शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सगरमाथा आरोहीका लागि अनलाइन चिकित्सक सेवा सुरु

बिहीबार, २९ भदौ २०७४, १२ : १९
बिहीबार, २९ भदौ २०७४

सोलुखुम्बु–तपार्इं सगरमाथा क्षेत्रको भ्रमण गर्दै हुनुहुन्छ र उच्च हिमाली क्षेत्रमा जाँदा स्वास्थ्य समस्या आउँछ कि भनेर चिन्तित हुनुहुन्छ ? त्यसो हो भने अब तपाईंको चिन्तालाई अनलाइनमा रहेका चिकित्सकले समाधानको बाटो देखाउने भएका छन् । 

सगरमाथा क्षेत्रमा इन्टरनेट सेवा प्रदान गरिरहेको एभरेस्ट लिङ्क नामक कम्पनीले लुक्लाबाट माथि लागेपछि सगरमाथा आधार शिविरसम्मकै बाटोमा वाइफाइ सेवा सञ्चालन गरी त्यसमा अनलाइन चिकित्सकको समेत व्यवस्था गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत छिरिङ ग्याल्जेन शेर्पाका अनुसार पर्यटकीय मौसमका बेला राजधानीका दुई र खुम्बुको एक गरी तीनवटा अस्पतालसँगको सहकार्यमा यस्तो सेवा निः शुल्क रुपमा शुरु गरिएको हो । 

तीन वर्षअघि बाट सगरमाथाको आधार शिविरसम्म नै तीव्र गतिको र भरपर्दो इन्टरनेट शुरु गरेको एभरेस्ट लिङ्कको राउटरसँग जोडिने बित्तिकै लग इन पेजमा इमरजेन्सी कलको संकेत आउने र त्यसमा कल गर्दा अस्पतालका चिकित्सकको मोबाइलमा भिडियो कल पुग्ने कार्यकारी अधिकृत शेर्पाले बताए। चिकित्सकको मोबाइलमा भिडियो कल पुगेपछि चिकित्सकसँग आफूलाई भएको स्वास्थ्य समस्याका बारेमा भन्ने र चिकित्सकले सल्लाह सुझाव दिने व्यवस्था गरिएको छ । उच्च हिमाली क्षेत्रमा लेक लागेका कारण यात्रुको स्वास्थ्यमा विभिन्न समस्या देखापर्न सक्छन् । यस्तो अवस्थामा के गर्ने र के नगर्ने भन्ने सुझाव पाएमा मात्र पनि धेरैको ज्यान जोगाउन सहज हुने पर्यटक गाइड भूपाल मगरले बताए । 

वर्षमा औसत ३५ हजार विदेशी र स्वदेशी समेत गरी एक लाखको हाराहारीमा पर्यटक पुग्ने सगरमाथा क्षेत्रमा चार हजार मिटरभन्दा बढी उचाइमा पुगेपछि धेरैलाई स्वास्थ्यमा समस्या देखिने गर्छ । यस्तो अवस्थामा त्यहाँका स्थानीय, धेरैपटक गएका भुक्तभोगी आदिको अनुभवका आधारमा उपचार तथा व्यवहार गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा अनलाई चिकित्सकबाट निःशुल्क सेवा पाउँदा धेरैको ज्यानको जोखिम घट्ने स्याङ्बोचेमा व्यवसाय गर्ने डिल्ली मगरले बताए। 

यदि बिरामी अति जोखिममा परेको छ भने हिमालयन उद्धार सङ्घसँग सहकार्य गरी तत्काल उद्धारको व्यवस्थासमेत एभरेस्ट लिङ्क कम्पनीले नै गर्नेछ । इन्टरनेट व्यवसायसँगै सामाजिक उत्तरदायित्व पूरा गर्नका लागि सगरमाथा क्षेत्रमा अनलाइन चिकित्सकको व्यवस्था गरिएको कम्पनीको भनाइ छ ।
 कम्पनीले सगरमाथा क्षेत्रका २१५ होटल, लज तथा अन्य व्यवसायमा सेवा दिइरहेको छ । डाटा खरिदको व्यवस्था रहेको सो इन्टरनेट विदेशीले प्रति १०० एमबी कार्डको रु २०० तिर्नुपर्छ भने स्वदेशीलाई ५० प्रतिशत छुटको व्यवस्था छ । सो क्षेत्रमा नेपाल टेलिकम तथा एनसेलको सेवा भरपर्दो नभएकाले एभरेस्ट लिङ्ककै प्रयोग बढी हुन्छ । कम्पनीले अहिले सोलुखुम्बुको अति विकट क्षेत्र महाकुलुङ गाउँपालिकामा पनि सेवा विस्तार गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप