शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नौ सय ५१ उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च

आइतबार, ०१ असोज २०७४, १९ : २७
आइतबार, ०१ असोज २०७४

चितवन । जिल्लाका स्थानीय निकायमा निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि ९५१ उम्मेदवारले निर्वाचन खर्च बुझाएका छैनन् । 

निर्वाचनको समयमा डमी उम्मेदवार बन्ने अधिकांशले खर्च नबुझाएको पाइएको छ । एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका रहेका जिल्लामा गत वैशाख ३१ गते पहिलो चरणमा निर्वाचन सम्पन्न भएको थियो ।     

स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन सकिएको ३५ दिनभित्र उम्मेदवारले खर्च विवरण निर्वाचन आयोगलाई बुझाउनुपर्ने हुन्छ । निर्वाचनमा जिल्लामा रहेको विभिन्न स्थानीय तहमा दुई हजार २०३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । 

स्थानीय तहमध्ये भरतपुर महानगरपालिकामा रहेका ६८४ उम्मेदवारमध्ये ४०१ जनाले मात्र आफ्नो खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिनुभयो । माडी नगरपालिकामा उम्मेदवार भएका २१४ जनामध्ये ७२ जना र रत्ननगरमा ३८६ मध्ये २२५ उम्मेदवारले मात्र खर्च विवरण बुझाएका छन् । 

यस्तै कालिका नगरपालिकामा २४८ जनामध्ये १४६, राप्तीमा २६७ मध्ये १७१, खैरहनीमा २९६ मध्ये १४५ र इच्छाकामनामा १११ उम्मेदवारमध्ये ९२ जनाले खर्च विवरण बुझाएका छन् । आयोगलाई एक हजार २५२ जनाले मात्र हालसम्म खर्च विवरण बुझाएको ढकालले जानकारी दिए । 

स्थानीय तह निर्वाचनका समयमा महानगरपालिका प्रमुख र उपप्रमुखले खर्च गर्न पाउने रु सात लाख ५० हजार र महानगरका अन्य वडाध्यक्ष तथा सदस्यले रु तीन लाख खर्च गर्न पाउने गरी निर्वाचन आयोगले सीमा निर्धारण गरेको थियो । नगरपालिकाका प्रमुख र उपप्रमुखले रु चार लाख ५० हजार र वडाध्यक्ष तथा सदस्यले रु दुई लाख, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षले रु तीन लाख ५० हजार तथा वडाध्यक्ष र सदस्यले रु एक लाख ५० हजार खर्च गर्न सक्ने व्यवस्था गरिएको थियो । 

कार्यालयको तथ्याँकअनुसार उम्मेदवार भएका व्यक्तिमध्ये ८५७ जनाको धरौटी जफत भएको छ । खसेको मतमध्ये सदर मतको १० प्रतिशत नल्याउने उम्मेदवारको धरौटी जफत हुने गर्दछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप