शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको १०० दिन : निर्धारित समयमा चुनाव गराउनु महत्वपूर्ण उपलब्धि

बिहीबार, २९ भदौ २०७४, १८ : २६
बिहीबार, २९ भदौ २०७४

काठमाडौँ । सरकारको सय दिनको मुख्य उपलब्धी निर्वाचनको विरोधमा रहेको राजपालाई निर्वाचनमा सहभागी गराउनु रहेको सरकारका मन्त्रीहरुले बताएका छन् । 

गत जेठ २४ गते गठन भएको प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको सय दिन पुगेको उपलक्ष्यमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै सरकारका मन्त्रीहरुले २ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन गर्नु र प्रदेशसभा तथा संसदीय चुनाव घोषणा गर्नुलाई   सरकारको मुख्य उपलब्धीको रुपमा लिएका छन् । 

प्रधानमन्त्री देउवा अनुपस्थित रहेको पत्रकार भेटघाट कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले सय दिन अवधीमा सरकारले गरेको प्रगतिको समिक्षा गरेका थिए । निर्धारित समयमा सबै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारीका साथ अघि बढेको सरकारले प्राथमिकताका आधारमा काम थालेको संचारमन्त्री बस्नेतले बताए । 

उनले भने–‘असार १४ स्थानीय तह दोश्रो चरणको निर्वाचन निस्पक्ष र भयरहित ढंगले सम्पन्न भएको छ । संविधान संसोधन बिधेयक संसदमा दर्ता गर्दै मधेसी समुदायको भावनाको प्रतिनिधित्व गर्दै असोज २ गते तेश्रो तहको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।’   

यस्तै संघीय प्रतिनिधी सधा र प्रदेश सभाको निर्वाचन मंरि १० र २१ गते गर्न तयारी र आवश्यक ब्यवस्थापन भइरहेको उनको भनाई छ । यस्तै संघ र प्रदेशको चुनाव गराउनका लागि कमलनारायाण दासको अध्यक्षतामा निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी संघको १ सय ६५ र प्रदेशको ३ सय ३० निर्वाचन क्षेत्र निर्धारण गर्नु महत्वपूर्ण उपलब्धी भएको सरकारको ठहर छ । 

यस्तै निर्वाचनसम्बन्धी कानुनको संघीय प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागि ऐनहरु जारी भएको, प्रतिनिधी सभा निर्वाचन सम्बन्धी ऐन २०७४, प्रदेश सभा निर्वाचन सम्बन्धी ब्यवस्था गर्न बनेको ऐन २०७४, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ब्यवस्था गर्न बनेको ऐन २०७४, राष्ट्रिय सभा निर्वाचन ब्यवस्था गर्न बनेको ऐन २०७४ सरकारले निर्माण गरेको प्रवक्ता बस्नेतले बताए । 

यस्तै गत साउनदेखि देशका विभिन्न भागमा गएको बाढी पहिरोबाट प्रभावितहरुलाई राहत वितरण तथा उद्धार गरेर सहज जनजीवनमा फर्काएको कुरालाई सरकारले अर्को उपलब्धी मानेको छ । तराई मधेशमा बाढी र पहाडमा पहिरोबाट ज्यान गुमाएका परिवारलाई २ लाख र घाइतेको निःशुल्क उपचार गरेको सरकारको भनाई छ ।  

सय दिनमा राजनीतिक दलहरुबिच छलफल भई सहमतिको बाताबरण बनेको, निर्धारित समयमा चुनाव हुने भएको, जनताका लागि सेवा प्रवाहमा सुधार आएको, आर्थिक बृद्धिदर बढेको,  छिमेकी देशहरुसँग कुटनीतिक सम्बन्ध सुधार भएको, संविधान कार्यान्वयनका लागि कानुन निमार्णले तीब्रता पाएको जस्ता आधारमा सरकारको सय दिन उपलब्धीमूलक रहेको सरकारको दावी छ । 

पत्रकारहरुको जिज्ञासामा मन्त्री बस्नेतले निर्वाचन आचार संहिता घोषणा भएको अवस्थामा संघीय संरचनामा गएकोले कर्मचारी मिलाएर आयोगको कार्यतालिकालाई मद्धत पुग्ने गरी सरुवा गरेको बताए । उनलेयसबारेमा प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्तसँग छलफल गरेको उल्लेख गरे । 

निर्वाचन आचार संहिताले अबरोध गर्ने भएकोले पहाडी क्षेत्रमा बाटोहरु भत्किएकाले मर्मत सम्भार गर्न,  सडकका खाल्डा खुलडी पुर्ने कुरा लगायत बारेमा पनि आयोगसँग छलफल भइरहेको उनको भनाई छ । प्रधानमन्त्री देउवाले काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएपछि कतिपय स्थानमा सुधार भएको मन्त्री बस्नेतको दावी छ । यस्तै भूकम्पप्रभावितको क्षेत्रमा सोचेजस्तो काम गर्न नसकेपनि महत्वपूर्ण ढंगले काम गर्न थालेको बताँउदै उनले पुनर्निर्माणलाई छिटो सम्पन्न गराँउन प्राधिकरणलाई निर्देशन दिएर अघि बढ्ने बताए । 

संविधान कार्यान्वयनका सम्बन्धमा संविधान संशोधन नगरी चुनाव जान्न भन्ने राजपा लगायतका दलहरुहरुलाई चुनावमा लानुलाई सरकारले महत्वपूर्ण सफलताको रुपमा लिएको छ । सय दिने उपलब्धी सार्वजनिक कार्यक्रममा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, गोपालमान श्रेष्ठ लगायतका मन्त्रीहरु सहभागी भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप