शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इतिहासमा आज – जिया उल हकको सत्तारोहण, जसले पाकिस्तानमा फौजी शासनको जग बसायो !

बुधबार, ३१ भदौ २०७७, ०१ : ३५
बुधबार, ३१ भदौ २०७७

आज सेप्टेम्बर १६ ।  आजैका दिन सन् १९७८ मा पाकिस्तानी सेनाका प्रमुख जनरल जिया उल हकले राष्ट्रपतिको सपथ लिए । सन् १९४३ देखि उनी निरन्तर सैनिक सेवामा थिए, तत्कालीन ब्रिटिस भारतीय सेनाको सदस्यका रुपमा उनले बर्मामा जापानी फौजविरुद्ध दोस्रो विश्वयुद्ध लडेका थिए ।

१९४७ मा ब्रिटिस शासनको अन्त्यसँगै भारत विभाजन भएर भारत र पाकिस्तान नाममा दुई स्वतन्त्र देश बने । त्यसपछि नवगठित पाकिस्तानी सेनामा गाइड्स काभाल्री फ्रन्टियर फोर्स रेजिमेन्टमा जिया क्याप्ेटन बने । १९४७ र १९६५ मा कास्मिर मुद्दालाई लिएर भारत र पाकिस्तानबीच भएको युद्धमा जिया सहभागी थिए । १९६५ को युद्धमा उनी १ सय १ औं इन्फ्यान्ट्री ब्रिगेडमा एसिस्टेन्ट क्वाटरमास्टर थिए । १ मार्च १९७६ मा तत्कालीन प्रधानमन्त्री जुल्फीकर अली भुट्टोले उनलाई पाकिस्तानी सेनाको प्रमुख नियुक्त गरे । तर, यही फैसला भुट्टोका लागि घातक बन्यो ।

यस समय पाकिस्तानमा आर्थिक मन्दी थियो, अनि भुट्टोको सरकार निकै अलोकप्रिय भइसकेको थियो । सबै राजनीतिक पार्टीहरु भुट्टोको राजीनामा माग्दै सडकमा ओर्लिएका थिए । देशमा अशान्ति र अराजकता मौलाएको यही समय (२१ अप्रिल १९७७) भुट्टोले कराँची, हैदरावाद र लाहोरजस्ता ठूला शहरमा सैनिक शासन लागु गरे । तर, धेरै समय भुट्टो सत्तामा टिक्न पाएनन् । ५ जुलाई १९७७ मा जियाकै आदेशमा भुट्टोसहित उनको मन्त्रीमण्डलका सबै सदस्यलाई पाकिस्तानी सेनाले पक्राउ गर्‍यो । त्यसपछि देशभर पूर्ण सैनिक शासन लगाइयो । जियाले पाकिस्तानी सेनाका महत्वपूर्ण विभागमा राष्ट्रपतिमार्फत आफ्नो पक्षका सैनिकहरुलाई नियुक्ती दिलाए । त्यसपछि सत्तामा उनको पकड अझै बढ्दै गयो । राष्ट्रपति फजल इलाही चौधरीले आफ्नो कार्यकाल सकिएर राजिनामा गरेपछि १६ सेप्टेम्बर १९७८ मा जिया राष्ट्रपति बने ।

१७ अगस्ट १९८८ मा विमान दुर्घटनामा परेर जियाको मृत्यु भयो ।

जिया उल हकको राष्ट्रपतिमा सत्तारोहण पाकिस्तानी राजनीतिमा एउटा त्यस्तो दुरगामी असर पार्ने खालको घटना थियो, जसले पाकिस्तानको राजनीतिमा फौजी शासनको प्रभुत्वलाई स्थापित गराएको थियो । इतिहासको त्यो दुस्चक्रबाट अझै पनि पाकिस्तानी राजनीति अभिशप्त हुँदै आएको छ । पाकिस्तानको राजनीतिमा सत्तारोहण हुनको लागि नागरिक सत्ताले कुनै न कुनै रुपमा पाकिस्तानी फौजको आशीर्वाद वा समर्थन हासिल गरेकै हुनुपर्ने अवस्था अहिले त्यहाँ आम प्रवृत्तिको रुपमा नै स्थापित हुन पुगेको विश्लेषकहरु बताउँछन् ।

सेप्टेम्बर १६ मा भएका अन्य केही उल्लेख्य घटनाक्रमहरु

१७३६– विश्वप्रसिद्ध वैज्ञानिक डानियल गाब्रियल फरेनहाइटको निधन ।

१७८९– फ्रान्समा जिन–पाउल माराटद्वारा नयाँ अखबार L'Ami du Peuple को स्थापना

१८१०– स्पेनीहरुको शासनबाट मेक्सिको स्वतन्त्र भएको घोषणा । मेक्सिकोको स्वतन्त्रता दिवस ।

१८४८– फ्रान्सका सबै क्षेत्रहरुबाट दासता उन्मुलन भएको घोषणा

१९०६– डगलस माउसन, एडवर्थ डाभिड र अलिस्टेयर माककाले अन्टार्कटिकामा चुम्बकीय दक्षिणी धु्रव पत्ता लगाएको दावी

१९२०– अमेरिकाको न्यूयोर्कस्थिति वाल स्ट्रिटमा भएको वमकाण्डमा ३० जना मानिसको मृत्यु ।

१९३२– जातीय आधारमा निर्वाचन प्रणालीलाई विभाजित गर्ने व्रिटिश सरकारको निर्णयविरुद्ध महात्मा गान्धीद्वारा पुनेस्थित येरवादा जेलमा भोक हड्ताल शुरु

१९४५– जापानले बेलायतलाई हंगकंग सुम्पिए

१९६३– मलाया, सिंगापुर, व्रिटिश नर्थ बोर्नियो र सारावाक मिलेर फेडरेसन अफ मलेशिया गठन भएको घोषणा

१९७८– इरानको ताबारमा आएको ७.७ म्याग्नेच्यूटको भूकम्पमा परेर २५००० को ज्यान हताहत ।

१९९७– एप्पल कम्प्युटर इंकद्वारा एप्पलका संस्थापक स्टीभ जब्सलाई अन्तिरम कार्यकारी अधिकारी नियुक्त भएको घोषणा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप