धरानमा युवतीको रहस्यमय मृत्यु : झुण्डिएको भनेर प्रहरीलाई किन खबर गरियो ?
काठमाडौँ । भदौ २२ मा धरानमा २२ वर्षीया युवतीको रहस्यमय मृत्यु भएको अवस्थामा शव फेला पर्यो । आफ्नै कोठाको पंखामा झुन्डिएको भनी प्रहरीलाई खबर गरेपनि प्रहरी पुग्दा झुन्डिएको अवस्थामा शव भेटिएन ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक (इन्सपेक्टर) हेमराज ओलीका अनुसार युवतीको शव झुण्डिएको अवस्थामा नभेटिएर खाटमा राखिएको अवस्थामा भेटिएको थियो ।
धरान उपमहानगरपालिका–११ की सोनीहाङ लिम्बु आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । यद्यपी लिम्बुको परिवारले उनी आफ्नै कोठाको पंखामा झुण्डिएको भनी प्रहरीलाई खबर गरेका थिए ।
लिम्बुले झुण्डिदा प्रयोग गरेको भनिएको सल मात्रै पंखामा झुन्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । लिम्बु झुन्डिएको देखेपछि उनलाई खाटमा झारेर राखेको परिवारले प्रहरीसमक्ष बयान दिएको इन्सपेक्टर ओलीले जानकारी दिए ।
सोनीले निकै समय ढोका नखोलेको र फोन पनि नउठाएपछि ढोका फुटाएर हेर्दा आफ्नै कोठाको पंखामा झुन्डिएको अवस्थामा भेटिएको परिवारको दावी छ ।
माइती पक्ष आएपछि शव उठाइयो
सोनीले तीन महिनाअघि मात्र भागेर विवाह गरेकी थिइन्। सोनीको श्रीमान सिंगापुरे लाहुरे हुन् । सोनीको माइती घर तेह्रथुम हो । सोनी झुण्डिएको अवस्थामा फेला परेको भनेर सोनीको परिवारले नै माइतमा खबर गरेको थियो ।
सोनीको माइती पक्षलाई घटनाको बारेमा जानकारी गराउँदा माइती पक्ष नआएसम्म शव नउठाउन अनुरोध गरेपछि प्रहरीले सोनीको शव एक दिनसम्म कुर्नुपर्यो । मंगलबार तेह्रथुमबाट माइती पक्ष आएपछि मात्र घटनाको मुचुल्का गरेर शव उठाइएको धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले बताए ।
‘मृतक सोनीको शरीरमा रातो रातो डामहरू देखिन्छ,’ डीएसपी बस्नेतले भने, ‘अन्य चोटपटक भने देखिएको छैन ।’ मृतक सोनीको शव पोष्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।
केटाको परिवारविरुद्ध उजुरी
केटा पक्षले सोनीको हत्या गरेको भन्दै माइती पक्षले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् ।
सोनीको मृत्यु रहस्यमय भएको भन्दै माइती पक्षले जाहेरी दिएको डीएसपी बस्नेतले रातोपाटीलाई जानकारी दिए । घटनाको बारेमा हत्या की आत्महत्या हो भनेर प्रहरीले पनि अनुसन्धान गरिरहेको बस्नेतले बताए ।
विवाह गरेर केटा सिंगापुर फर्किसकेको अवस्थामा परिवारले केटीलाई मानसिक तनाव दिएको र परिवारमा मनमुटाव रहेको माइती पक्षको दाबी छ ।
केटाको परिवारले केटीलाई नस्वीकारेको माइती पक्षको आरोप छ । यस्तो समयमा यस्तो घटना घट्नु रहस्यमय भएको भन्दै माइती पक्षले केटा पक्षलाई पक्राउ गरी अनुसन्धान गर्न माग गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
ईपीएस भाषा पास गरेका साढे ९ हजारले कार्यक्षेत्र परिवर्तन गर्न पाउने
-
अन्तर्राष्ट्रिय क्रिकेटमा इन्डोनेसियाली किशोरीले बनाइन् विश्व कीर्तिमान
-
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर औसत मात्रै हुन्छ : गभर्नर अधिकारी
-
पोखरामा एसिया कप ट्रायथलन हुने, १७ देशका खेलाडी सहभागी हुँदै