बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चीनको ऊहानस्थित वाटर पार्कमा पार्टी गर्न पुगे १५ हजार व्यक्ति

बिहीबार, ०४ भदौ २०७७, ०७ : ३२
बिहीबार, ०४ भदौ २०७७

मास्क नलगाएका हज्जारौंको भीड वाटर ट्युब्समा तैरिरहेका छन् र म्युजिकल फेस्टिबलको मज्जा लिइरहेका छन् ।

यो एउटा यस्तो तस्बिर हो जुन सन् २०२० को कोरोना कालमा देख्न मुश्किल छ । तर चीनको शहर ऊहानमा सप्ताहन्तमा केही यस्तै दृश्य देखिएको छ ।

यसै शहरबाट गत वर्षको अन्त्यमा कोरोनाभाइरसको सुरुवात भएको थियो ।

ऊहान माया बीच वाटर पार्कमा पार्टी गर्न पुगेका यी मानिसहरुलाई देखेर लाग्छ कि उनीहरु कोरोनाको त्यो भयावह स्थितीबाट बाहिर आइसकेका छन् जससँग संसार अहिले पनि लडिरहेको छ ।

यो तस्बिर त्यो समयको तस्बिरभन्दा ठ्याक्कै विपरित छ जब जनवरीमा लकडाउनपछि यो शहर सुनसान भएको थियो । सडकमा न त मानिसहरु हिँड्थे न गाडी गुड्थे, सबैतिर सन्नाटा मात्रै थियो ।

अप्रिलमा शहरबाट लकडाउन हटाइयो र मे महिनाको मध्यपछि ऊहान र हुबेई प्रान्तमा एकजना पनि घरेलु संक्रमण देखिएका छैनन् ।

सामान्य जीवनतर्फ उन्मुखः

ऊहानमा कोरोनाभाइरसका कारण १७ जनाको मृत्यु भएपछि र चारसय जना संक्रमित भेटिएपछि २३ जनवरीदेखि लकडाउन गरिएको थियो ।

त्यसपछि नै चीनले भाइरस मानिस–मानिसबीच संक्रमण फैलन्छ भनेर पुष्टि गरेको थियो । यसअघि यो प्रमाणित हुन सकेको थिएन ।

एक करोड १० लाखको जनसंख्या भएको यो शहर पूरा चीनबाट अलग्गिएको थियो । त्यसपछिमा महिनामा हज्जारौंको परीक्षण भयो र उनीहरुलाई क्वारेन्टिनमा राखियो ।

सबै सार्वजनिक सभा रद्द गरियो र मानिसहरुलाई जम्मा हुनबाट जोगिन भनियो ।

मार्चको सुरुवातदेखि लकडाउन खुकुलो बनाउन थालियो । हरेक घरका एक सदस्यलाई आफ्नो घरबाट दुई घण्टाका लागि निस्कने अनुमती दिइयो ।

सपिङ मल खोल्न, सार्वजनिक यातायात चल्न सुरु भए र मानिसहरु बिस्तारै बिस्तारै बाहिर निस्कन सुरु गरे । सामाजिक दुरीको त्यतिबेला पनि पालना गर्न र मास्क लगाउन आवश्यक थियो ।

अप्रिल ८ देखि ऊहानबाट पूर्ण रुपमा लकडाउन हटाइयो ।

लकडाउन हट्ने बित्तिकै मानिसहरुले महिनौं लामो प्रतिक्षापछि हतारहतार विवाह गरे ।

केही समयका लागि जीवन पुनः सामान्य हुन थालेको भान भयो । विद्यालय खोलिए, व्यापार व्यवसाय पुनः चल्न थाले र सार्वजनिक यातायात पूर्ण रुपमा खोलिए ।

तर मे १२ मा कोरोनाका अन्य ६ संक्रमित फेला परे । त्यसलगत्तै पूरा शहरको जनसंख्याको परीक्षण गरियो र चाँडै नै संक्रमण पुनः नियन्त्रणमा आयो ।

जूनसम्म राती खुल्ला हुने बजार खोलिए । यो बजारमा स–साना गल्लीको किनारामा स्टल राखिन्छ । ती खोल्न अनुमती दिइयो ।

एक महिनापछि जुलाईमा चीनका थुप्रै हिस्सामा जीवन सामान्य रुपमा सुरु भएको थियो । थुप्रै इलाकामा सिनेमाघर खोलिए, केही पार्क, लाइब्रेरी र म्युजियमलाई पनि आधा क्षमतासहित खोल्न अनुमती दिइयो । साथै ठूला सभामा लागेको प्रतिबन्ध पनि हटाइएको थियो ।

पूर्ण रुपमा सामान्य जीवन तर....

आज लाग्छ कि ऊहानमा जीवन पूर्ण रुपमा सामान्य भइसकेको छ । होहा (एचओएचओ) वाटर इलेक्ट्रिकल म्युजिकल फेस्टिवलमा आएका मानिसहरु यसका प्रमाण पनि हुन् ।

फेस्टिवलको आयोजकले मानिसहरुलाई लोभ्याउनका लागि महिलाका लागि टिकटको मूल्य आधा गरेका थिए ।

ऊहान ह्याप्पी होलीले आफ्नो वाटर पार्कलाई २५ जूनमा खोलेको थियो । तर यसका डेप्युटी जनरल म्यानेजरले दिएको जानकारी अनुसार वाटर पार्कमा अगस्टबाट धेरै मानिसहरु आउन सुरु गरेका छन् ।

उनका अनुसार एक सप्ताहन्तमा यो वाटरपार्कमा १५ हजार मानिसहरु आएका थिए । जबकी गत वर्ष यहि समयमा ७ हजार मानिस मात्रै वाटर पार्कमा आएका थिए ।

चीनमा सोसल मिडियामा केही मानिसहरुले ऊहानमा यति ठूलो आयोजनालाई अनुमती दिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । मानिसरुले ट्वीटर र फेसबुकमा पनि यसबारे लेखेका छन् ।

तर ऊहानमा मेको मध्यदेखि कोरोनाभाइरसका कुनै पनि स्थानीय संक्रमण देखिएको छैन । शहरका ९९ लाख जनसंख्याको परीक्षण गरिसकिएको छ । यहाँ ठूला सभामा कुनै प्रतिबन्ध छैन ।

यद्यपि, अष्ट्रेलियन नेशनल युनिभर्सिटीमा संक्रामक रोग विशेषज्ञ प्राध्यापक सांजया सेननयेकका अनुसार शहरको एक ठूलो जनसंख्याको परीक्षण गरिएपनि अन्य कतैबाट मानिसहरु संक्रमित हुने खतरा कायम नै छ ।

उनले बीबीसीसँग भने, ‘समस्या यो हो कि हामीले कोभिड–१९ लाई नष्ट पारेका छैनौं र जबसम्म यो समाप्त हुँदैन तबसम्म यो पुनः फैलने खतरा यथावत रहन्छ । चाहे त्यो खतरा बाहिरबाट भाइरस आउँदा होस् वा अन्य कतैबाट ।’

सांजया यसका लागि न्यूजिल्याण्डको उदाहरण दिन्छन् । त्यहाँ पनि तीन महिनासम्म स्थानीय स्तरमा कोही पनि सक्रमित थिएनन् तर गत हप्ता त्यहाँ कोरोनाका नयाँ संक्रमित देखिए ।

उनी भन्छन्, ‘लण्डनको एक अनुसन्धानका अनुसार कोभिड–१९ द्वारा संक्रमित १०–२० प्रतिशत मानिसहरु नै ८० प्रतिशत संक्रमणका लागि जिम्मेवार हुन्छन् । यसकारण जब तपाईं ठूलो संख्यामा मानिसहरु जम्मा हुनुहुन्छ तब तपाईं सावधान हुनुपर्छ । यदि एकजना मात्रै व्यक्तिमा भाइरस भए समस्या उत्पन्न हुनसक्छ ।’

यतिबेला पूरा विश्व भाइरससँग लड्ने कोसिसमा जुटिरहेको छ । दक्षिण कोरियाजस्तो देश जसले कोरोना भाइरसमाथि सफलतापूर्वक नियन्त्रण पाएको थियो, त्यहाँ पनि संक्रमणको नयाँ लहर देखिएको छ ।

अन्य देशलाई यस्ता भीडभाडयुक्त सभा आयोजित गर्नका लागि लामो समय लाग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप