शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

तराई–मधेसको चुनावी प्रचारको अन्तिम दिन : चुनावी दाउपेचमा को अगाडि को पछाडि ?

शुक्रबार, ३० भदौ २०७४, ११ : १३
शुक्रबार, ३० भदौ २०७४

एसके यादव

सिरहा– असोज २ गते दुई नम्बर प्रदेशको आठवटा जिल्लामा १३६ तहमा मतदान हुँदैछ । उम्मेदवार मत तान्नका लागि अन्तिम प्रयासमा लागेका छन् । आज रातिसम्म मात्र प्रचार प्रसार गर्न पाइने र त्यसपछि शून्य समय सुरु हुने भएकाले उम्मेदवारले प्रचार प्रसारको अन्तिम दौडधुपमा छन् ।
 
यतिखेर प्रमुख दलका शीर्षस्थ नेताहरू सबै दुई नम्बर प्रदेशकै जिल्लामा डुलिरहेका छन् । काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भदौ २७ गते मधेस झरेपछि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट हुँदै पर्सा पुगेका छन् । आज उनको कार्यक्रम पर्सा र बारामा हुनेछ ।
 
चुनाव प्रचारमा यति व्यस्त भए कि उनी आफ्नो सय दिनको उपलब्धि सुनाउने कार्यक्रममा पनि सहभागी हुन सकेनन् ।
 
त्यस्तै, दुई नम्बर प्रदेशको चुनावको मिति घोषणा भएसँगै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पछिल्लो २० दिन चुनावलाई लक्षित गरी अधिकांश समय मधेसमै विताएका छन् । चुनाव प्रचारकै लागि उनी चौथो पटक जिल्ला भ्रमण गरे । चौथो पटक भदौ २७ गते मधेस झरेका प्रचण्ड सप्तरी, सिरहा, धनुषा हुँदै आज महोत्तरीको विभिन्न कार्यक्रममा सहभागी हुने जनाइएको छ ।


 
त्यस्तै, एमालेका अध्यक्ष केपी शर्मा ओली पनि आज बारा र महोत्तरीको विभिन्न चुनावीसभामा सहभागि हुनेछन् ।
 
राजपा नेपालका नेताहरू पनि मधेसकै विभिन्न जिल्लामा चुनावीसभामा भाग लिँदै मतादातालाई आफ्नो तर्फ तान्ने प्रयास गरिरहेका छन् । तराई मधेसको चुनाव भएका हुनाले सबैले मधेसी जनताको मनोविज्ञान बुझेर त्यही एजेन्डाका आधारमा मत तान्ने प्रयास गरिरहेका छन् ।
 
काङ्ग्रेसले मधेसी जनताको चाहनाअनुसार संसदमा पेस भएको संविधान संशोधन विधेयक पारित गराउन प्रयास गरेको तर एमाले र राप्रपा असफल बनाएको आरोप लगाउँदै जनताको मन जित्ने प्रयास गरिरहेको छ । नेपाली काङ्ग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले आफ्नो हरेक मन्तव्यमा एउटा कुरा छुट्टाउँदैनन् त्यो हो बाढी । उनले आफ्नो हरेक मन्तव्यमा ‘अब मधेसी जनताले बाढीबाट पीडित हुनु पर्दैनन् । मैले भारतसँग कुरा गरेर त्यसको समाधान निकाल्छु ।’ भन्ने धारणा राखेका छन् । बाढीबाट पीडित जनताको मत तान्न काङ्ग्रेसको यस्तो रणनीति भएको हुनुपर्छ ।
 
त्यस्तै, एमालेले आफ्नो नेतृत्वको सरकारले मधेसमा नै सबभन्दा बढी बजेट दिएको प्रचार गरेको छ । सदरमुकाम निर्माणदेखि नमुना सहर बनाउने, वृद्धा पेन्सनको रकममा वृद्धि गरेको लगायतका कुरा राखेर मधेसी मतदाताको मन जित्ने प्रयास गरेको छ । राजमार्गको छेउछाउमा राष्ट्रियताको कुरामा विशेष जोड दिएर पहाडीको मत तान्न प्रयास गरिरहेको छन ्।
 
माओवादी केन्द्रले पनि आफ्नो नेतृत्वको सरकारले गरेको कामको फेहरिस्त नै सुनाउने गरेको पाइएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो नेतृत्वको सरकारले मधेसी जनताको चाहनाअनुसार संविधान संशोधनको विधेयक संसदमा प्रस्तुत गरेको र त्यसलाई पास गराउने प्रयास गर्दा गर्दै पनि एमाले र राप्रपाले साथ नदिएको बताइरहेका छन् । उनले पहाड र मधेस जोडेर सबल राष्ट्रियता बनाउन आफ्ना पार्टीमात्र समक्ष रहेको बताएका छन् । उनले मधेसी जनताको सच्चा हित माओवादीबाहेक अन्य पार्टीबाट सम्भव नभएको बताएका छन् । बाढीपीडितलाई पनि उनले आफ्नो पार्टीसँग जोड्न खोजेका छन् ।
 
काङ्ग्रेस, माओवादी केन्द्र र एमालेले मधेसको मुक्तिदाता तथा असली पार्टी भएको प्रमाणहरू मधेसमा पेस गरिरहेका छन् । तर, अर्कोतिर मधेसवादी दल जो त्यहीँबाट जन्मेको हुन्, उनीहरुले आफू नै यहाँको धर्तीपुत्र रहेको दाबी गर्दै मधेसी जनताको मत तान्ने प्रयास गरिरहेका छन् ।
 

महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी नेपाल, उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल र विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम नेपाल छुट्टा–छुट्टै दुई नम्बर प्रदेशमा भिडन्त गरिरहेका छन् । उनीहरूले पनि मधेसी जनताको मत तान्नका लागि आफू नै मधेसको असली पार्टी भनी दाबी गरिरहेका छन् ।
 
काङ्ग्रेस र माओवादी केन्द्रले मधेसले अधिकार पाउन नसक्नुमा एमाले र राप्रपालाई जसरी दोषी देखाइरहेका छन् । त्यसरी नै एमालेले काङ्ग्रेस, माओवादी केन्द्र र राजपालाई दोषी देखाइरहेका छन् । यता राजपा नेपालले मधेसीले हालसम्म अधिकार नपाउनुमा काङ्ग्रेस, एमाले र माओवादी केन्द्र दोषी रहेको कुरा मधेसी जनतलाई सुनाइरहेका छन् ।
 
यसरी एकअर्काको उछितो काट्दै ठूला नेताहरू नै जनतासँग मत मागिरहेका छन् । मधेसमा एक नम्बरको पार्टी हुनका लागि यी तीन दलले साम, दाम, दण्ड, भेद सबै लगाइसकेका छन् ।
 
हामी आजसम्ममा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहासम्म घुम्यौँ । चुनावसँग सम्बन्धित विभिन्न दलका नेता, आममतदाता, नागरिक, समाज, बुद्धिजीवी, पत्रकारलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा भेट्यौँ । सबैलाई चुनावी मुडमा नै पाऔँ । चुनावअघिको जस्तो दलहरूलाई गाली गरेको पाइएन । विगतमा एक दलका नेता तथा शुभचिन्तकले अर्कोलाई गाली गर्थे । तर अघिपछिको जस्तो यी दलहरूले केही गर्दिएन, रेडमेट गुनासो यो चुनावी अभियानको समयमा कतै सुनिएन । सबैले आआफ्नो पार्टीलाई बचाउ गर्दै अर्को पार्टीलाई विरोध गरेको पाइएको छ ।
 
मधेसमा मुख्य प्रतिस्पर्धा काङ्ग्रेस, एमाले, माओवादी केन्द्र र मधेसवादी दलको बीचमा नै देखिएका छ । प्रमुख तीन दलले एकअर्कालाई नै प्रतिस्पर्धा मानेको छ । काङ्ग्रेसले मधेसमा मुख्य प्रतिस्पर्धा एमालेलाई मानेको छ ।
 
नेपाली काङ्ग्रेसका नेता विमलेन्द्र निधिले आफ्नो दलको प्रतिस्पर्धा मधेसवादी दलसँग नभई एमालेसँग रहेको बताए । ‘मधेसवादी दल मधेसमा राजनीतिक गरे पनि उनीहरूको सङ्गठन बन्न सकेको छैन । उनीहरूले भीड मात्र देखिएको छ  । सङ्गठित मत छैन । तर, एमाले पार्टीको सङ्गठन तलसम्म छ । एकदमै सङ्गठित छ’ उनले भने । त्यस्तै, आँकलन सोही पार्टीका नेता प्रदीप गिरीको पनि रहेको छ ।
 
चुनावीसभामा जनकपुर आएका प्रदीप गिरीले जनकपुर उपमहानगरपालिकामा राजपा नेपालसँग टक्कर रहे पनि अन्य ठाउँमा त्यस्तो अवस्था नरहेको बताए । एमालेसँग नै प्रतिस्पर्धा रहेको उनले सुनाए । त्यसैले होला काङ्ग्रेसका नेताहरूले जहाँ आफ्नो मन्तव्य दिन्छन्, एमालेको जमेर विरोध गर्छन् । ‘एमालेलाई मधेसबाट भगाउनुपर्छ’ भन्नेसम्मको अभिव्यक्ति दिन्छन् । यसबाट पनि स्पष्ट हुन्छ कि काङ्ग्रेसलाई एमालेको डर छ ।
 
तर, एमालेको हकमा यहाँ उल्टो छ । काङ्ग्रेसले एमालेलाई मुख्य प्रतिस्पर्धी माने पनि एमालेले काङ्ग्रेसलाई होइन, मुख्य प्रतिस्पर्धा माओवादी केन्द्र र मधेसवादी दललाई मानेको छ । मधेसमा एमालेको आलोचना र विरोधका कारण एमालेको मत मधेसवादी दल र माओवादी केन्द्रमा जाने खतरा रहेको छ । त्यसैले एमाले मुख्य प्रतिस्पर्धी माओवादी केन्द्र र मधेसवादी दललाई नै मानेको छ ।


 
राजमार्ग छेउछाउमा काङ्ग्रेसभन्दा एमाले र माओवादी केन्द्रको सङ्गठन राम्रो छ भने राजमार्गभन्दा तल काङ्ग्रेस र मधेसवादी दलको सङ्गठन राम्रो छ । एमालेलाई राजमार्गमा माओवादीसँग प्रतिस्पर्धा गर्नुपरेको छ भने तल मधेसवादी दलसँग प्रतिस्पर्धा गर्नुपरेको छ । यद्यपि मधेसमा पनि एमाले एक नम्बरकै पार्टी हुने दाबी महासचिव ईश्वर पोखरेलको रहेको छ । उनले आफ्नो दलको प्रतिस्पर्धा ठूला दलसँग मात्र रहेको दाबी गरे । महोत्तरीमा रहेका उनी भन्छन्, ‘मधेसवादी दल छिनभिन्न भइसकेका हुनाले उनीहरूसँग एमालेको कुनै प्रतिस्पर्धा छैन, मधेसी जनताले मधेसवादी दलको रियालिटी पनि थाह पाइसकेकाले मधेसवादी दलको अवस्था त्यति राम्रो छैन ।’
 
माओवादी केन्द्रले आफ्नो मुख्य प्रतिस्पर्धा काङ्ग्रेसलाई ठानेको छ । राजमार्गमा एमालेसँग प्रतिस्पर्धा रहे पनि त्यो दलजतिको सङ्गठन माओवादी केन्द्रको छैन । तर, पछिल्लो समय राजमार्गभन्दा तल माओवादी केन्द्रले जसरी सङ्गठन निर्माण गरेको छ, त्यसलाई टिकाइ राख्नु उसको लागि चुनौती बनेको छ । राजमार्गभन्दा तल काङ्ग्रेसको राम्रो सङ्गठन छ र उसले त्यहाँ तीव्र गतिविधि गरिरहेको हुनाले माओवादी केन्द्रलाई काङ्ग्रेससँग नै चुनौती रहेको छ ।
 
त्यसैले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावीसभामा सम्बोधन गर्दा एमाले जतिकै आलोचना काङ्ग्रेसलाई पनि गरिरहेको छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भदौ २५ गते रातोपाटीसँग कुरा गर्दै भने– ‘काङ्ग्रेस पार्टी अराजकहरूको भीड हो ।’ उनले थ्रेट दिँदै भने– ‘काङ्ग्रेस सुध्रेन भने उसलाई धेरै ठूलो घाटा लाग्न सक्छ ।’ यसैबाट प्रष्ट हुन्छ कि एउटै गठबन्धनमा भए पनि यी दलको बीचमा मधेसमा तीव्र प्रतिस्पर्धा छ ।
 
मधेसवादी दलबीचमै पनि प्रतिस्पर्धा रहेको छ । पछिल्लोसमय छवटा दल मिलाएर गठन गरेको राजपा नेपालले मधेसमा लिड गर्ने आँकलन गरिएको थियो । त्यो अवस्था अब छैन । टिकट वितरणको समस्याले गर्दा राजपा नेपाल छिन्नभिन्न भएको छ । ठूला ठूला नेताहरू पार्टी छाडेर अन्य दलहरूलाई सघाउने मात्र होइन, कतिपयले टिकट लिएर नै चुनावको मैदानमा ओर्लेका छन् ।
 
यसले गर्दा राजपा नेपाल, फोरम नेपाल र लोकतान्त्रिक फोरमबीच प्रतिस्पर्धा देखिएको छ । यसअघि दुई चरणमा भएको चुनावमा राजपा नेपालले भाग लिएका थिएन । फोरम नेपाल र लोकतान्त्रिक फोरमले भाग लिएको थियो, त्यसमा फोरम नेपाल अगाडि रहेको छ ।
 
दुई नम्बर प्रदेशका १३६ स्थानीय तहमा चुनाव हुँदैछ । जसमा एक महानगरपालिका, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकामा हुने चुनावमा चौतर्फी भीडन्त हुँदैछ । दुई नम्बर प्रदेशका २६ लाख ६४ हजार ९ सय ५० मतदाताले ६६२७ प्रतिनिधि निर्वाचित गर्नेछ । 

मतदानस्थल २१६६ र मतदान केन्द्र ३५७८ छन् भने चुनाव गराउन ३१ हजार पाँच सय कर्मचारी खटिएका छन् ।

जिल्लागत रूपमा सप्तरीमा १८ स्थानीय तह, १६४ वडा, २९५ मतदानस्थल, ४६२ मतदान केन्द्र र तीन लाख ३१ हजार ६ सय ७९ मतदाता रहेका छन् । सिरहामा १७ स्थानीय तह, १६४ वडा, २२१ मतदानस्थल, ४३१ मतदान केन्द्र र तीन लाख ३२ हजार ८ सय ९५ मतदाता छन् ।

धनुषामा १८ स्थानीय तह, १६९ वडा, ३२७ मतदानस्थल, ५३२ मतदान केन्द्र र तीन लाख ८९ हजार ३ सय ९१ मतदाता छन् ।
 
महोत्तरीमा १५ स्थानीय तह, १३८ वडा, २५८ मतदानस्थल, ४१५ मतदान केन्द्र र तीन लाख ८ हजार ४ सय ९ मतदाता छन् । सर्लाहीमा २० स्थानीय तह, २ सय वडा, ३१८ मतदानस्थल, ५०१ मतदान केन्द्र र ३ लाख ६६ हजार ६०० सय मतदाता छन् ।

रौतहटमा १८ स्थानीय तह, १५७ वडा, २७७ मतदान स्थल, ४३४ मतदान केन्द्र र ३ लाख २१ हजार १८ मतदाता छन् । बारामा १६ स्थानीय तह, १६७ वडा, ३०३ मतदान स्थल, ४५८ मतदान केन्द्र र तीन लाख ३४ हजार सात सय ४६ मतदाता छन् । पर्सामा १४ स्थानीय तह, ११२ वडा, १६७ मतदान स्थल, ३४४ मतदान केन्द्र र २ लाख ८० हजार २१२ मतदाता छन् ।

वैशाख ३१ गते पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा चुनाव भएको थियो । असार १४ गते दोस्रो चरणमा १, ५ र ७ प्रदेशका ३३४ स्थानीय तहमा निर्वाचन भएको थियो ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप