बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचार प्रसारको अन्तिम दिन : सबै शीर्ष नेतालाई भ्याइनभ्याई

शुक्रबार, ३० भदौ २०७४, ११ : ०३
शुक्रबार, ३० भदौ २०७४

काठमाडौं– स्थानीय तह तेस्रो चरणको निर्वाचनको चुनावी प्रचारप्रसारका लागि आज अन्तिम दिन सवैजसो राजनीतिक दल र तिनका नेताहरु २ नम्बर प्रदेशका चुनावी सभामा सहभागि भएर आफ्नो पक्षमा मतदान गर्न मतदातालाई आव्हान गर्दैछन् । त्यसका लागि प्रमुख राजनीतिक दलका शीर्ष नेता लगायत अन्य नेताहरु २ नम्बर प्रदेश केन्द्रीत चुनावी कार्यक्रममा आज दिनभर व्यस्त बन्ने भएका छन् । 

कुन नेताले कहाँ सम्बोधन गर्ने ?
नेपाली कंग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका अध्यक्ष केपी ओलीले, राजपा नेपालका अध्यक्ष मण्डलका नेताहरु फोरम नेपाल तथा लोकतान्त्रिक फोरम नेपालका नेताहरुले मधेसका विभिन्न स्थानमा हुने चुनावी सभालाई शुक्रबार सम्बोधन गर्ने कार्यक्रम तय गरेका छन्  ।

आज कांग्रेस सभापति देउवाले प्रदेश नम्बर २ अन्तर्गतको एकमात्र महानगर वीरगञ्जमा अपरान्ह २ बजे हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । त्यसअघि देउवाले आजै बाराको कलैया नगरपालिकामा हुने अर्को चुनावी सभालाई दिउँसो १ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कंग्रेस कार्यलयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिएका छन् । उता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्लाहीको लालबन्दी र वीरगञ्जमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको स्थानीय माओवादी केन्द्रका नेताहरुले बताएका छन् । त्यसैगरी एमाले अध्यक्ष केपी ओलीले बाराको सिमरा–जितपुर उपमहानगर र महोत्तरीको बर्दिबासमा हुने सभालाई सम्बोधन गर्ने एमाले प्रचरविभाग उपप्रमुख सुर्य थापाले जनाएका छन् । 

एमालेका अर्का नेता माधव नेपाल, झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल लगायतका नेतापनि लामो समयदेखि मधेसमा सक्रिय छन् । उनीहरु पनि आज तराईका विभिन्न जिल्लामा हुने कार्यक्रममा सहभागि बन्दैछन् । एमाले अध्यक्ष ओली भने तेस्रो चरणको निर्वाचन प्रचारप्रसारको अन्तिम दिन मात्र मधेस झर्ने भएका हुन् । उनि आज त्यसतर्फ लाग्नेछन् । 

चुनावी प्रचारप्रसारको अन्तिम दिन दिन मधेश केन्द्रित दलका नेताले पनि विभिन्न स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । राष्ट्रिय जनता पार्टीका शिर्षस्थ नेताले सर्लाही, जनकपुर सप्तरी लगायतका २ नम्बर प्रदेशका ८ जिल्लामा हुने सभाको तयारीमा लागेका छन् । मधेसकै अर्को पार्टी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव पनि आज सिरहाका विभिन्न स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सो पार्टीका नेताहरुले बताएका छन् । लोकतान्त्रिक फोरमका अध्यक्ष विजय कुमार गच्छदार सिरहा, धनुषा र सर्लाहीका चुनावी सभामा सहभागि हुने छन् । 

मौनवधिअघिको सक्रियता
आजै राति १२ बजेबाट निर्वाचनको मौनवधि सुरु हुने भएकाले राजनीतिक दलहरुले आजै सवै जिल्लाका चुनावी कार्यक्रम भ्याउन लागेका हुन् । २ नम्बर प्रदेशलाई प्रमुख दलहरुले प्रतिष्ठाको विषय बनाएकाले पनि सो प्रदेशमा दलहरुको सक्रियता धेरै बढेको छ । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर २ का आठ जिल्लामा चुनाव हुदैछ । 

प्रमुख आयुक्त यादव पनि मधेसमै
निर्वाचनका लागि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव पनि भदौ ३० आजैबाट मधेस झर्नेभएका छन् । उनले आठवटै जिल्लाको भ्रमण गर्ने कार्यैक्रम रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताएका छन् । प्मुख आयुक्त यादव असोज २ मा मात्र काठमाडौ फर्कनेछन् । त्यसक्रममा डा. यादवले मुख्य निर्वाचनअधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकायसँग छलफल गर्नेछन् । 

पहिलो बन्ने सबैको दावी
२ नम्बरमा प्रमुख दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्रले आफ्नो पार्टी नै पहिलो पार्टी बन्ने दावी गरिरहेका छन् । सो क्षेत्रमा कांग्रेसले १०० स्थानीय तह, एमालेले ७१, माओवादी केन्द्रले ४७ स्थानीय तह जित्ने दावी गर्दै आएका छन् । त्यस्तै राजपा ६०, फोरम ५० राप्रपा २४, राप्रपा प्रजातान्त्रिकले २२ स्थानीय तह जित्ने बताउदै आएका छन् ।

६,६२७ प्रतिनिधि छानिने
२ नम्बर प्रदेशमा असोज २ मा हुने चुनावमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा नेतृत्वका लागि मतदान हुँदैछ । ती सबै तहबाट गरी ६ हजार ६ सय २७ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । 

पहिलो चरणमा वैशाख ३१ मा प्रदेश ३, ४ र ६ का २ सय ८३ स्थानीय तहमा १३ हजार ५ सय ५६ र दोस्रो चरण असार १४ गते प्रदेश १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा १५ हजार ३८ जनप्रतिनिधि चयन भैसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप