बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कुलमानको कार्यकाल आइतबार सकिने : कति छ पुनर्नियुक्ति हुने सम्भावना ?

अझै तयार भएन प्रस्ताव
शुक्रबार, २६ भदौ २०७७, १४ : ४१
शुक्रबार, २६ भदौ २०७७

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबारसम्म बाँकी छ । ४ वर्षे कार्यकाल सकिनै लाग्दा उनको पुनर्नियुक्तिका सम्बन्धमा प्रस्ताव समेत तयार हुन सकेको छैन ।

उर्जामन्त्रालय स्रोतका अनुसार हिजोसम्म उनको पुनर्नियुक्तिको प्रस्तावमा छलफल समेत भएको छैन । तर, उर्जामन्त्री बर्षमान पुनका प्रेस संयोजक दयानिधि भट्ट भने हिजोदेखि नै प्रस्ताव बनाउन थालिएको र आज साँझसम्म अन्तिम टुंगो लाग्ने बताउँछन् ।  अहिले प्रस्ताव तयार भइरहेकाले र साँझसम्म मुख्यसचिवलाई बुझाउने योजनामा मन्त्रालय रहेको उनको भनाइ छ । उनका अनुसार मन्त्रिपरिषदको बैठकमा लैजानु अघि मुख्यसचिवसमक्ष प्रस्ताव पेश गर्नुपर्ने हुन्छ ।

आज मन्त्रिपरिषदको बैठक बस्ने हल्ला मात्र भएकाले सम्भवतः आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले नेपाल विद्युत प्राधिकरणमा कसलाई नियुक्ति गर्ने भन्ने टुंगो लगाउनेछ । तर उर्जा मन्त्रालय स्रोतका अनुसार उनको पुनर्नियुक्ति हुने सम्भावना ज्यादै न्युन छ, कारण प्रधानमन्त्री केपी ओली उनको पुनर्नियुक्तिको पक्षमा छैनन् ।

उर्जामन्त्री पुनले कुलमानको पुनर्नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा लैजाने अभिव्यक्ति यसअघिनै सार्वजनिक कार्यक्रममा दिँदै आएका छन् । आम जनता कुलमानको पक्षमा उभिएर सरकारलाई दबाब दिइरहेको भएपनि प्रधानमन्त्री ओली नै घिसिङको पुनर्नियुक्तिको पक्षमा नरहेको स्रोत बताउँछ । कुलमानले आफू पुनः नियुक्त हुन मिडियाबाजी गरेकाले उनको नियुक्ति प्रधानमन्त्रीले नचाहेको स्रोतको भनाइ छ । 

प्रधानमन्त्री ओलीले सुशील ज्ञवाली र मन्त्री पुनले  विद्युत विकास विभागका महानिर्देशक नवीनराज सिंहलाई कार्यकारी निर्देशक बनाउन चाहेको स्रोतको भनाइ छ । उर्जामन्त्री पुनले बाहिर कुलमानको नाम लिएर आम जनतालाई चिढ्याउन नचाहेको तर भित्रभित्रै सिंहको नियुक्तिमा चासो दिएको बुझिएको छ ।

लोडसेडिङबाट आक्रान्त जनतालाई लोडसेडिङ अन्त्य गराएर उज्यालो दिएका घिसिङको पक्षमा अहिले आम जनता उभिएका छन् । उनकै नियुक्तिका लागि सरकारलाई दबाब दिन केही समय अघि उनकै नामको फेक अकाउन्टबाट सरकारले घिसिङलाई पुनर्नियुक्ति दिएको गलत सुचना प्रवाह भएको थियो । बधाइको ओइरो आउन थालेपछि आफ्नो नामबाट कसैले अकाउन्ट खोलेर बदमासी गरेको र सरकारले कुनै नियुक्ति नदिएको भन्दै स्पष्टीकरण समेत दिनुपरेको थियो ।

सातौँ तहको इन्जिनियरबाट (२०५१ सालमा) नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त भएका थिए । उनी नियुक्त भएको २ महिनापछि कात्तिकको लक्ष्मीपुजाको दिनदेखि काठमाडौँ उपत्यकाबासीले लोडसेडिङको मार खेप्नु परेको छैन । अरुले लक्ष्मी पूजा मनाइरहँदा उनी स्युचाटारको भारप्रेषण केन्द्रमा लोडसेडिङ हुन नदिन अनवरत खटिरहेका घिसिङले ३१५ मेगावाट सम्मको माग धान्न सफल भएर आम मानिसको मन जितेका थिए  ।

उनी प्राधिकरणबाट बाहिरिए भने आफुहरु फेरी अन्धकारमै बस्नुपर्ने त होइन भन्दै उनको बर्हिगमन नहोस् भन्ने आम मानिसले आशंका व्यक्त गरिरहेका छन् । लोडसेडिबाट तर्सिएका आम नेपाली जनता उनको कार्यकाल थपिएला वा समाप्त होला भन्ने विषयलाई चासोका साथ कुरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप