शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको कहर : मिर्गौलासम्बन्धी बिरामीहरु उपचार नपाएरै मरिएला भन्ने चिन्तामा

शुक्रबार, ०५ भदौ २०७७, ०८ : ५८
शुक्रबार, ०५ भदौ २०७७

काठमाडौं । मिर्गौलामा समस्या देखिएपछि औषधि सेवन गर्दै आएकी २६ वर्षीया आयुशा पाँडेलाई चिकित्सकले डाइलासिस गर्न सुझाव दिए । भैरहवा घर भएकी उनको हातखुट्टा सुन्निन थालेको थियो ।

पाँडेले डाइलासिसभन्दा पनि मिर्गौला प्रत्यारोपणकै योजना बुनेकी थिइन् । तर कोरोना महामारीका कारण मिर्गौला प्रत्यारोपण गर्ने योजना रोकिएको मात्र होइन, डाइलासिस गर्न समेत नपाएको गुनासो उनले गरिन् ।

डाइलासिसका लागि काठमाडौं आउने तयारीमा रहँदा उपत्यकामा कोरोना संक्रमणको उच्च जोखिम बढेसँगै आफू अलमलमा परेको उनले सुनाइन् । समयमै उपचार नपाउँदा ज्यान खतरामा त पर्दैन भन्ने चिन्ताले आजभोलि उनलाई सताउँछ ।

अस्पतालमा विभिन्न स्वास्थ्य समस्या लिएर बिरामी जाने गर्दछन् । तीमध्ये कतिपय त कोरोना संक्रमित समेत पाइने गरेका छन् । मधुमेह, उच्च रक्तचाप, मिर्गौला, क्यान्सर आदि रोगको उपचारका लागि अस्पताल आएका बिरामीमा समेत कोरोना संक्रमण देखिन थालेसँगै दीर्घरोगीहरुमा जोखिम बढेको हो । अस्पताल नजाँदा उपचारविना नै मरिने चिन्ता, अस्पताल जाँदा कोरोना संक्रमणको जोखिम बढ्न सक्ने चिन्ता । यही दोहोरो चिन्तामा पिल्सिएका छन् कतिपय दीर्घरोगी ।

भैरहवाकी आयुशाले जस्तै स्वास्थ्य उपचार गराउन जाँदा समस्या भोग्दै आएका छन् नुवाकोटका दिनेश थापा । दिनेश हाल हप्ताको ३ पटक डाइलासिस गर्न पुलचोकबाट वीर अस्पतालमा जाने गर्छन् । ३२ वर्षीय दिनेशले आफ्नो झण्डै आधा उमेर डाइलासिसकै भरमा बिताइसके । तर अब भने कोरोनाकै कारण उपचार गर्न नपाएर ज्यान जानसक्ने खतरा बढ्दै गएको उनी सुनाउँछन् ।

सुरुमा ४ वर्षसम्म डाइलासिस गरेर मिर्गौला प्रत्यारोपण गरेका थापाले ४ वर्षपछि मिर्गौलामा पुनः समस्या देखिएपछि डाइलासिस सुरु गरेका हुन् । डाइलासिस गर्न हप्ताको तीन दिन, एक पटकमा ४ चार घण्टाको दरले १२ घण्टासम्म उनले अस्पतालमा समय बिताउने गर्छन् ।


‘मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गर्ने औषधि खानुपर्छ,’ उनले भने, ‘कोरोना संक्रमणसँग लड्नका लागि प्रतिरोधात्मक क्षमता बढाउनु पर्छ, मिर्गौला प्रत्यारोपण गराएकाको मामिलामा ठिक उल्टो हुने भएकाले समस्या भयो ।’


उपत्यकामा कोरोना संक्रमण बढेसँगै थापालाई आजकल पुलचोकबाट अस्पताल जाँदा आउँदा संक्रमण सर्छ कि भन्ने मानसिक पीडाले सताउने गर्छ । ‘एउटै वार्डमा २० देखि २५ जनाको डाइलासिस गरिन्छ,’ उनले भने, ‘डाइलासिस गर्न ट्याक्सी तथा सार्वजनिक यातायातमा आउनुपर्ने हुँदा कोरोना संक्रमणको उच्च जोखिममा मिर्गौला रोगी प-यौँ ।’

डाइलासिस गर्नकै लागि हप्ताको दुई÷तीन पटकसम्म अस्पताल–घर गर्नुपर्ने भएकाले घरबहालमा बस्ने बिरामीलाई घरबेटीले दुःख दिएको गुनासो अन्य बिरामीले सुनाउने गरेकोसमेत उनी बताउँछन् । मिर्गौला पीडितलाई कोरोना लाग्यो भने डाइलासिस नै नपाएर ज्यान जाने हो कि भन्ने पिरलो बढेको उनको भनाइ छ ।

दिनेशलाई मात्रै होइन, चितवनका हिमालय तिवारीलाई पनि तनाव बढेको छ । ३९ वर्षीय तिवारीले मिर्गौला प्रत्यारोपण गरेको १३ वर्ष भयो । वीर अस्पतालमा कार्यरत तिवारी पैदल हिँडेर पाटनबाट आउजाउ गर्दा कोरोना संक्रमणबाट बच्न आवश्यक सावधानी त अपनाउँछन् तर बाटोमा अन्य पैदल यात्रीले सही तरिकाले मास्क नलगाइदिँदा, अझ कतिपयले त मास्क नै नलगाइकन, निर्धारित दूरीसमेत कायम नगरिकन हिँड्दा जोखिम बढेको उनको अनुभव छ ।

यस्तो अवस्थामा अन्य बिरामीको तुलनामा मिर्गौला प्रत्यारोपण गरेका बिरामी बढी जोखिममा पर्ने उनले बताए । ‘मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम गर्ने औषधि खानुपर्छ,’ उनले भने, ‘कोरोना संक्रमणसँग लड्नका लागि प्रतिरोधात्मक क्षमता बढाउनु पर्छ, मिर्गौला प्रत्यारोपण गराएकाको मामिलामा ठिक उल्टो हुने भएकाले समस्या भयो ।’

महामारीको बेलामा कार्यक्षेत्रमा सहयोग पाए पनि बाटोमा धेरै मानिसले सावधानी नअपनाएर लापरवाही गरेको देख्दा आफूहरुको बाँच्ने अधिकार नै छैन कि जस्तो महसुस हुने गरेको उनको भनाइ छ । ‘हामी (मिर्गौला प्रत्यारोपण गराएकाहरु) ले रोग प्रतिरोधात्मक क्षमता कम हुने औषधि खानु परेको हुन्छ, यस्तोमा विभिन्न संक्रमणले हामीलाई चाँडै नै समात्छ,’ उनले भने, ‘बाटोमा कतिपयले लापरवाही गर्दा हामीजस्ताले ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ ।’

आयुशा, हिमालय र दिनेश त यस्ता समस्या झेल्ने प्रतिनिधिपात्र मात्र हुन् । डाइलासिस गरिरहेका, मिर्गौला प्रत्यारोपण गरेका, प्रत्यारोपण र डाइलासिसको तयारी गरेका सबैजसोले कोरोना महामारीको नाममा शारीरिक र मानसिक पीडा भोग्नु परिरहेको छ ।


अस्पताल रोगीहरूको घर भएकाले मिर्गौलाजस्ता दीर्घरोगीको उपचारका लागि कोरोनाको कहरमा छुट्टै भवन तथा अस्पताल तोक्नुपर्ने हिमालय तिवारी बताउँछन् । ‘प्रायः सबै दीर्घरोगी नियमित फलोअपमा बस्नुपर्छ,’ उनले भने, ‘अस्पतालमा टिकट काट्ने लाईन, मिलेसम्म अस्पतालमा ओहोरदोहोर गर्ने भ-याङसमेत यस्ता बिरामीलाई छुट्टै तोकिदिनु पर्छ ।’


सरकारले कोरोना संक्रमितको पहिचान, नियन्त्रण र उपचारमा तल्लिन रहेको भनिरहँदा मिर्गौला, मुटु रोगी लगायत अन्य जटिल समस्या भएकालाई भने बेवास्ता गरेको बिरामीहरूको भनाइ छ । कोरोना फैलिएसँगै मिर्गौला प्रत्यारोपण रोकिएको छ भने नयाँ बिरामी थपिँदा समयमै डाइलासिस गर्न नपाएर बिरामीको ज्यानसमेत जान सक्ने स्थिति सिर्जना भएको छ ।

अस्पताल रोगीहरूको घर भएकाले मिर्गौलाजस्ता दीर्घरोगीको उपचारका लागि कोरोनाको कहरमा छुट्टै भवन तथा अस्पताल तोक्नुपर्ने हिमालय तिवारी बताउँछन् । ‘प्रायः सबै दीर्घरोगी नियमित फलोअपमा बस्नुपर्छ,’ उनले भने, ‘अस्पतालमा टिकट काट्ने लाईन, मिलेसम्म अस्पतालमा ओहोरदोहोर गर्ने भ-याङसमेत यस्ता बिरामीलाई छुट्टै तोकिदिनु पर्छ ।’

अचेल फलोअपका लागि अस्पताल धाउने दीर्घरोगीको मनमा साझा सवाल हुन्छ– कतै उपचार गर्ने डाक्टर त संक्रमित छैन ? त्यसैले यस्ता रोगको उपचारमा संलग्न चिकित्सकको समेत नियमित स्वास्थ्य परीक्षण गर्ने र उनीहरुको स्वास्थ्य सुरक्षामा विशेष सतर्कता अपनाउनुपर्ने बिरामीहरुको भनाइ छ ।

मुटु रोग विशेषज्ञ डाक्टर यादव भट्ट पनि कोरोना संक्रमितको उपचार, दीर्घरोगी र सामान्य रोगीको लागि छुट्टाछुट्टै अस्पताल तोक्नु पर्ने बताउँछन् । दीर्घरोगी मुटु, मिर्गौला, क्यान्सर लगायतका बिरामीको उपचारको लागि छुट्टै व्यवस्था नगरेमा फलोअपका लागि नियमित अस्पतालमा आउनेजाने बिरामीहरु कोरोना संक्रमणको शिकार बन्न सक्ने उनले बताए ।

दीर्घरोगीको शरीमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले हरेक ठाउँमा सावधानी अपनाएर बस्नुपर्ने उनी बताउँछन् । दीर्घरोगी तथा अन्य रोगीको मनोबल बढाउन सम्बन्धित रोग विशेषज्ञको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । ‘त्यसैले पनि त्यस्ता बिरामीले नियमित रुपमा चिकित्सकसमक्ष आफ्नो समस्या राख्ने र फलोअपमा सहज हुने वातावरण मिलाइदिनुपर्छ,’ उनले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले सावधानी अपनाएर मिर्गौला रोगीको उपचार गर्न अस्पतालहरुलाई निर्देशन दिइएको बताए । उपत्यकाको हकमा भने डाइलासिस गर्नुपर्ने व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएमा मानव अंग प्रत्यारोपण केन्द्रमा डाइलासिस गर्ने व्यवस्था मिलाएको उनको भनाइ छ ।

देशका विभिन्न भागमा औषधिको अभाव हुने, सार्वजनिक यातायातको अभावमा अस्पताल तथा मेडिकलसम्म पुग्न कठिन हुने, औषधिले काम नगरेर डाइलासिसको तयारीमा रहेका तथा मिर्गौला प्रत्यारोपण गर्ने योजना बनाएका बिरामीले कोरोना कहरकै कारण झेल्नु परेको शारीरिक तथा मानसिक समस्या भनिसाध्य नभएको बिरामीहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप