बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

संकटमा बेल

आइतबार, ०१ असोज २०७४, १७ : ३६
आइतबार, ०१ असोज २०७४

म्याड्रिड । गेराथ बेल फेरि आलोचनाको केन्द्रमा छन् । सन् २०१३ मा त्यतिबेलाको विश्वकिर्तिमानी १ सय मिलियन यूरोमा टोटनहम हटस्पर्सबाट रियल म्याड्रिड आएपछि देखि नै उनीमाथि प्रश्न गर्न शुरु गरिएको थियो । २८ वर्षीय खेलाडी यतिबेला स्यान्टियागो बर्नेबाउको करियरमा सबैभन्दा कमजोर बिन्दुमा छन् । नयाँ सिजनको शुरुवातसँगै उनी फिटनेस र फर्म दुवैको खोजीमा रहेका छन् ।

ला लिगाको पहिलो खेलमा डिर्पोटिभो ला कोरुनाविरुद्ध ३–० को जीत निकाल्ने क्रममा बेलले एक गोल गर्नुका साथै एउटा गोलको अवसर सृजना गरेका थिए । धेरैले यसलाई वेल्स विंगरको पुनरागमनको रुपमा हेरेका थिए । तर, त्यसपछि भ्यालेन्सिया र लेभान्तेविरुद्ध उनको खेल निरासजनक रह्यो । बुधबार च्याम्पियन्स लिगमा एपोएलविरुद्ध ३–० को जीत निकाल्दा उनले राम्रो खेले पनि उनी म्याड्रिड समर्थकको तारो बनेका थिए ।

‘यहाँ आफ्नै खेलाडीविरुद्ध समर्थकहरु उत्रिन्छन्, गेराथ बेल यसको हकदार छैनन्,’ टोनी क्रुसले भने । बिहिबार आफ्नो करार नविकरणको समयमा मार्सेलोले पनि थपे, ‘हामी चिन्तित छौँ । सबैभन्दा महत्वपूर्ण कुरा भनेको उनी खुसी छन् कि छैनन् भन्ने हो । मैदानबाहिर खुसी हुने व्यक्ति मैदानभित्र पनि खुसी हुन्छ ।’

पछिल्लो वर्ष बेलका लागि संघर्षपूर्ण रहेपनि उनले जहिले पनि म्याड्रिडमा आफू खुसी रहेको बताउँदै आएका छन् । यो समयमा सबैभन्दा बाधकको उनको चोट बनेको छ जसको कारण उनले स्पेनिस टोलीका लागि आफ्नो शतप्रतिशत खेल देखाउन सकिरहेका छैनन् ।

सन् २०१६ को यूरो कपमा वेल्सलाई सेमिफाइनलमा पुर्याए यता, देश र क्लबका लागि बेलको प्रभाव कम हुँदै गइरहेको छ । सन् २०१७ मा उनको खेलको तथ्यांक हेर्दा यो प्रष्ट देखिन्छ ।

सन् २०१७ मा टोटनहमका पूर्व विङ्गरले रियलका लागि १७ खेल खेलेका छन् जसमध्ये १३ मा उनले शुरुवात गरेका छन् । यसमा उनले मात्र ३ गोल गर्नका साथै ३ वाट गोलको अवसर सृजना गरेका छन् ।

यसैबीचमा वेल्सका लागि खेलिएका ३ खेलमा उनले एउटा पनि गोल वा गोलको अवसर सृजना गर्न सकेका छैनन् ।

रियलका लागि उनले गरेको ६८ तथा वेल्सका लागि उनले गरेको २६ गोलसँग तुलना गर्दा उनको खेल पक्कै पनि खस्किएको छ ।

सन् २०१६ को अन्त्यतिर चोटका कारण मैदान बाहिर रहेका उनी ला लिगा सिजनको अन्त्यतिर मात्र टोलीमा फर्किएका थिए । त्यस्तै आफ्नो घरेलु शहर कार्डिफमा भएको च्याम्पियन्स लिगको फाइनलमा पनि उनी अतिरिक्त खेलाडीको रुपमा मात्र मैदान प्रवेश गरेका थिए ।

स्पेनिस मिडिया पनि उनको आलोचना गर्नमा अगाडि छ । धेरैले उनले कहिले अर्को चोट बेहोर्ने हो भन्ने आलोचना गरिरहेका हुन्छन् । तर, बुधबार प्रशिक्षक जिदानले भने उनको बचाउ गरे । उनले भने, ‘उनको खेल दिनानुदिन सुध्रिदैछ । यसको लागि समय लाग्छ । म उनको खेलबाट खुसी छु ।’

आज रियल क्रिस्टियानो रोनाल्डो र करिम बेन्जेमा विना फर्ममा रहेको रियल सोसिडाडविरुद्ध मैदानमा उत्रदैछ । 

यसो छ सोसिडाडमा बेलले हरेक चारमध्ये एक खेलमा गोल गर्ने गरेका छन् । आजको खेल कठिन भएपनि बेलका लागि भने आफ्नो फर्ममा फर्कने ठूलो अवसर हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप