एसीसी अन्डर १९ इस्टर्न रिजन क्रिकेट : हङकङलाई हराउँदै नेपाल बन्यो च्याम्पियन
काठमाडौँ । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनल खेलमा नेपालले हङकङलाई ५ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको छ ।
जीतका लागि ७६ रनको लक्ष्य पाएको नेपालले मात्र १४.४ ओभरमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्याएको थियो ।
मलेसियाको किनरारा ओभल मैदानमा भएको खेलमा नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २२ रनको योगदान दिए भने सन्दीप सुनार र प्रनित थापामगरले समान १९ रनको योगदान दिए ।
यसअघि, हङकङ मात्र ७६ रनमा अलआउट हुन पुगेको हो ।
खेलमा टस जितेर नेपाली टोलीले हङकङलाई ब्याटिङको निम्ता दिएको थियो ।
नेपालले पहिलो ओभरदेखि नै प्रतिद्वन्द्वीलाई दबाबमा राखेको थियो । नियमित रुपमा हङकङको विकेट लिँदै नेपाली बलरहरुले कुनै पनि ब्याटसम्यानलाई खुलेर खेल्न दिएनन् ।
नेपालका लागि सन्दीप लामिछाने र सहबाब आलमले समान ३–३ विकेट लिए ।
हङकङका लागि हरप्रित सिंहले सर्वाधिक २० रन बनाए भने जथाभेदले १६ रनको योगदान दिए ।