बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लमजुङमा पर्यटक चहलपहल शुरु

शनिबार, ३१ भदौ २०७४, १३ : ४९
शनिबार, ३१ भदौ २०७४

लमजुङ -लमजुङमा पर्यटकको चहलपहल शुरु भएको छ । सिजन शुरु भएसँगै अन्नपूर्ण पदमार्गको प्रवेशद्वार बेँसीशहरमा पर्यटकको चहलपहल शुरु भएको हो । 

बढी व्यस्त मानिने अन्नपूर्ण पदयात्रा मार्गमा पर्यटकको आगमन बढेपछि व्यवसायी उत्साहित भएका छन् । सेप्टेम्बर र अक्टोबर महिना नेपालमा पर्यटक भित्रिने मुख्य समयको रुपमा लिइन्छ । 

अहिले लमजुङ हुँदै अन्नपूर्ण पदयात्रा मार्गमा जाने पर्यटकको संख्या दैनिक ७० को हाराहारीमा रहेको टिम्स पर्यटन जाँचकेन्द्र बेँसीशहरका नन्दराज भट्टले बताउनुभयो । 

अन्नपूर्ण पदमार्गसँगै जिल्लाका घलेगाउँ, काउलेपानीलगायतका ग्रामीण पर्यटकीय गाउँ आउनेको संख्या पनि उल्लेख्य थपिएको छ । 

राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चा कमाएका लमजुङका पर्यटकीय गाउँले स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गर्नाले पर्यटन व्यवसायी पनि उत्तिकै उत्साहित भएका छन् । पर्यटनको आगमन बढेसँगै व्यवसाय पनि राम्रो भएको बेँसीशहरस्थित गेटवे हिमालयन रिसोर्टकी निर्देशक अञ्जु पौडेलले बताउनुभयो । 

लमजुङ सदरमुकाम बेँसीशहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेँसीशहरबाट खुदी, भुलभुले, ङ्यादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ । अन्नपूर्ण पदमार्गसँगै समुद्री सतहबाट सबैभन्दा बढी उचाइमा रहेको तिलिचो ताल पुग्ने पर्यटक पनि प्रशस्तै आउने गरेका छन् । 

अन्नपूर्ण पदयात्रा मार्ग विश्वका १० उत्कृष्टमध्ये एक हो । एक्यापका अनुसार अन्नपूर्ण पदमार्गमा सबैभन्दा धेरै बेलायत, इजरायल, कोरिया, चीन, जर्मनी, अमेरिका, फ्रान्स, जापान, अस्ट्रेलियालगायतका देशका नागरिक आउने गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप