शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन हुँदै

बिहीबार, २९ भदौ २०७४, १६ : ०४
बिहीबार, २९ भदौ २०७४

धनगढी । एशियाली विकास बैंक (एडिबी)को सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत धनगढी उपमहानगरपालिका क्षेत्रलाई व्यवस्थित र आकर्षक सहरका रुपमा विकास गर्न लागिएको छ । 

आयोजनाअन्तर्गत धनगढी उपमहानगर क्षेत्रमा झण्डै ४३ किमी सडक स्तरोन्नतिका साथै, ढल निर्माण, फोहर मैला व्यवस्थापन, सडकमा फुटपाथ निर्माण, सौर्य सडक बत्ती जडान, हरियाली निर्माणलगायतका मुख्य पूर्वाधारका काम गर्न लागिएको हो । 

आयोजना कार्यान्वयनको पहिलो चरणमा उपमहानगरपालिका क्षेत्रका मुख्य सडकलाई ३० मिटर र विभिन्न वडाका अन्य १४ वटा सडकलाई १५ मिटर फराकिलो बनाई स्तरोन्नति गर्न लागिएको एडिबीको परामर्शदाता कम्पनीका निर्देशक अनिल नेपालले बताउनुभयो । 

उहाँले भन्नुभयो, “आयोजना कार्यान्वयनका लागि एडिबीले हाल झण्डै रु तीन अर्ब बजेट छुट्याए पछि परियोजनाको काम अघि बढाइएको छ तर निर्माणको चरण शुरु हुन कति समय लाग्ने भन्ने विषय भने जनप्रतिनिधि र स्थानीयवासीको हातमा छ ।” 

एडिबी परामर्शदाताको टोलीले बुधबार यहाँ परियोजनाले गर्ने कामबारे उपमहानगरपालिका तथा सरोकारवालालाई जानकारी गराएपछि उपमहानगरपालिकाका प्रमुख नृपबहादुर ओडले परियोजनाले धनगढीको मुहार फेर्ने भएकाले यसको कार्यान्वयनका लागि सबैको सकारात्मक योगदान आवश्यक रहेको बताउनुभयो । 

एशियाली विकास बैंकको आयोजना समन्वय कार्यालय र धनगढी उपमहानगर कार्यालय बीच गत वर्ष उपमहानगर क्षेत्रमा सहरी पूर्वाधार निर्माण गर्नेसम्बन्धी सम्झौता भएको थियो । 

बिनायोजना सहरका रुपमा विकास हुँदै गएको धनगढी उपमहानगरपालिका क्षेत्रमा डुबान, मोहना र खुटिया नदीको कटान, ढल निकास, अलपत्र अवस्थाका सडक निर्माण, फोहरमैला, अव्यवस्थित बसोबास आदि मुख्य समस्याका रुपमा रहेका छन् । 

विसं २०३३मा स्थापना भएको धनगढी नगरपालिकालाई झण्डै दुई वर्षअघि साविकको फूलबारी र उर्मा गाविसलाई समेटेर धनगढी उपमहानगरपालिका बनाइएको थियो । बाहुन, क्षेत्री, ठकुरी, दलित, डगौरा चौधरी, रानाथारुको बसोबास रहेको यो उपमहानगरको जनसंख्या झण्डै एक लाख ४५ हजार छ । 

क्षेत्रीय सहरी विकास आयोजना ७ नं प्रदेश सुदूरपश्चिमको धनगढी उपमहानगरका अलावा गोदावरी, झलारीपिपलाडी र भीमदत्तनगर नगरपालिकामा समेत उक्त आयोजना कार्यान्वयन हुन लागेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप