शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लेनदेन, अवैध सम्बन्ध र मनमुटाव, अनि आवेगमा हत्या

लकडाउन सुरु भएपछि मात्रै २४३ जनाको हत्या
आइतबार, २१ भदौ २०७७, १६ : ४७
आइतबार, २१ भदौ २०७७

काठमाडौँ । घर–परिवार हरेक मानिसका लागि जीवनको मुख्य सहारा हो । तर कहिलेकाहीँ त्यही घर–परिवारबाट मानिसको जीवन समाप्त पनि हुन्छ ।

जहाँ मानिसले आफूलाई सबैभन्दा बढी सुरक्षित महसुस गर्नुपर्ने हो, त्यहीँ असुरक्षित भएर जीवन गुमाउनुपर्ने अवस्था आउनु भनेको सभ्य समाज निर्माणका लागि मुख्य चुनौती पनि हो ।

पछिल्लो समय घर–परिवारकै सदस्यबाट भएका आपराधिक घटनामा ज्यान गुमाउनेहरुको संख्या बढ्दै गएको छ । सांघातिक आक्रमण तथा हत्याका घटनामा आफ्नै परिवारका सदस्य तथा चिनजानकै व्यक्ति संलग्न रहेको उदाहरण प्रशस्त पाइन्छ ।  

केही प्रतिनिधिमुलक घटना

घटना नम्बर १ : शनिबार साँझ चन्द्रागिरि नगरपालिका–१ झ्याङ्गाझिटीमा ३२ वर्षीय श्री तामाङले आफ्नै बाबुआमालाई चक्कु प्रहार गरे । मापसे गरेर छोराले हानेको चक्कुले ५३ वर्षीय बाबु श्यामकुमार तामाङ र ४८ वर्षीया आमा विष्णु तामाङ घाइते भए ।

 


श्री तामाङलाई प्रहरीले तत्काल नियन्त्रणमा लियो । महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार घाइते दम्पत्ति उपचारपछि घर फर्केका छन् । दम्पत्तिको गर्दन र कानमा गहिरो चोट छ ।

घटनाको कारण खुल्न सकेको छैन । स्थानीयका अनुसार पारिवारिक विवादका कारण श्री तामाङले ‘मार्ने उद्देश्य’ले चक्कु हानेका थिए । 

घटना नम्बर २ : धादिङको निलकण्ठ नगरपालिकास्थित खल्चेतमा १८ भदौमा अनौठो घटना भयो । ६४ वर्षीय सोमबहादुर गुरुङको हत्या गरेर २६ वर्षीय राजु परियार जिल्ला प्रहरी कार्यालय पुगे । हत्यापछि उनले सोमबहादुरको टाउको समेत झोलामा हाले, अनि मध्यरात पैदल हिँडेर प्रहरी कार्यालय गए । उनले प्रहरीलाई भने, ‘मैले हत्या गरेँ, मलाई कारबाही गर्नुस् ।’

 


उनी अहिले धादिङ प्रहरीको हिरासतमा छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सोमबहादुरको हत्या ‘आवेग’का कारण भएको खुलेको छ । ‘सोमबहादुरले राजुको श्रीमतीको नाम जोडेर अश्लील कुरा गरेपछि हत्या गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले रातोपाटीसँग भने ।

घटना नम्बर ३ : १७ भदौमा झापाको शिवसताक्षी नगरपालिका–१९ का गोमन सिंह मगरको हत्या भयो । घाँटी काटिएको अवस्थामा शव भेटिएपछि अनुसन्धान गर्दा गोमनको हत्या आफ्नै साथीले गरेको खुल्यो । 

 


‘साथी मनकुमार लिम्बुले मोटरसाइकल हाँकिरहेको बेला पछाडिबाट छुरा हानेर गोमनको हत्या गरेको बताउँछन्,’ झापाका प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइराला । 

आर्थिक लेनदेनको विवाद चुलिँदै जाँदा त्यसले हत्याको रुप लिएको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाइ छ ।

घटना नम्बर ४ : खोटाङको जन्तेडाँडा गाउँपालिका–४ डम्बर्खुका ७६ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी बहिनी ६२ वर्षीया गोपीमाया श्रेष्ठको हत्या भयो । १९ भदौमा हत्या गरिएका उनीहरु दाजु–बहिनी हुन् ।

 


स्थानीयले शव देखेर प्रहरीलाई खबर गरे, उनीहरुको हत्याको कारण खुल्न सकेको छैन । तर, उनीहरुसँग बहुमूल्य धातु रहेको र त्यही लुट्नका लागि हत्या गरिएको हुनसक्ने आशंका गरिएको छ । 

घटनास्थल सदरमुकामदेखि ३० कोष टाढा पर्छ । हत्याबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी नारायणप्रसाद चिमोरियाले रातोपाटीलाई बताए ।

घटना नम्बर ५ : काभ्रेको नमोबुद्ध नगरपालिका–८ दाप्चाबजारमा ३५ वर्षीया रन्जना तिमल्सिना अधिकारीको हत्या भयो । १८ भदौमा उनको हत्या आरोपमा प्रहरीले जेठाजु सुदर्शन अधिकारीलाई नियन्त्रणमा लियो । 

 


आँगनमा भाडा माझिरहेको बेला सुदर्शन अधिकारीले रञ्जनालाई पछाडिबाट बन्चरोले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रवि पौडेलले बताए । 

बन्चरो प्रहारबाट रन्जनाको घटनास्थलमै मृत्यु भएको थियो । घरायसी झै–झगडाको कारण रन्जनाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

घटना नम्बर ६ : भैंसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसी एकाएक बेपत्ता भइन् । परिवारले खोजतलास गरिपाउँ भन्दै प्रहरीलाई निवेदन दिए । अन्ततः केसीको शव शुक्रबार साँझ ललितपुरको गोदावरी नगरपालिका–१० मुलडोलस्थित लेलेको जंगलमा भेटियो । 

 


उनको घाँटी थिचेर हत्या भएको आशंका गरिएको छ । यद्यपि पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । हत्या आरोपमा प्रहरीले केसीको भतिजा निर्मल केसीलाई पक्राउ गरेको छ । निर्मलले हत्या स्वीकारेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले रातोपाटीलाई बताए । 

उनीहरु तीन वर्षदेखि अफेयरमा थिए । निर्मलले हरेक कुरामा गीतालाई सहयोग गर्थे । मृतक केसीले निर्मललाई पैसा राख्न दिएकी थिइन् ।  

‘राख्न दिएको पैसा मागेपछि विवाद भएको र विवादकै क्रममा हत्या भएको हुनसक्छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने । आर्थिक विवादमै केसीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । 

घटना नम्बर ७ : २५ साउनमा गोंगबुस्थित गणेशस्थानमा सुटकेशमा बन्द गरेको अवस्थामा दाङका कृष्णबहादुर बोहोराको शव भेटियो । बोहोराको शरीर र टाउको तथा खुट्टा अलग–अलग ठाउँमा फेला परेको थियो । 

२६ साउनमा बोहोराको हत्यामा संलग्न रहेको आरोपमा चितवनबाट कल्पना पौडेल मुडभरी पक्राउ परिन् । कल्पनाको छोरीलाई पनि प्रहरीले नियन्त्रणमा लियो ।

 


कल्पनाले आफूलाई बारम्बार टर्चर दिइरहने र छोरीलाई समेत गिद्दे नजरले हेर्न थालेपछि बोहोराको हत्या गरेको बयान दिइन् । हत्या आरोपी कल्पना र उनकी छोरी मुद्दा पुर्पक्षका लागि थुनामा छन् । 

काठमाडौँ जिल्ला अदालतका न्यायधीश विनोदकुमार पोखरेलको इजलासले भदौ १८ मा कल्पनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उनकी १५ वर्षीया छोरीलाई भक्तपुरस्थित बाल सुधार गृहमा थुनामा राखिएको छ । 

कल्पना र बोहोराको चार बर्षअघि चिनजान भएको थियो । कोठामा गएका बेला छोरीमाथि गिद्दे नजरले हेरेको सहन नसकेपछि कल्पनाले आवेगमा कृष्णबहादुरको हत्या गरेकी थिइन् ।

०००००००

माथिका घटना प्रतिनिधिमुलक मात्र हुन् । केही महिना यता मुलुकका विभिन्न स्थानबाट हिंसाका यस्तै घटना बाहिरिएका छन् । यी प्रतिनिधिमुलक घटनाको विश्लेषण गर्ने हो भने सामान्य मनमुटाव, आर्थिक लेनदेन र अवैध

सम्बन्धको विवादजस्ता घटना हत्यामा पुगेर अन्त्य हुने गरेको छ । हत्यामा आफन्त तथा चिनजानका व्यक्तिहरुकै संलग्नता पाइन्छ ।

घर–परिवार र समाजमा आपराधिक प्रवृत्ति बढ्न थालेको बुझ्नका लागि यी घटनाहरु बलिया उदाहरण हुन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञा बढ्दै जाँदा हत्याका घटनामा पनि बढोत्तरी हुन थालेको छ ।

लकडाउन तथा निषेधाज्ञाका कारण आयआर्जनका अवसरहरु गुम्दै गएका कारण मानिसमा आक्रोस र आवेग बढ्न थालेको त होइन भन्नेबारे अनुसन्धानको खाँचो रहेको विज्ञहरु बताउँछन् ।

मनोविद् वासु आचार्य सामाजिक परिवेश र आर्थिक अभावले आपराधिक घटनामा वृद्धि हुन पुगेको बताउँछन् । आफन्तबाटै हत्या हुनुमा भने समाज, मदिरा, मस्तिष्क र जिद्दीपन कारकका रुपमा रहेको उनको भनाइ छ ।

मनोविद् वासु आचार्य

‘समाज विस्तारै क्रुर हुँदै गएको छ,’ मनोविद् आचार्यले रातोपाटीसँग भने । यस्ता घटना रोक्न सरोकारवाला निकायका एक/दुईजना मात्रै नभई गाउँ–समुदाय नै लाग्नुपर्ने उनको भनाइ छ । ‘जब मान्छेसँग विकल्प हुँदैन, तब ऊ खतरनाक अपराधी बन्ने सम्भावना रहन्छ,’ उनले भने ।

नेपाल प्रहरीका पूर्वडीआईजी पीताम्बर अधिकारी भने आक्रोशले मात्र नभई बदला र प्रतिशोधको भावले पनि हत्याका घटना बढ्दै गएको बताउँछन् । 

नजिकका मानिस वा आफन्तले रिस उठाएको अवस्थामा प्रतिशोधको भावना बढ्ने उनको भनाइ छ । ‘टाढाकाले रिस उठाए भने वास्ता गरिन्न,’ उनले भने, ‘तर आफन्तले रिस उठाए भने बदलाको भावना लिने अवस्था हुन्छ, दैनिक जीवनमा उसकै सामना गरिरहनु पर्ने भएकाले पनि मानिसले आफन्तबाट उत्पन्न रिसलाई प्रतिशोधको रुपमा लिने गरेको हुन्छ ।’

यो परिस्थितिमा नै आफ्नैले आफ्नैलाई हत्या, बलात्कार गर्ने र आफन्तबाटै आपराधिक घटना हुने क्रम बढ्दै गएको पूर्वडीआईजी अधिकारी बताउँछन् । यस्ता घटनालाई विचलित समाजको उदाहरणका रुपमा लिन सकिने उनको भनाइ छ ।

‘आफन्तबाटै आक्रमण तथा हत्याका हुनु विचलित समाजको उदाहरण हो,’ अधिकारीले भने, ‘कतिपय घटना यौन तथा मनोरोगका कारण पनि भएको पाइएको छ ।’

गोंगबु हत्याकाण्ड र गीता केसी हत्या प्रकरण यौन मनोरोगको उपज भएको उनले बताए । केही घटनालाई दण्डहिनताको उपजका रुपमा पनि लिन सकिने उनको भनाइ छ ।

पूर्वडीआईजी पीताम्बर अधिकारी

‘अपराध सामान्य हो, जस्तो अपराध गरे पनि उन्मुक्ति पाइन्छ भन्ने गलत सोच मौलाएको कारण पनि हत्याको दर बढेको देखिन्छ,’ उनले भने, ‘यो प्रवृत्ति र यस्तो सोच अन्त्य गर्नका लागि दण्डहिनताले कुनै पनि बहानामा प्रश्रय पाउनु हुँदैन ।’

हामीकहाँ मनोवैज्ञानिक परामर्श र सचेतनामूलक कार्यक्रमको आवश्यक रहेको अधिकारी बताउँछन् । सजायले मात्र हत्या रोक्न र व्यक्तिलाई सुधार्न सम्भव नहुने उनको जिकिर छ । ‘आवेग र आक्रोश देखिए पनि खासमा मानसिक समस्याकै परिणाम हुन् बर्बर हत्या,’ उनले भने ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापा पनि सामान्य विवादमा उत्पन्न रिस र आवेगलाई नियन्त्रण गर्न नसक्दा हत्याका घटना बढेको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै थापाले भने, ‘यस्ता घटनामा आफन्त तथा चिनजानका व्यक्तिहरुकै संलग्नता पाइएको छ ।’

कुनै पनि घटनाप्रति बदलाभाव नभई माफी दिने अभ्यासमा समाज लाग्नुपर्ने एसएसपी थापा बताउँछन् । प्रेममा धोकाले पनि हत्या हुने गरेको छ । व्यक्तिगत सम्बन्धमा आर्थिक लेनदेनको कुरा हुन्छ र पछि आर्थिक लेनदेनको कुरा नमिल्दा हत्या हुने गरेको पाइएको छ ।

एसएसपी दीपक थापा

पाँच महिनामा २४३ हत्या
लकडाउन शुरु भएपछि (०७६ चैतदेखि साउनसम्म) २४३ वटा कर्तव्य ज्यानसम्बन्धी मुद्दा प्रहरी कार्यालयमा दर्ता भएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार सबैभन्दा धेरै जेठ र साउनमा हत्या भएका छन् । दुवै महिनामा ५७/५७ वटा हत्याका घटना भएका छन् । 

चैतमा ४१, वैशाखमा ४५, असारमा ४३ वटा हत्या भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ५ सय ५५ हत्या भएका छन् । 

अधिकांश हत्या आफन्त र चिनजानका मान्छेबाट भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप