शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको दादागिरी : निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै बेलगाम अभिव्यक्ति

आइतबार, ०१ असोज २०७४, १७ : ४२
आइतबार, ०१ असोज २०७४

काठमाडौं–निर्वाचन आयोगले  प्रदेश नम्बर दुईमा  सोमबार हुन लागेको  निर्वाचनका लागि मौन अवधि लागू गरेकै समयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले उलंघन गरेका छन् ।  मौनअवधि जारी रहेकै बेला एमाले अध्यक्ष ओलीले राजधानीमा आयोजित एक कार्यक्रममार्फत ‘निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै’  बेलगाम अभिव्यक्ति दिएका हुन् । 
 आइतबार राजधानीको प्रज्ञा भवनमा आयोजित अखिल सम्मान साँझलाई सम्बोधन गर्दै ओलीले ‘सूर्यमा भोट हाल्न सबैलाई सद्बुद्धि आओस्’ भन्दै  चुनावपछि एमालेकै नेतृत्वमा  संघीय र प्रादेशिक सरकार बन्ने दाबी गरे । 
‘चुनावपछि एमालेकै संघीय सरकार बन्छ, ७ ओटै प्रदेशमा पनि एमालेकै सरकार बन्नेमा दुई मत छैन’ ओलीले  भने, ‘यो देश बचाउन एमालेलाई पनि बचाउन आवश्यक छ । चाडपर्व आउँदै छ,  दूर्गा भवानीले सूर्यमा भोट हाल्ने सद्बुद्धि प्रदान गरुन्,   दशैको यही शुभकामना छ ।’
कांग्रेस नेता विमलेन्द्र निधिको नामै नलिई उनले पूर्व गृहमन्त्रीको जिल्लामा सत्ताको आडमा एमालेलाई तर्साउने काम भएको भन्दै आपत्ति जनाए ।
 एमालेलाई अवरोध गर्ने प्रयास भएपनि अब कसैले रोक्न नसक्ने समेत ओलीले बताए  ।  उनले भने, ‘चुनाव र चाडबाड सँगै  छ । चाडबाड भनेको सधैं सत्यको  पुजा  गर्नु हो ।  मधेसमा कसैले ट्याइट्याई गरेको भएपछि छठ लगत्तै अर्को चुनाव छ । छठ भनेको सूर्यको पूजा गर्ने हो ।  त्यसपछि पनि सबैले सूर्यको पूजा गर्नेछन् ।’
सो अवसरमा  अखिलका पूर्व अध्यक्ष र इन्चार्जहरुलाई सम्मान गरिएको थियो  । अखिलको पूर्व इन्चार्जसमेत रहेका ओलीले  विश्वकान्त मैनाली, योगेश भट्टराई, टंक कार्की, राजेन्द्र राई, अरुण नेपाल, गोकर्ण, विष्ट भानुभक्त ढकाललाई सम्मान गरेका थिए । यस्तै ओलीलाई भने अखिलकी अध्यक्ष नबिना लामाले सम्मान गरेकी थिइन् । 

विगतमा पनि मौनअवधिमा बोलेका थिए ओली
गत बैशाख  ३१ गते भएको पहिलो चरणको स्थानीय तह निर्वाचन र असार १४ मा भएको दोस्रो चरणको स्थानीय तह निर्वाचनअघिको मौन अवधिको समयमा पनि ओलीले सीमा नाघ्दै अभिव्यक्ति दिएका थिए । तर ओलीले यस्तो अभिव्यक्ति दिएपनि  निर्वाचन आयोग भने मौन देखिएको  थियो । यो अभिव्यक्ति पछि आयोग विगतमा जस्तै मौन रहन्छ कि ‘याक्सन’ मा जान्छ त्यो भने हेर्न नै बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप