बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कार्यदल गठनबारे नेकपाका तीन शीर्ष नेताले उठाए प्रश्न

शनिबार, ३१ साउन २०७७, १७ : ५३
शनिबार, ३१ साउन २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग तीन शीर्ष नेताहरुले कार्यदल गठनबारे प्रश्न गरेका छन् ।
पार्टीभित्र देखिएको आन्तरिक समस्या समाधानका लागि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड बीचको छलफलबाट एक कार्यदल गठन भएसँगै  वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ सशंकित बन्दै प्रश्न उठाएका हुन् । सो कार्यदल नै अवैधानिक रहेको उनीहरुको भनाइ छ । 

कार्यदल गठनको भोलिपल्ट प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा ती नेताहरुले कार्यदल कुन विधि र पद्धतिको आधारमा गठन भयो, गठन भएपनि त्यसलाई काम गर्नका लागि कार्यविधि किन नदिएको भन्ने जस्ता गुनासो गरेका थिए ।
कार्यदलले के विषयमा कुरा गर्ने र सहमतिकाे खाका  तयार गर्न कार्यविधि नभएको कारण यसमा आशंका गर्ने ठाउँ रहेको उनीहरुको भनाइ थियो । कार्यदलले प्रतिवेदन बुझाएपछि भोलि त्यसलाई कुनै पक्षले नमाने भने के हुन्छ, त्यसको जवाफदेही को हुने भन्दै ती नेताहरुले कार्यदललाई व्यवस्थित र अधिकारिक बनाउनुपर्ने कुरामा जोड दिएका थिए । 
कार्यदलको बारेमा छलफल गर्नका लागि सचिवालयको बैठक बस्नुपर्ने पनि उनीहरुले माग गरेको स्रोतले जनाएको छ । 
दुईजना नेताले कार्यदल गठन गरेपछि त्यसले कसरी मान्यता पाउने भनि उनीहरुले प्रश्न गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप