सरकारलाई प्रतिपक्षबाट प्रश्नका शृङ्खला, सुनुवाइ कति ?
काठमाडौं । मुलुक कोरोना भाइरस (कोभिड– १९) को महामारीले हायलकाल हुँदै गएको छ । चार महिना लामो लकडाउनलाई सरकारले केही साता अघि खुकुलो तुल्यायो तर कोरोना संक्रमण बढ्दै गएका कारण देशको ५० प्रतिशतभन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गर्नुपरेको छ ।
कोरोना संक्रमण नियन्त्रणमा सरकारको भूमिका कमजोर भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले लगातार ध्यानाकर्षण गराउँदै आएको छ । सरकारलाई बारम्बार ध्यानाकर्षण गराइए पनि बेवास्ता गर्दै आएका कारण स्थिति भयावह बन्दै गएको काँग्रेस नेताहरु बताउँछन् ।
पछिल्लो समय काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीका तर्फबाट जारी गर्ने प्रेस विज्ञप्तिमा होस् या आफ्नो ट्वीटरमा, उनले सरकारमाथि प्रश्नको ओइरो गर्न थालेका छन् । यिनै प्रश्नका ओइरोबीच सञ्चारमाध्यममा साझा ‘हेडलाइन’ नै बन्न थालिसकेको छ, ‘सरकारलाई काँग्रेसको प्रश्न’ ।
भदौ ३ गते प्रवक्ता शर्माले प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीलाई प्रश्न गरे, प्रेस काउन्सिललाई स्वायत्त रहन दिने कि गुटगत प्रचार कोटरी बनाएरै छाड्ने प्रधानमन्त्रीज्यू ?
साउन ३१ गते उनले प्रेस विज्ञप्तिमार्फत सरकारलाई सोधे– राज्यको व्यस्तता कि राज्यको बेवास्ता ? जनताको गुहारपछि सुरक्षित ठाउँमा नसारेर भएको मृत्युमा पहिरोमात्र दोषी कि सरकार जिम्मेवार ?
साउन ७ गते उनले लकडाउनबारे सरकारलाई प्रश्न गरे । उनले सोधेका थिए– लकडाउन र खुला, हिजो गल्ती कि आज ?
त्यसो त प्रवक्ता शर्मा आफैले भनेका छन्, प्रश्न, आरोप र मुद्दाभन्दा पर हुन्छ मान्छेको जिन्दगी । कोरोना संकटप्रति नेकपाकै साथीहरु गम्भीर छैनन् भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई निशाना बनाएर शर्माले ट्वीट गर्दै उक्त सन्देश प्रकट गरेका हुन् ।
तर, के साँच्चै नै प्रश्न, आरोप र मुद्दाभन्दा पर हुन्छ मान्छेको जिन्दगी ? त्यही भएर नै प्रतिपक्षले प्रश्न गरिरहने, सरकारले बेवास्ता गरिरहने र जसोतसो जनताको जनजीवन चलिरहने क्रम निरन्तर भइरहेको हो ?
प्रमुख प्रतिपक्ष दलले देश र जनताको मुद्दामा सरकारको ध्यानाकर्षण गराउने, सरकारलाई जिम्मेवार बनाउने नै हो । तर सरकारलाई प्रश्न गर्नुमात्र पनि, सरकारलाई असफल देखाउनुमात्र पनि प्रमुख प्रतिपक्ष दलको कर्तव्य होइन । प्रमुख प्रतिपक्ष दललाई ‘छायाँ सरकार’ भनिने मात्र होइन, नेपाली काँग्रेसले छायाँ सरकार गठन नै गरेको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा छायाँ सरकारको भूमिका के हो भन्नुभन्दा पनि सरकारका कुन मन्त्रालयको भूमिका कस्तो हुनुपर्छ भनेर छायाँ सरकारका मन्त्रीहरुले खुलेर भन्न सक्नुपर्ने हो । कतिपयले लकडाउन खुकुलो तुल्याउँदा ‘सरकारले कर संकलनका लागि लकडाउन खुकुलो तुल्याएको हो’ पनि भने । देशको अर्थतन्त्रको अवस्था के छ र मानिसहरुले आशंका गरेझैँ सरकारले कर संकलनका लागि नै लकडाउन खुकुलो तुल्याएको हो या लकडाउन खोल्नुपर्ने अवस्था नै थियो भन्नेबारे छायाँ सरकारका सम्बन्धित विभागका मन्त्रीको धारणा खोइ ?
काँग्रेस केन्द्रीय तहबाट जारी करिब ५० विज्ञप्ति, ७७ जिल्ला, ७ प्रदेश र ३२ जनसम्पर्क समितिबाट सरकारलाई बुझाइएको ध्यानाकर्षणपत्रबाट सरकारको ध्यान कति आकर्षित भयो, कति विकर्षित भन्नेबारे खोइ मूल्यांकन गरेको ? यी र यस्ता अनेक प्रश्न काँग्रेसतर्फ पनि नसोझिएको होइन ।
काँग्रेस नेता एवम् सांसद गगन थापा भने काँग्रेसले सरकारलाई प्रश्नमात्र नगरेर समस्या आउनु अघि नै सचेत तुल्याएर समाधानका लागि प्रस्ताव पनि राखेको बताउँछन् ।
‘सुरुका दिनदेखि प्रश्नमात्र तेस्र्याएको होइन, प्रस्ताव पनि अगाडि सारेको हो । कतिपय कुरामा सहकार्यका लागि हात पनि अगाडि बढाएको हो,’ थापाले भने, ‘फागुन १९ गते संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गर्दा जे सोचेर, जुन विषय उठाएको थिएँ, मैले अहिले पनि त्यही विषय उठाइरहेको छु । त्यो मेरो ड्युटी हो ।’
कोरोनाका सन्दर्भमा संसदमा अनगिन्ती प्रश्न उठाएका थापाले प्रधानमन्त्रीलाई सम्बोधन गरेर ४ वटा पत्रमार्फत ध्यानाकर्षण गराएको सुनाए ।
‘म नेपाली काँग्रेसको एउटा पार्टी सदस्य हुँ र सँगसँगै एउटा निर्वाचित सांसद पनि हुँ । मेरो काम नै प्रश्न सोध्ने हो । उत्तर नआउने बेलासम्म सोधिराख्ने हो,’ उनले भने, ‘मैले मेरो मनमा लागेका प्रश्न सोध्ने होइन, जनजीविकासँग जोडिएका प्रश्न सोध्ने हो ।’
आफूले प्रश्न सोध्ने ठाउँ संसद भए पनि प्रधानमन्त्रीले संसद अधिवेशनको घाँटी निमोठिदिएका कारण सडक र सामाजिक सञ्जालमा प्रश्न सोध्ने गरेको उनको भनाइ छ । ‘यतिबेला सदन पनि छैन, सडक पनि छैन,’ उनले भने, ‘अनि बाध्य भएर सामाजिक सञ्जालमार्फत प्रश्न गरेको हुँ, सामान्य अवस्था हुन्थ्यो भने सदन बन्द हुँदा पनि म सडकै जान्थेँ तर अहिले सडकमा जान पनि सम्भव छैन ।’
प्रश्न सोध्ने धर्मबाट लर्बराउन नहुने उनले बताए । ‘सोधेका प्रश्नको उत्तर दिन (रेस्पोन्स गर्न) बाध्य कसरी बनाउने भन्ने एउटा पक्ष हो,’ प्रश्नको प्रभावकारिताबारे सोधेको प्रश्नमा थापाले भने, ‘तर म प्रश्नले कहीँकतै छोएको छैन भन्ने कुरा मान्दिनँ । प्रश्नले छोएको छ, घोचेको छ । प्रधानमन्त्री र उहाँको टिमको आक्रमणले त्यो पुरा देखाउँछ ।’
तर आफूहरुले उठाएका प्रश्न सरकारले पार्टी सभापति शेरबहादुर देउवाको मुखबाट सुन्न चाहेको उनको बुझाइ छ । ‘उहाँ (शेरबहादुर देउवा) पार्टी सभापति र नेता पनि हो । त्यसैले यी प्रश्न उहाँको मुखबाट सरकार सुन्न चाहन्छ । उहाँको मुखबाट सुन्दा काँग्रेसको प्रश्न हुन्छ । ओभरअल सुन्दा अधिकांश व्यक्तिको प्रश्न हुन्छ । नेतृत्वको तहबाट अहिले उठेका प्रश्न सुन्न पाउँदा थप दबाब हुन्छ । अनि प्रतिक्रिया दिन र सच्चिन सरकार बाध्य हुन्छ,’ थापाले भने ।
यता, काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा प्रतिपक्षीले ऐनाको काम गर्ने बताउँछन् । उनले भने, ‘प्रतिपक्षी र मिडिया भनेको सरकारले हेर्न मिल्ने ऐना हो । ऐनाले के ग-यो भनेर प्रश्न गर्दा के उत्तर आउँछ ? कि आलोचनका लागि आलोचना ग-यो भन्नु प-यो ? आवाज उठाउने, प्रश्न गर्ने काम हामीले गर्ने हो । गरिरहेका छौँ । तर त्यो बमोजिमको कुरामा सरकार समर्पित भएर कति काम ग-यो भन्ने सरकारको तजबिजको कुरा हो ।’
विपक्षीले सरकारलाई यस्तो गर्नुपर्छ भनेर बाटोमात्र देखाउने उनको भनाइ छ । ‘विपक्षी आफैले निर्णय त गर्न मिलेन नि ? कुनै ठाउँमा चोरी भयो । तर सरकारले चोर पक्रन सकेन भनेर काँग्रेसले प्रहरी खडा गर्न त सक्दैन,’ उनले भने, ‘भोलि काँग्रेस कार्यालयमा भेन्टिलेटर बन्न सकेन भनेर हुन्छ र ?’
शर्माका अनुसार काँग्रेसले फागुन १९ गते गराएको ध्यानाकर्षण र फागुन १८ गते गगन थापा लगायतले संसदमा दर्ता गराएको संकल्प प्रस्तावका सही कुरा ग्रहण गरेर सरकार अघि बढेको भए सायद यो प्रकारको अवस्था हुँदैनथ्यो । काँग्रेसको खबदारीका बीच सरकार निदाएको अभिनय गरिरहेकाले वर्तमान अवस्था निम्तिएको उनको भनाइ छ ।
उनले भने, ‘साँच्चै निदाएको मान्छेलाई उठाउन सजिलो हुन्छ । जो निदाएको अभिनय गर्दैछ, उसलाई उठाउन पानी छ्याप्दा पनि सकिँदैन । हामीले मेची, कोशी हुँदै महाकालीसम्मको पानी छ्यापी सक्यौँ । तर सरकार उठ्न खोज्दैन ।’
नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले भने नेपालको सन्दर्भमा आफूहरुले प्रतिपक्षीलाई सबैभन्दा बढी सम्मान गरेको दाबी गरे ।
‘नेपालको सन्दर्भमा हामीले प्रतिपक्षीलाई सबैभन्दा बढी सम्मान गर्ने प्रयास गरेका छौँ । कोरोना महामारीका सम्बन्धमा पटक–पटक उहाँहरुसँग छलफलमा बसेका छौँ,’ उनले भने, ‘सरकारले उहाँको धेरै कुरा सुनेको छ । कुरा सुनेर अगाडि बढ्ने प्रयास गरेको छ ।’
प्रतिपक्षीका आवाज सम्मानपूर्वक ग्रहण गर्दै सरकारअघि बढिरहेको नेम्वाङको दलिल छ । ‘प्रतिपक्षले प्रश्न उठाउने कुरालाई अन्यथा मान्दिनँ । प्रतिपक्षले प्रश्न उठाउने नै हो । उठाउँछ नै । त्यसलाई सम्मानपूर्वक ग्रहण गर्दै सरकारले अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘प्रतिपक्षले सरकारले साह्रै राम्रो गरेको छ भनेर कुनै बेला भन्ला र ? प्रतिपक्षको जिम्मेवारी नै आलोचनात्मक हुने हो । त्यसैले प्रतिपक्षले सरकार असफल भयो भन्नु आश्चर्यको कुरा होइन ।’
सरकार र प्रतिपक्षी दुबैबाट आ आफ्नो ठाउँमा ठीकै काम भइरहेको उनको भनाइ छ । तर उनको यो भनाइप्रति काँग्रेस प्रवक्ता शर्मा भने प्रश्न तेस्र्याउँछन् ।
शर्माले भने, ‘पूर्व जानकारी हुँदा पनि स्थानान्तरण नगरेर पहिरोले मान्छे मर्दा केपी ओलीले ठिकै गर्नु भएको छ ? राम सदाको परीक्षणको रिपोर्ट ढिलो आयो । झाडापखालाको उपचार नपाएर उनी मरे, यो पनि ठिकै गर्नु भयो ? काँग्रेसले कुरो उठायो, केपी ओलीजीले सुन्नु भएन । मुलुकलाई भयावह स्थितितिर लक्षित गराउँदै हुनुहुन्छ । यो पनि सुवास नेम्वाङजीको नजरमा केपी ओलीले ठिकै गर्नुभएको छ ?’
काँग्रेसको प्रतिप्रश्न
राजीनितक विश्लेषक पुरञ्जन आचार्य भने काँग्रेसले कुन माध्यमबाट कुन ढङ्गले सरकारलाई खबरदारी गर्ने भन्ने मेसो समात्न नसकेको बताउँछन् ।
उनले भने, ‘नीतिगत कुराहरुमा च्यालेन्ज गर्नुपर्ने छ । तर काँग्रेसले त्यो ढङ्गले प्रतिपक्षीको भूमिका खेल्न सकेको छैन । ढङ्ग पनि भएन । सरकारसँग प्रतिपक्षीको भाग खोज्ने कुरामा पनि सिपालु छ ।’
पञ्चायतको बेलामा बिरुवा रोपेर, रक्तदान गरेर रचनात्मक प्रतिपक्ष भएर बसेको काँग्रेस यतिबेला ‘दुर्दशा’मा रहेको उनको भनाइ छ । यो अवस्था आउनुमा काँग्रेसले रचनात्मक प्रतिपक्षीको भूमिका सोच्न र निर्वाह गर्न छोड्नु नै मुख्य कारण रहेको उनले बताए ।
तर काँग्रेस प्रवक्ता शर्मा भने यसलाई अस्वीकार गर्छन् । शर्माले भने, ‘पञ्चायतमा हाम्रो व्यवस्था थिएन । हामी यही ढङ्गले प्रस्तुत हुन्थ्यौँ । तर हामीले विश्वास गरेको व्यवस्थाभित्र रहेर सत्तामा पुगेका कम्युनिस्टलाई रुपान्तरण गर्न त्यही ढङ्गले सुझाव र दबाब दिने काम गरेका छौँ ।’
तर काँग्रेस रचनात्मक प्रतिपक्षीको मूभिका खेल्न मानसिक रुपमा पनि तयार नदेखिएको विश्लेषक आचार्यको बुझाइ छ । उनले भने, ‘काँग्रेसको छायाँ सरकार पनि छ । गर्छुभन्दा काँग्रेसले सहयोग पनि पाउँथ्यो होला । तर काँग्रेस रचनात्मक प्रतिपक्षीको भूमिका खेल्न मानसिक रुपमा पनि तयार देखिएन । कोठामा बसेर विरोध गर्ने काम भइरहेको छ ।’
प्रवक्ता शर्मा भने यसलाई ‘प्रतिपक्षको रचनात्मक भूमिका’ भन्छन् । ‘काँग्रेसले संसदमा संकल्प प्रस्ताव ल्याउनु, देभरिका प्रमुख जिल्ला अधिकारी, प्रदेशका मुख्यमन्त्री, विदेशस्थित जनसम्पर्क समितिबाट जनताको भावना समेटर असार २ गते सरकारलाई ज्ञापनपत्र बुझाउनु रचनात्मक हो कि होइन ? सही कुरा टिपेर अनुहार देखाउने र गर्नुपर्ने आवश्यक कुराहरु सुत्रबद्ध गरेर यो यो गर भन्नु पनि रचनात्मक कुरा हो,’ शर्माले भने ।
अहिलेसम्म काँग्रेसले उठाएका प्रश्नको प्रतिफल के भन्नेमा सांसद गगन थापाको पनि प्रतिप्रश्न छ । थापाले भने, ‘बहुदलीय लोकतान्त्रिक व्यवस्थामा प्रश्न नगरेर प्रतिपक्षीले गर्नुचाहिँ के पर्ने हो ?’ यद्यपि उनी काँग्रेसले उठाएका प्रश्नमा वजन नभएको भने स्वीकार गर्छन् ।
‘काँग्रेसले गर्नुपर्ने जति प्रश्न भएन, जति धारिलो हुनुपर्ने हो त्यति धारिलो भएन, प्रश्नले जति लखेटिराख्नुपर्ने हो त्यति लखेटिएन, कतिपय प्रश्न सरकारलाई व्यक्तिको जस्तो लाग्यो, पार्टीको जस्तो लागेन । समस्या यो पो हो,’ थापाले भने, ‘प्रश्न ग¥यो प्रतिफल आएनभन्दा पनि प्रश्न थुप्रै भयो । कतिपय प्रश्न पार्टी नेतृत्वको मुखबाट नआउँदा सिंगो पार्टीलाई बोक्न नसकेको हो ।’
थापाका अनुसार काम गर्ने जिम्मा प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको नेकपाकै हो । उनले भने, ‘हिसाब किताब पनि उसैसँग माग्नुपर्छ । हाम्रो जिम्मा उसको जवाफदेहितापूर्ण शासनका निम्ति प्रश्न गरिराख्ने, गल्ती देखाउने, आलोचना गर्ने, विकल्पहरु देखाउने हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा अडानीविरुद्ध पक्राउ पुर्जी जारी गरेको पुष्टि
-
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट
-
पत्रकार आचार्यलाई धम्क्याएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण
-
जुम्लाबाट टिकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना
-
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी : ऋण लिने हाम्रो अवस्था छैन
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ ग्रामथान र महावुको नमुना मतपत्र