस्दै आएका छन् ।

रेष्टुरेन्टमा अनैतिक क्रियाकलाप

डेभिडले मलेसियाको केलाङ क्षेत्रमा नेपालबाट अवैध तरिकाले युवती लैजाने र त्यहाँ अनैतिक क्रियाकलापमा लगाउने गरेको बताइएको छ । मलेसियाकै गुण्डागर्दी गर्ने समूहसँगको मिलेमतोमा उनले नेपालीमाथि ज्यादती गर्दै आएका हुन् ।

मलेसियामा होटल व्यवसाय चलाउँदै आएका उनले आफ्नै होटलमा काम गर्नै कामदारलाई अपहरण गरी फिरौती माग्ने गरेको मलेसियामा कार्यरत नेपालीहरु बताउँछन् ।

क्वालालम्पुरबाट २५ किलोमिटर दक्षिणमा उनका आधा दर्जन नेपाली रेष्टुरेन्ट छन् । ती रेष्टुरेण्टमा अनैतिक काम हुने गरेको नेपालीहरु बताउँछन् । कर्मचारी मालिकबाट शोषित त भएका छन् नै तर, मालिकबाट नै अपहरणमा परेर परिवारबाट फिरौती रकम माग्ने घटनाले डेभिडको असली रुप उदाङ्गो भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप