शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सफलताको कथा  ः  बेलायत जान छोडेर बरिस्ता प्रशिक्षक

आइतबार, ०१ असोज २०७४, १२ : ०३
आइतबार, ०१ असोज २०७४

भनिन्छ समयको गतिअनुसार परिवर्तित हुन सकिएन भने डाइनोसरको जस्तै नियति भोग्नुपर्छ । अर्थात संसारबाट लोप हुने अवस्था आउँछ । परिवर्तित समयसँगै व्यक्ति पनि समयानुकुल हुनसके मानिसहरूको हुलमा पृथक भइन्छ । गुमनाम बन्ने स्थिति आउँदैन । समयको वेगलाई काभे्रका मनोज खकुरेलले आफ्नो अनुकुल ढाल्न सके । खकुरेललाई समयले अनेक हन्डर र ठक्कर दियो तर गतिलाई घटाएनन् । उच्च शिक्षाका लागि राजधानी झरेका उनले समय चिने । दुःख र कष्टका तगाराहरू पन्छाउँदै नाम र दाम रहेको  बरिस्ता इन्स्ट्रक्टर पेसामा आबद्ध छन् । 

राजधानीको कष्ट
एसएलसी सकेर काठमाडौँ आएका खकुरेललाई दश जोड दुई  पढ्नु थियो । कलेजको फी साथै साँझ बिहानका लागि हात मुख जोड्न अर्को समस्या पनि थियो । आर्थिक रूपमा परिवारबाट सहयोग हुन सक्ने स्थिति पनि थिएन । यावत समस्यासँग मुकाबिला गर्न उनले केही इलम गर्नुपर्ने थियो । इलम सुरु गरे । साइकलमा कापीहरु लिएर बेच्न सुरु गरे । साइकलमा सामान पुर्याउँदै हिँड्ने काम परिवर्तन गरी क्यान्टिनका  कामदार बने  । 
 २००८ देखि २००९ सम्म क्याफटेरियाको कामदार बने । रत्नपार्कको आकाशेपुलको उद्घाटनका अघिल्लो रात क्यान्टिनका सामान रुँगेर रातभर पुलमुनि बसेको विगतको तीतो अनुभव  सम्झिए । सामान कुरिबसेको अवस्थामा रातभरको दुई सय ५० रूपियाँ थप रकम प्राप्त हुनाले त्यसरी बसेको सुनाए । क्याफ्टेरिया क्यान्टिनमा उनले आफ्नो दक्षता देखाए । क्याटरिङ सञ्चालक उनीबाट प्रभावित भएकाले जिम्मेवारी पनि उनको बढ्दै गयो । २०१० मा उनले नेपाल सकारबाट प्रदान गरिने कफी बनाउने तालिममा सहभागी हुने अवसर प्राप्त गरे । नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्टबाट छ महिनाको तालिमबाट उनले कफी बनाउने विधिको अधिकतम ज्ञान लिए । 

व्यवसायमा प्रवेश 
कफी टक नेपालमा पहिलोपटक कफी बनाउने कार्य गरेका खकुरेलले एक साथीको सहयोगमा कमलपोखरीस्थित मार्कपोलो होटलमा कफी सप सुरु गरे । होटलको थोरै स्पेश लिएर सञ्चालन गरिएको कफी सपलाई २०७२ सालको भूकम्पले क्षति पुर्यायो । कफी सपलाई अझ विस्तारित रूपमा सञ्चालन गर्ने उनको आकांक्षालाई छ महिना अघिदेखि सञ्चालित हवेली कफी सपले मूर्त रूप दियो । तीन जना साथीहरूको संयुक्त लगानीमा सञ्चालित हवेलीका खकुरेल हर्ताकर्ता हुन् । 
शैक्षिक कन्सल्टेन्सी, कलेज स्कुलहरूको बाक्लो घनत्व रहेको बागबजार क्षेत्रमा उनको व्यवसायले मनग्य आम्दानी गर्न सफल भएको छ । भौतिक संरचनामा ठूलो लगानीका साथ कफी सप सञ्चालन गर्नेहरूका कफी गुणस्तर र  स्वादमा हवेलीको कम नभएको  उनले दाबी गरे । खकुरेलको कफी सपमा ३३ प्रकारका कफीका स्वादहरू उपलब्ध छन् । नेपाली कफीको मात्रै बिक्री गरिने उनले बताए । 


के हो बरिस्ता ?
 कफीलाई आर्कषक रूपमा ग्राहकलाई प्रदान गर्ने कलाकारिता  बरिस्ता हो । कफी बनाउनेहरूका लागि दिइने तालिमका प्रशिक्षक बनेका छन् खकुरेल । ग्राहकहरूलाई आदरपूर्वक कफीजन्य पेय पदार्थको सेवा दिने व्यक्ति नै बरिस्ता हो उनले भने । अध्ययनका लागि युरोप अमेरिका पुगेका नेपालीहरूले स्वदेशमा कफी पिउने संस्कृति भित्र्याएको मानिन्छ । नेपालमा गुल्मीबाट सुरु गरिएको कफी खेती विस्तारसँगै व्यवसायीकरण पनि हुन थालेको छ ।  काठमाडौँ जाभाले ठमेलमा सञ्चालन गरेको कफी सपलाई नै नेपालको पहिलो कफी सप मानिन्छ । 
कफी संस्कृति बढेसँगै बरिस्ताहरू पनि बढ्न थालेका छन् । काठमाडौँ, पोखरालगायत केही सहरमा खुलेका कफी सपहरूमा बरिस्ताहरू काम पाउन थालेका छन्  । तिनै बरिस्ताहरूलाई काम सिकाउने तथा कफी ग्राहकलाई सन्तुष्टि दिने विधिको विषयमा तालिम प्रशिक्षक बनेका छन् खकुरेल । 

विदेशको प्रक्रिया चटक्कै छोडेर कफी पेसा 
धेरै साथीहरू देश छोडेर अध्ययनका लागि विदेश लागेको देखेर उनलाई पनि विदेशको मोह नजागेको होइन । आईएलटीएस सकेर बेलायतका लागि प्रयास गरे । भिसा प्रक्रियामा थियो । तर अकस्मात बेलायतमा सञ्चालित धेरै कलेजको सञ्चालन रोकिएको बारे समाचार प्रकाशित भयो । विदेश मोह त्यागे । आफ्नै पेसामा रमाउन थाले । 
ज्ञानको दायरा अझ फराकिलो बनाउँदै लगे । कफी प्रशिक्षक बनेका खकुरेलले विद्यार्थी भिषामा विदेशमा जान लागेका युवाहरूलाई पनि तालिम दिने गरेका छन् । अस्ट्रेलिया, बेलायत, अमेरिका पुग्ने युवाहरूलाई सीप सिकेर विदेश जान उनले आग्रह गरे । उनी मार्फत बरिस्ता सिकेर विदेश गएका उनका प्रशिक्षार्थीहरू खुसी रहेको उनले बताए । विदेश जानेहरूको लागि बरिस्ता एक विषेश तालिम हुने गरेको छ ।
 
नेपाली कफी नै उत्कृष्ट 
समुन्द्री सतहदेखि एक हजार मिटरदेखि  एक हजार ६०० मिटरसम्मको भूभाग कफी खेतीका लागि उपयुक्त क्षेत्र मानिन्छ । नेपालमा गुल्मीबाट २०३२ सालबाट सुरु गरिएको  कफी खेती हाल ४० जिल्लामा विस्तार भएको छ । नेपाली कफी विश्व बजारमा निर्यात हुने गरेको छ । स्याङ्जा र पाल्पामा उत्पादित कफीको  मुख्य बजार जापान बनेको छ ।  
नेपालीहरू बीचमा कफी पिउने संस्कृतिमा क्रमिक रूपमा सङ्ख्यामा वृद्धि हुँदै गएको छ । नेपालीहरूमा पनि फरक फरक स्वादको अनुभव लिने प्रचलन बढेको खकुरेलले खुलाए । हवेलीमा आउने ग्राहकहरू नेपाली कफी स्वादबाट सन्तुष्ट रहेको उनले बताए । नेपाली कफीलाई आकर्षक सजावटमा ग्राहकलाई पस्किने गरेको उनले बताए ।
धनीहरूका लागि सौखिन पेय पदार्थमा मानिने गरेको कफी हाल आम सर्वसाधारणको आवश्यक पेय पदार्थ बनेको छ । कफीमा आत्मनिर्भर बनेको नेपालले  कफी बनाउन प्रयोग हुने मेसिनका लागि भने इटालीसँग निर्भर हुनुपरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप