बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सडक बनेपछि डेढ घण्टाको बाटो तीस मिनेटमा छोटियो

बिहीबार, २९ भदौ २०७४, १४ : २९
बिहीबार, २९ भदौ २०७४

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि पर्वतको जलजला गाउँपालिकाको केन्द्र माझफाँट जोड्ने बेनी–मल्लाज सडक सञ्चालनमा आएपछि डेढ घण्टाको बाटो तीस मिनेटमा छोटिएको छ । 

विसं २०७१ असोजमा मार्ग खुलेको सडक स्तरवृद्धि गरेपछि यातायातका साधन सञ्चालनमा आएको हो । मार्ग मात्र खोलिएको सडक प्राविधिक हिसाबले प्रतिकूल भएका कारण प्रयोगमा आउन सकेको थिएन । 

जलजला गाउँपालिका–१, २, ३, ४ र ५ नम्बर वडाका बासिन्दाले बेनी आवत–जावतका लागि मल्लाज–मिलनचोक–बेनीको घुमाउरो सडक प्रयोग गर्दै आएका थिए । बेनी–मल्लाज सडक सञ्चालनमा आएपछि डेढ घण्टाको यात्रा अवधि तीस मिनेटमा छोटिएको जलजला–३ का वडा सदस्य शशी आचार्यले बताए । 

जिल्ला फरक भए पनि पर्वतको माझफाँट, बाँसखर्क, लेकफाँटका बासिन्दा नजिक पर्ने भएकाले प्रशासनिकबाहेक सबै कामका लागि म्याग्दीको बेनीमा निर्भर छन् । सडक घुमाउरो भएकाले धेरैजसो मल्लाजका बासिन्दा बेनी मल्लाज यात्रा पैदलबाटै गर्दै आएका छन् । सडकबाट स्थानीय बासिन्दाले प्रभावकारी सुविधा पाउन सकेका थिएनन् । यो सडक सञ्चालन भएपछि गाडी चढेर यात्रा गर्ने मल्लाजवासीको वर्षौंदेखिको सपना पूरा भएको छ । 

सडक डिभिजन कार्यालय बागलुङले विसं २०७२ मा शुरु गरेको बेनी–मल्लाज–शालिजा सडक आयोजनामार्फत पर्वत बेनीदेखि मल्लाजसम्मको चार किलोमिटर दूरीको सडक स्तरवृद्धि गरिएको हो । रु तीन करोड ७७ लाखमा ठेक्का सम्झौता गरेको बिएन थोडुङ कन्सट्रक्सन जेभीले सडक फराकिलो बनाउने, ग्रेड मिलाउने, नाली निर्माण, ग्याबियन पर्खाल र पक्की पर्खाल बनाउने तथा आरसिसी ढलान गर्ने काम अन्तिम चरणमा पुगेको छ । 

निर्वाचित सांसदले आफ्नो क्षेत्रमा रु पाँच करोडसम्मको एउटा आयोजना सञ्चालनका लागि सिफारिस गर्न पाउने व्यवस्थाअनुसार पर्वत क्षेत्र नं १ का सांसद अर्जुनप्रसाद जोशीले उक्त आयोजनालाई सिफारिस गरेका थिए । 

हाल ट्र्याक्टर, जिप र मोटरसाइकल आवत–जावत गर्ने उक्त सडकको माइनडाँडा क्षेत्रमा ग्राभेल गरेर दशैँअघि नै नियमित सवारी सञ्चालन गर्न पहल गरिएको जलजला–३ का वडाध्यक्ष रवि भण्डारीले बताए। 

उनका अनुसार उक्त सडक कालोपत्रका लागि सडक विभागले थप आयोजना सञ्चालनको तयारी गरेको छ । बेनी मल्लाज सडकबाट मल्लाज क्षेत्रमा उत्पादित तरकारी, दूध, आलु, सुन्तलालगायत कृषि उपज बजार पु¥याउन, निर्माण र दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत सहज हुने अपेक्षा गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप