बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फेसबुकको नयाँ साथी–२

शनिबार, ३१ भदौ २०७४, ०८ : २२
शनिबार, ३१ भदौ २०७४

–सूचना तिमल्सिना

दुई हप्ता हुँदा पनि उसको खबर आउँदैन । उसँग रहेको अनगिन्ति प्रश्न शिथिल हुँदै जान्छन् । तीन हप्ता पुग्दा म उसलाई बसमा भेटेको सहयात्री भनी परिभाषित गर्छु । जो केही क्षण लागि मात्रै सँगै हुन्छ । अनि छुटिन्छ । ऊ हराएको सत्रौँ दिनमा उसको म्यासेज आउँछ । हेलो ! म बोल्ने या नबोल्ने अन्योलतामा अल्झिन्छु । बोलौँ उसले यत्रो दिन तडपाएको कुरा प्रस्फुटन हुँदैन । नबोलौँ ऊ फेरि गायब हुन सक्छ । उसको यो लापरवाहीलाई कमसेकम एक दिन भने पनि चखाउन नबोल्ने निर्णयमा पुग्छु । ऊ मेरो खबर सोध्छ । म मौन धारण गरिरहन्छु । नबोलेर आफ्नो घुर्की पेश गर्न नपाउने ठहर्दै एक दिनको मौनतालाई तोड्छु । म्यासेज लेख्छु । 
तिमी त गायब भयौ नि ? ऊ अबोध बन्दै भन्छ । म आफैबाट पनि गायब थिएँ । यो उसको कुन चाहिँ अभिव्यक्ति हो । म सोध्छु– मतलब ?
‘मैले यी दिनमा मोबाइल चलाइनँ ?’
किन ?
‘किनकि म आफ्नो खोजीमा थिएँ ।’
म उसको कुरा वास्ता नगरी सोध्छु । भेट्न किन नआएको तिमी ? ऊ माफ गर मात्र भन्छ । उसको जवाफले मेरो चित्त बुझ्दैन । त्यसैले फेरि भेट्ने प्रस्ताव राख्छु । ऊ सहर्ष स्वीकार्छ । म घुर्की लाउँछु । यसपालि भेटेनौ भने म तिमीलाई कहिल्यै भेट्दिन । ऊ जसरी भए पनि भेट्ने प्रतिबद्धता जनाउँछ । यसपालि म आफै भेट्ने ठाउँ तय गर्छु । उसलाई जानकारी गर्छु । उसले सहमति जनाउँछ । उसलाई भेट्ने दिन म उत्साहित बन्दिन । ऊ नआउन सक्ने सम्भावनालाई भुल्न दिन्न । अझ भनौँ गीताको आश नगरको प्रयोगात्मक परिक्षार्थीको रूपमा आफूलाई तय गर्छु । कलेज सकेर कृष्ण मन्दिरतिर लाग्छु । मन्दिर पुग्दासम्म ऊ आइपुगेको रहेनछ । बिहानदेखि ऊ आउँछ, आउँदैनको गेम यहाँ आइपुग्दा पनि टुङ्गिदैन । कलेजमा प्रयोगात्मक कक्षामा झोलामा राखेको झार हातमा लिन्छु । कोरियन फिल्मको कहानी चोर्दै आउँछ, आउँदैन भनी झारको पत्ता च्यादै जान्छु । अन्तिम पत्ताले आउँदैन भन्छ । अघि कलेजमा गर्दा अन्तिम पत्ता आउँछमा परेको थियो । त्यसैलाई सही मान्छु ।  कृष्ण मन्दिरलाई एउटा पाइला आउँछ र अर्को पाइला आउँदैन फेरो मार्छु । फोनको रिङ बज्छ । हिजो उसले दिएको फोन नम्बर रहेछ ।

उताबाट हेलोको आवाज आउछ । म आफू नर्भस नभएको भान पार्दै उसलाई चाँडो आउन आग्रह गर्छु । ऊ आइपुगेको जानकारी दिन्छ । म उसलाइ आफू रहेको ठाउँ बताउँछु ।  निलो टिसर्ट, कालो ज्याकेट, सेतो प्यान्टको लगाएको केटा  मेरो अगाडि उभिन्छ । मैले भेट्न खोजेको केटा उही हो भनी परिचय दिन्छ । म उसले  झुक्याउन सफल भएको केटी भनी परिचय दिन्छु । ऊ हाँस्दै माफी माग्छ । भित्री मनले माफी दिन मान्दैन । तर माहोल नबिगार्न भन्छु ।  आज आयौ । माफी पायौ । ऊ मुस्काराउँछ । उसको मुस्कानले मलाई तान्छ । म उसलाई म्युजियम अघिको बेन्चमा बस्न आग्रह गर्छु । तर ऊ घाम लागेकाले मेरो गोरो अनुहार डडाउन सक्ने भनी अन्त जान प्रस्ताव गर्छ । मसँग सनस्क्रिन भएको कुरा बताउँछु । ऊ खाजा खाँदै कुरा गर्ने सुझाव राख्छ  । 

नजिकैको रेस्टुरेन्टमा जान्छौँ । ऊ तीन तलाको बस्ने ठाउँ रोज्छ । म माथिबाट राम्रो दृश्य देखिने खुलासा गर्छु । ऊ मलाइ इङ्गित गर्दै भन्छ–  मेरो लागि तिमी नै राम्रो दृश्य हौ । म मक्ख पर्छु । एकछिन हामीबीच मौनता छाउँछ । हामी आआफ्नँो बारे बताउन । म सुझाव राख्छु । ऊ सहमति जनाउँदै टाउको हल्लाउछ । 
म वनस्पति शास्त्र पढ्दै छु । 
–म स्वाध्ययन गर्दै छु  । 
–स्वध्ययन भन्ने कस्तो पढाइ हो ? तै पनि धैर्य धारण गरी आफ्नो बारे बोल्छु । 
–म भविष्यमा नेपालमा पहिचान नभएको बिरुवा पत्ता लगाउनेछु । 
–म भविष्यमा आजको म हुँदिन । 
अब म पनि भन्दिन । तिमीले सही उत्तर दिएनौ । म ठुस्किन्छु । ऊ हाँस्छ । ठिकै छ । उसोभए भोलिबाट हाम्रो भविष्यमा के होला भविष्यवाणी गरौँ । म मख्ख पर्छु । म सुरुवात गर्छु ।  
तिमी भोलिबाट एक महिना गायब हुनेछाँै । 
–म हराए पनि तिम्रो सम्झनालाई हराउन दिन्न । म फेरि फर्कनेछु र तिमीलाई भेट्नेछु । 
एक महिनामा मेरो अन्तिम परीक्षा चल्ने छ र तिमीलाई भेट्ने छैन । 
–म तिमीलाई भेट्न परीक्षामा हलमा आउनेछु । 
म तिमीलाई मेरो ब्वाइफ्रेन्ड भनेर साथीहरूलाई परिचय गराउनेछु । 
–म बाहिर मन नपरेको परिस्थिति देखाउँदै मनमनै रमाउनेछु । हाम्रो कुराकानी निरन्तर हुनेछ । तीन महिनापछि म तिमीलाई पर्पोज राख्नेछु । 

यो कल्पना थियो, तैपनि उसको कुराले तर्साउँछ । म बोल्दिनँ । ऊ मेरो मुख ताक्छ । ऊ भन्छ– रोचक कहानीको अन्त्य मौनताले गर्दैन । म बठ्याइँ देखाउँछु । हाम्रो मित्राताको एक वर्ष हुनेछ । फेरि तीज आउनेछ । म तिमीलाई तीजमा व्रत किन बसेको भनी प्रश्न गर्नेछु । ऊ पहिले पर्पोजको उत्तर दिनुपर्ने अडान थाप्छ । म पनि उसले नभनेसम्म आफू केही नभन्ने भनी जिद्दी गर्छु । दुवै जना मौन रहन्छौ । वेटर कफी ल्याउँछ । म समस्याको समाधानका अर्को फिल्मी स्टाइल निकाल्छु । मैले हेरेको फिल्मले आज भने मलाई साथ दिए जस्तो लाग्छ । आँखा जुधाई प्रतियोगिता गर्ने । जसले पहिले आँखा झिम्क्याउँछ । उसले उत्तर दिनुपर्छ । प्रतियोगिता सुरु हुन्छ । उसका साना आँखा फराकिला हुन्छन् । म पनि हार नमान्ने भनी कम्मर कस्छु । पाँच मिनेट हुँदा पनि हार जित कसैको हुँदैन । उसका आँखाबाट आँसु निस्कन्छ । तर पनि उसले हार मान्दैन । मेरा आँखामा आँसु भरिँदै जान्छन् । हारिने डरले म शकुनी चाल चल्छु । म टेबलमा अडिएको उसको हात समात्छु । ऊ तर्सन्छ । उसले आँखा झिम्कयाउँछ । म कपट जितको खुसियाली मनाउँछु । ऊ मेरो खुसियाली स्वीकार्छ र आफ्नो तीजको व्रतको कहानी सुरु गर्छ । 

एउटा परेवा थियो । उसले एउटी राम्री परेवी भेट्यो । उनीहरूको माया बस्यो । परेवा परेवीको माया प्रगाढ थियो । एक तीजमा परेवीले परेवालाई भनी– यदि तिमी मलाई साँचो माया गर्छौ भने तिमी पनि मेरो लागि व्रत बस्नुपर्छ । परेवाले चोखो माया गथ्र्याे । उसले व्रत बस्न सुरु गर्यो । उनीहरूको सम्बन्ध अरू परेवाले मात्र होइन कि मानिसले समेत आह्रिस गर्ने खालेको थियो । एक दिन परेवीलाई अर्को ठाउँ जान मन लाग्यो । परेवा जान मानेन । परेवी रोकिन मानिन । परेवालाई थाहा थियो । प्रेम बन्धन होइन, स्वतन्त्रता हो । परेवी फर्किने बाचा गरी नयाँ ठाउँमा उडी । उसलाइ त्यही ठाउँ मन पर्यो । परेवा घाइते पखेटा बोकेर त्यो ठाउँ जान सकेन । उनीहरूको बिछोड भयो । परेवाले समय बित्दै जाँदा परेवीलाई भुल्यो । तर उसले एक दिन भने पनि उसको चोखो मायाका लागि तीजको व्रत बसिरहने सङ्कल्प गर्यो । त्यसपछि तीजमा व्रत बस्ने कार्यलाई निरन्तरता दियो । 
ऊ कहानी सकेर चिसिएको कफी सुर्पाउँछ । म उसलाई भन्छु । मैले वनस्पति शास्त्र पढेको भए पनि जीव विज्ञान बारे उत्तिकै चासो छ । म यो परेवा बारे रिसर्च गर्न चाहन्छु । ऊ चुपचाप कफी सकाउछ । अब तिम्रो पालो उत्तर बताउने । कुन उत्तर ? के उत्तर ? म हरिबहादुर बन्छु  । ऊ मुख बङ्ग्याउँछ । चोरी औँलो तेर्साउँछ । अनुहार फुलाउँछ । म खाजा खाएपछि बताउने भनी खाजा अर्डर गर्छु । म झ्यालबाट नीलो आकाश औल्याउँदै भन्छु । म उडेर त्यहाँ पुग्न चाहन्छु ।  बादलुसँगै लुकामारी खेल्नेछु । चराहरूलाई इस्याउँदै धर्तीमा झर्नेछु । एकदिन म त्यो आकासलाई भमण स्थल बनाउँनेछु । ऊ मेरो काल्पनिकतालाई दखल दिन्छ  । विज्ञानले आकाशको अर्कै परिभाषा गर्छ, होइन र ? 

त्यो निल गगन भ्रम हो भन्छन् । यथार्थ त हावा, प्रकाश र धुलोको संगम हो भन्छन् । भ्रम हो त ।
के भो त ? 
यसले मेरो प्रिय प्रकाशपुञ्जलाई
छेकेको छैन 
मेरो सास वायुलाई 
रोकेको छैन 
मेरो सुन्दर रङ्गमा दाग 
पोतेको छैन ।
मैले कता पढेको कविता बिगार्दै भन्छु । उसको मुस्कानदेखि फेरि थप्छु । खासमा भ्रम त जताजतै व्याप्त छ । त्यो हरियो देखिने रुख वास्तवमा हरियो होइन । त्यो साँझमा देखिने सुन्दर दृश्य यथार्थ होइन  । म उसको मुस्कानमा पग्लिँदै जान्छु । खाजा आइपुग्छ । खाजा खाएर ऊ पैसा तिर्न तम्सिन्छ । म आधा तिर्छु । ऊ बिना प्रतिवाद लिन्छ । छुटिने बेला म हात हल्लाउदै बाइ बाइ गर्छु । ऊ मलाई अँगालो मार्छ । मेरो मुटु जोडले धड्कन थाल्छ । म जहीको तहीँ अडिग रहन्छु । ऊ छुटिन्छ । यो सुन्दर दिन मेरा लागि स्मरणीय मात्र नभई एतिहासिक दिन भनी घोषित गर्छु । अर्को एक हप्ता बिना प्रासङ्गका कुरा चलिरहन्छन् । जति कुरा भए पनि ऊ आफ्नो बारेमा खुलेर बोल्दैन । तर पनि बिस्तारै ऊ खुल्ने आश गरिरहन्छु । 

दशैँ लहर आयो । तर घरमा जुठो पर्यो । ममी भाइ र मलाई मामाघर पठाउने कुरा गर्नुहुन्छ । धेरै वर्षपछि मामाघर जान पाउँदा हामी मख्ख पर्छौ । ऊ दुई दिनदेखि फेसबुकमा देखा पर्दैन । त्यसैले म उसलाई अफलाइन म्यासेज छोड्छु । म झापा मामाघर जाँदैछु । झापा जाने दिन बाबा सातदोबाटो सम्म पुर्याउन आउनुहुन्छ । भाइ बस चढ्दै भन्छ । एउटा राम्री केटी चढेनछन् । कसरि यति लामो यात्रा गर्ने होला । म उसलाई चुप लाग भनी कराउँछु । ऊ ठुस्केर सिटमा बस्छ ।  म भाडा तिर्न पैसा ठीक पार्छु । गाडी हिँड्छ । पछाडिबाट आवाज आउँछ । तपाईंले पैसा तिरेको छैन होइन ? मलाई चिनेको आवाज लाग्छ । म हेर्छु । म आश्चर्य चकितमा पर्छु । पैसा उठाउने व्यक्ति  ऊ पो रहेछ ।  भाडा भाइ दिन्छ । मलाई मेरो मुटु कसैले निचोरेको जस्तो लाग्छ । 

यो भ्रम होला । म यथार्थबाट भाग्न खोज्छु । तर यो मेरो वास्तविकता थियो । ऊ इन्जिनियर, डाक्टर होला भनेर कल्पना गरेको थिएँ । ऊ त कन्डक्टर रहेछ । मलाई नरमाइलो लाग्छ । आफ्नो बारेमा बताउनुपर्छ नि ? मलाई आफ्नो कहानी कुनै पुरानो फिल्मको कहानीमा अड्किए जस्तो लाग्छ । ऊ नजिक आउँछ । बोल्न खोज्छ । म आँखा बाहिर दौडाउँछु । ऊ फर्कन्छ । मेरो छेउमा बस्ने दुई आइमाई उसँग कुरा गर्छन् । घरतिरको गन्थन् पछि ऊ ड्राइभर सिटतिर जान्छ । ती दुई आइमाई उसको बारेमा कुरा गर्न थाल्छन् । यसले मास्टर्स पास गरेको छ नि । अर्की आइमाई शंका व्यक्त गर्छे । होइन होला । हो भन्या । हाम्रो छोरोको साथी हो । अनि मास्टर्स गरेपछि पनि गाडीमा किन काम गरेको होला त ? त्यो त दैव जानुन् । फेरि एकछिन पछि त्यहीँ आइमाई बोल्छे । दशैँमा गाडीबाट धेरै फाइदा लुट्छन रे । त्यही भएर होला नि । अर्की आइमाई बोल्छे । आजकाल नपढ्ने मान्छे कोही छैनन् । जागिर नपाएर यता काम गर्न आएको हो कि ? 

कारण जे होस, मलाई उसले पढेको कुराले केही राहत मिल्छ । ऊ जता गए पनि नजर मपट्टि घुमाउँछ । म उसले हेर्ने बित्तिकै अर्को पट्टि फर्कन्छु । भाइ भन्छ, त्यो बजियाले तँलाई मन पराए जस्तो छ । जुन बेला पनि यतै हेर्छ त  । के देखेछ तँमा त्यति मरिहत्ते गरेर हेरेको ? म उसलाई हपार्छु । खाजा खान गाडी रोक्छ । भाइ फास्टफुड खान्छु भनी पल्लो खाजा घर जान्छ । म आलुको तरकारी मागाउँछु । ऊ मेरो नजिक आउँछ । तिमीलाई परेवाको कहानी भन्यौ ? म चुपचाप बस्छु । तिमी सुन्छौ भने मात्रै भन्छु । म फेरि केही बोल्दिनँ । ऊ भन्छ– होइन, म तिम्रो र मेरो भोलि बारे भविष्यवाणी गर्छु । 

तिमी घर जानेछ्यौ । फेसबुक खोल्नेछ्यौ । केही बेर घोरिने छ्यौ । परेवा को काहनी सोध्ने कि भनेर । त्यस्तो कन्डक्टर मसँग साथी बन्न खोज्ने ? तिमीलाई रिस उठ्नेछ ।  अनि मलाई ब्लक गर्नेछ्यौ । त्यो परेवाको कहानी अधुरो हुनेछ । तिमीले अर्को नयाँ फेसबुक साथी पाउनेछौ । जो कोरियन हिरो जत्तिकै राम्रो हुनेछ । त्यसपछि मान्छेबाट परेवा बन्न खोजेकोस परेवाबाट मान्छे बन्न खोजेको एक अर्ध मानवको अस्तित्व लोप हुनेछ । मेरा आँखा आँसुले भरिएका रहेछन् । आँसु खसेपछि चाल पाउँछु । भाइ आइपुग्छ । म तरकारी पीरो भएको बहाना गर्छु । भाइ सुप र चिनी बोकेर आउँछ । 

गाडी हिँड्छ । म उसलाई म्यासेज लेख्छु । अब भविष्यवाणी गर्ने मेरो पालो । म घर पुग्नेछु । फेसबुक खोल्नेछु । अनि तिमीलाइ लेख्नेछु– आउँदै गरेको विजया दशमीको शुभकामना । यो दशैँको आशीर्वादले देश भर रोजगार सिर्जना होस् । कोही युवा बेरोजगारका लागि नतड्पिउन । त्यो परेवा मानव बन्न नखोजोस् । परेवाले सधाझैँ शान्तिको सन्देश बोकेर हिँडोस् । 

यो पढ्नुभयो ?

फेसबुकको नयाँ साथी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप