बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मोदीले ओलीलाई भने–कोरोना महामारीविरुद्ध एकजुट भएर लडौँ

शनिबार, ३१ साउन २०७७, १६ : ०४
शनिबार, ३१ साउन २०७७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना तथा बधाई दिएका छन् । सो शुभकामनाप्रति भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री ओलीलाई धन्यावाद दिएको छ । भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री ओलीले स्वतन्त्रता दिवसको अवसरमा  बधाई दिएका भन्दै धन्यवाद ज्ञापन गरेको हो ।

भारतले हालसालै राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यता प्राप्त गरेकामा पनि प्रधानमन्त्री ओलीले बधाई दिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । दुई प्रधानमन्त्रीले नेपाल-भारतको साझा सँस्कृतिको सम्झना गरेको उल्लेख गर्दै मन्त्रालयले कोरोना महामारीको प्रभाव कम गर्न दुई देशले गरिरहेका प्रयासहरुको सन्दर्भमा एकजुट भएर लड्ने प्रतिवद्धता व्यक्त गरेको बताएको छ । कोरोना महामारीविरुद्ध एक भएर लड्नका लागि मोदीले गरेको प्रस्तावमा ओलीले समर्थन जनाएका थिए । 

प्रधानमन्त्री मोदीले कोरोना प्रभाव कम गर्न नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसैबीच परराष्ट्र मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै दुवै देशका प्रधानमन्त्री भविष्यमा दुईपक्षीय विषयमा छलफल जारी राख्न सहमत भएको उल्लेख गरेको छ । यस्तै कोभिड १९ विरुद्धको खोपको प्रारम्भिक विकासको आवश्यकतालाई औंल्याउँदै ओलीले भारतलगायत विश्वभरका वैज्ञानिकहरू सक्षम हुने आशा पनि राखेका थिए ।  आजै बिहान प्रधानमन्त्री ओलीले भारतको ७४ औँ स्वतन्त्रता दिवसका अवसरमा ट्वीट गर्दै मोदीलाई शुभकामना समेत दिएका थिए । 

नेपालले लिम्पियाधुरा, कालीपानी र लिपुलेकलाई समेटेर जारी गरेको नक्साका कारण दुई देशबीच दुरी बढेको थियो । यहीबीचमा प्रधानमन्त्री अ‍ोलीले भारतको स्वतन्त्रता दिवसको अवसरमा आज प्रधानमन्त्री मोदीलाई फोन गरेर शुभकामना तथा बधाई दिएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप