शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रोनाल्डिन्होलाई जेल पुुर्‍याउने १० वर्षे ओरालो यात्रा

शनिबार, ३१ साउन २०७७, ०८ : २९
शनिबार, ३१ साउन २०७७

'इलास्टिकोस्', 'राबोनास', हेर्दै नहेरी पास र त्यो ट्रेडमार्क दन्ते लहर । करियरको उत्कर्षमा रहँदा रोनाल्डिन्हो निकै आकर्षक थिए । २००० को दशकमा यी ब्राजिलियनले फुटबल जगत‍्मा राज गरे, त्यस्तो खेल कौशल युुट्युुबका लागि पनि उपयुक्त थियो । र, पछिल्लो दशकभर उनले जति हार–जित व्यहोरे, त्यो त अधिकांश खेलाडीले आफ्नो पूर्ण करियरमा अनुभव गर्छन् ।  २०११ मा एसी मिलानबाट निस्किएपछि रोनाल्डिन्होले के–के गरेनन् ? उनले ऐतिहासिक कोपा लिबर्टाडोरेस जिते । अरबको रियालिटी शो तथा रुसी सुपरमार्केटको विज्ञापनमात्र होइन जियन क्लाउडे भान डेमीसँग हलिउड फिल्म समेत खेल्न भ्याए । तर, यो वर्ष उनले स्वतन्त्रता गुमाए अनि ४० औं वर्षगाँठ पाराग्वेको जेलमा बिताए । 

जनवरी  २०११ मा मिलानबाट  ब्राजिली क्लब फ्लामेन्गो जाने रोनाल्डिन्होको निर्णयलाई इटालियन क्लबका प्रशिक्षक मासिमिलिआनो एलिग्रीले ‘जीवनको रोजाई’ भनेका थिए ।  जसको अर्को अर्थ – ‘फुटबलबाहेकको कारण’ भन्ने पनि थियो । पेरिस सेन्ट जर्माइनमा पनि रोनाल्डिन्हो यस्तै थिए, उनको पार्टी गर्ने स्वाभावले क्लबसँगको सम्बन्ध चाडै बिग्रियो । प्रदर्शन कमजोर र धैर्यता कम हुँदै गयो । 

करियरमा चाडै घर फर्कने रोनाल्डिन्होको निर्णयले २००२ मा उनीसँगै विश्वकप जितेका ब्राजिली स्टार रिभाल्डोलाई आश्चर्यमा पारेको थियो । ‘उनले युरोपमा केही लामो समय खेलेको भए हुने थियो, तर यो व्यक्तिगत निर्णय थियो,’ बीबीसी स्पोर्टस्सँग रिभाल्डो भन्छन्,‘उनलाई लाग्यो कि त्यहाँ कथा लेखिसकेको छु । म घर फर्किएर आफ्ना साथीभाइ र परिवारसँग नजिक भएर आफ्नै स्टाइलमा यस कथालाई समाप्त गर्न चाहन्छु ।’
फुुटबलमा झैं जीवनमा पनि रोनाल्डिन्हो कहिल्यै चर्चाबाट विमुख छैनन् । तर, अहिले सामना गर्नुपरेजस्तो गम्भीर परिस्थिति पहिले कहिल्यै निम्तिएको थिएन । 
रोनाल्डो डि एसइज मोरेइरा रोनाल्डिन्होको पूरा नाम हो । उनी दक्षिणी ब्राजिली शहर पोर्टो एलिग्रेको छिमेकमा रहेको गरिब क्षेत्र  भिला नोभामा हुर्किए । रोनाल्डिन्होकी आमा मिगुुलिना ढोका–ढोकामा पुुगेर कस्मेटिक्स सामाना बेच्थिन् । 


बाबु जोओले स्थानीय क्लब ग्रेमियोको कार पार्किङमा काम गर्थे, रोनाल्डिन्होका दाजुु रोबर्टो एसईजले १७ वर्षको उमेरमा यही क्लबसँग व्यवसाहिक सम्झौता गरेपछि उनीहरुको भाग्य फेरियो । क्लबले यो परिवारलाई स्विमिङ पुुलसहितको विलासी बंगला उपलब्ध गराएको थियो । 

तर, यो भव्य बंगलामा दुखान्त लेखिएको थियो, जसले रोनाल्डिन्होको जीवनलाई आकार दिने र आफ्ना दाजुसँग थप नजिक बनाउनेवाला पनि थियो । रोनाल्डिन्हो आठ वर्षको हुँदा उनका बाबुलाई स्विमिङ पुलमा हृदयघात भयो । दुुई दिनपछि उनको मृत्यु भयो । यसपछि एसईजले आफ्ना भाइको जिम्मेवारी पनि आफ्नै काँधमा लिए । 

तपाईंले हुर्कदै गर्दा कसलाई आदर्श मान्नुहुन्थ्यो भनेर २०१५ मा रोनाल्डिन्होलाई  सोधिएको थियो । ‘मेरा दाजु एसईज, रिभेलिनो, रोमारियो, रोनाल्डो, रिभाल्डो र डिएगो म्याराडोना ,’ उनको जवाफ थियो । 
एसईजले पनि आफ्ना भाइप्रति गर्व गर्दै भन्थे  – मेरो भाइ अझै राम्रो छ । सायद, भविष्यमा रोनाल्डिन्होको एजेन्ट बन्ने छनक पनि यतिबेलै देखिएको थियो । प्रशंशा त्यतिबेला चुलियो, जब आफ्ना कुकुर बाला र बोमबोमसँग ड्रिब्लिङको अभ्यास गर्ने रोनाल्डिन्होले १३ वर्षको उमेरमा स्कुल टुर्नामेन्टमा २३ गोल गरे । 

चार वर्षभित्रै रोनाल्डिन्होले ब्राजिललाई यु–१७ विश्वकप जिताउन सहयोग गरे, १९ वर्षको हुँदा उनको उत्कृष्ट प्रदर्शनको सहयोगमा ग्रेमियोले  इन्टरनासियओनाललाई हराएर स्टेट च्याम्पिनसिपको फाइनल जित्यो । 
‘मलाई ग्रेमियो धेरै मनपर्छ । म यहाँ सित्तैमा खेल्छु,’ उनले खेलपछि भने,‘केही कुराले अर्थ राख्छ भने त्यो सर्टप्रतिको प्रेम हो ।’

आफ्नो २१ औं जन्मदिनअघि उनी देशको शीर्ष डिभिजनको लिगमा सर्वाधिक गोल गर्नेको सूचीमा रोमारियोपछि दोस्रो स्थानमा थिए । यसपछि इंलिस क्लब लिड्स युनाइटेडले उनलाई आबद्ध गर्न ४० मिलियन पाउन्डको प्रस्ताव ल्यायो । 
जवाफमा उनको क्लबले आफ्नो रंगशाला अगाडि ब्यानर राख्यो, जसमा लेखिएको थियो – ‘हामी हाम्रा उत्कृष्ट खेलाडीलाई बेच्दैनौं । तिमी दुस्साहस नगर ।’
उनको सम्झौता समाप्त हुँदै थियो र ग्रेमियो नयाँ सम्झौता गर्न असफल भयो, जसकारण बिक्री गर्नुपर्ने आवश्यकता नै भएन । 

फेब्रुअरी २००१ मा एसईजको मध्यस्थतामा पेरिस सेन्ट जर्माइनसँग रोनाल्डिन्होको सम्झौता भयो, ग्रेमियोका समर्थक आक्रोशित भए । जादुगर भनेर चिनिएका रोनाल्डिन्होले विश्वभरका समर्थकमाझ आफ्नो जादु देखाउन थाले । 
२००२ मा उनले ब्राजिललाई विश्वकप जिताए । एक वर्षपछि उनी पेरिसबाट बार्सिलोना गए । स्पेनिस क्लबमा पाँच वर्ष बिताउने क्रममा उनले च्याम्पियन्स लिग र दुईवटा लिग उपाधि जिते । लियोनल मेसीका लागि उनी अभिभावक सरह थिए ।


यसपछि मिलानमा दुई वर्ष ६ महिना बिताएर २०११ मा रोनाल्डिन्हो ब्राजिल फर्कदाँसम्म ग्रेमियोको बोर्डले उनलाई पुरानो कुरा बिर्सिएर माफी दिइसकेको थियो – यद्यपी, समर्थकहरुले अझै माफ गरिसकेका थिएनन् ।
पहिले जेसुकै भएपनि उनी सुधार गर्नका लागि आएका थिए  वा कम्तिमा त्यस्तै देखिन्थ्यो । 

उनले आफू बाल्यकालमा खेल्दाको क्लबमा फर्कने विषय त्यसअघि पनि यदाकदा बताएका थिए । त्यसैले क्लबका अध्यक्ष पाउलो ओ डनले उनका दाजु एसईजसँग छलफल गरे । ग्रेमियोले सैनिक प्रहरी र हेलिकोप्टर समेत तयार गरेर उनलाई रंगशालामा सार्वजनिक गर्ने कार्यक्रम समेत बनाइसकेको थियो, तर रोनाल्डिन्हो त्यहाँ कहिल्यै सार्वजनकि भएनन् । 

जब रोनाल्डिन्हो फ्लामेन्गोमा आबद्ध हुँदैछन् भनेर ओ डनले थाहा पाए, त्यसपछि उनले रुँदै एसईजमाथि वाचा तोडेको आरोप लगाए । ओ डन रोइरहेका बेला फ्लामेन्गोको हेडक्वाटरबाहिर भेला भएका २० हजार समर्थकलाई रोनाल्डिन्हो भन्दै थिए – ‘धेरै खेलाडीहरु आफ्नो करियर टुंग्याउनका लागि मात्रै ब्राजिल फर्कन्छन् । म भने जित्न आएको हुँ । फ्लामेन्गोको नामलाई सम्भव भएसम्म माथि उठाउन चाहन्छु । सकेसम्म धेरै उपाधि जितेर समर्थकहरुको ऋण चुक्त गर्छुु ।’  

ग्रेमियोका समर्थकहरु मख्ख थिए । जब १० महिनापछि रोनाल्डिन्हो ग्रेमियो भ्रमणमा गए । तब रंगशालामा सिक्का र चक्कु वर्षा भयो, समर्थकहरुले उनको तस्विरमा ‘नैतिकतारहित, तिमी व्यर्थ छौं’ लगायत शब्द लेखेर नक्कली पैसा फालेका थिए । 

यस खेल ४–२ ले हार्नुका बाबजुद रोनाल्डिन्हो पुराना समर्थकसँग सम्झौता गर्ने पक्षमा थिएनन् । रंगशालाको चेतावनीयुक्त वातावरणका विषयमा उनको जवाफ थियो –‘फ्लामेन्गोको भीडसँग अभ्यस्त मानिसलाई यो हल्ला ठूलो होइन ।’

जबकी उनैले कुनै समय भनेका थिए –‘मैले भिड्न नचाहने कुनै क्लब छ भने त्यो ग्रेमियो हो ।’
यो हार अनियमितता थिएन । फ्लामेन्गोमा रोनाल्डिन्होले बनाएका अधिकांश हेडलाइन मैदानबाहिरका थिए, २०११ को अस्विमरणीय खेललाई छाडेर । यस खेलमा भने उनी जर्बजस्त लयमा थिए । नेइमारको सन्तोषसँग उनको क्लब ३–० ले पछि थियो, त्यसपछि उनले ह्याट्रिक गरे अनि थप २ गोलका लागि पास मिलाईदिए । फ्लामेन्गोले खेल ५–४ ले जित्यो ।  

जब वाइन ग्लास र महिलाले घेरिएका तस्विरहरु बाहिर आए, त्यसपछि क्लबले आफ्ना कप्तान रातको समय बाहिर फेला परेमा फोनमार्फत जानकारी दिएर सतर्क गराउन भन्दै एउटा हटलाईन नम्बर नै जारी ग¥यो । ‘डायल बकटिथ’ नामक हटलाइन बनाएका फ्लामेन्गोका सल्लाहकार जोसे कार्लो पेरुआनोका अनुसार यसमा सधैं घण्टी बजिरहन्थ्यो, यद्यपी अधिकांश कलहरु ठट्टाका रुपमा आउँथे । 

‘रोनाल्डिन्होसँग फ्लामेन्गोको अनुहार थियो, तर उनी प्रतिबद्ध थिएनन् । रात्री जीवन र अल्कोहल धेरै थियो,’ पेरुआनो भन्छन्,‘उनी फुटबलरभन्दा धेरै पार्टी गर्ने मानिस हुन् ।’ 

जब फ्लामेन्गोको प्रशासनिक समस्याले तलब ढिला भयो, तब एसईजले आफ्ना भाइको सम्झौता रद्दमात्रै गरेनन्, क्लबविरुद्ध १४ मिलियन पाउन्डको मुद्दा पनि दायर गरे । 
चार वर्षको सम्झौता १६ महिनासम्म मात्रै टिक्यो । आक्रोशित समर्थकहरुले पुत्ला जलाएको चार दिनपछि यी परिचित अनुहारलाई सञ्चारमाध्यमको हेलिकप्टरले एथलेटिको मिनाइरोको मैदानमा अभ्यास गर्दै गरेको अवस्थामा देख्यो । 

त्यो सम्झौताले धेरै कुराहरु परिवर्तन गर्दै थियो, रोनाल्डिन्होले तलब कटौती गरे अनि १० नम्बरको साटो ४९ नम्बरको जर्सी लगाए  १९४९ उनकी आमाको जन्म वर्ष थियो ।  
उनको आग्रह थियो, त्यहाँ कुनै भव्य अनावरण हुनेछैन । ‘यो नयाँ अध्याय हो,’ २०१२ जुनमा उनले पत्रकारहरुसँग भने,‘जब हामीले धेरै आलोचना सहन्छौं, तब हामी अवस्था परिवर्तन गर्न चाहन्छौं । म यहाँ त्यही इच्छाले आएको हुँ ।’
यसपटक उनले फुटबललाई चर्चाको विषय बन्न दिए । एथलेटिकोका प्रशिक्षक कुका ३२ वर्षका रोनाल्डिन्होले उत्कृष्ट खेल्न सक्नेमा विश्वस्त थिए, त्यसैले उनलाई सेन्ट्रल रोल दिइयो । थपिएको जिम्मेवारीले नतिजा दियो । २०११ मा यो क्लब ४ अंकले बल्लतल्ल रेलिगेसनबाट जोगिएको थियो, तर रोनाल्डिन्हो आएपछि लिगको दोस्रो स्थानमा आयो, १३ वर्षपछि पहिलोपटक कोपा लिबर्टाडोेरेसमा छनोट भयो । 

लिगमा उत्कृष्ट खेलाडीको अवार्ड रोनाल्डिन्होले जिते । स्पोर्टस् राइटर भिक्टोर मार्टिन्सका अनुसार यतिबेला रोनाल्डिन्होको मानसिकता फरक थियो । ‘सप्ताहन्तमा रात्रिकालिन जमघट, बार्बेक्यु, संगीत, बियर र टकिला जारी थियो । तर उनको मानसिकता फरक थियो । उनले एथलेटिकोमा फर्म फर्काउनुका दुई प्रमुख कारण छन्,’ मार्टिन्सले भने,‘पहिलो उनले दुखित भएर फ्लामिन्गो छाडेका थिए र यो प्रमाणित गर्न चाहन्थे कि समस्या आफूमा होइन, उनीहरुमै थियो । दोस्रो, जब उनकी आमालाई क्यान्सर  हुँदा समर्थकहरुले विशेष ब्यानर बनाएर साथ दर्शाए, जसले रोनाल्डिन्होलाई यति छोयो कि उनी रोएका थिए ।’ मार्टिन्सका अनुसार समर्थकबाट प्रभावित भएपछि च्याम्पियन बनेर मात्रै क्लब छाड्छु भनेर उनले घोषणै गरेका थिए । 

अहिले एभर्टनबाट खेलिरहेका विंगर बर्नाड र म्यानचेस्टर सिटीका पूर्व स्ट्राइकर जो पनि यस समय रोनाल्डिन्होसँगै थिए । एथेटिकोलाई इतिहासमै पहिलोपटक कोपा लिबर्टाडोरेसको फाइनलमा पु¥याउने क्रममा रोनाल्डिन्होले ४ गोल गरे भने ७ पटक एसिस्ट गरे । 

‘यो त्यस्ता व्यक्तिसँग चेस खेल्नुसरह हो । जसले तपाईलाई तीन मुभमै चेकमेटमा पु¥याउनसक्छ,’ २०१६ मा ब्राजिलियन टिभीसँग जोले भनेका थिए, ‘उनले प्रत्येक खेलमा मलाई तीनपटक गोलका लागि पास दिने र त्यस्तो हुन नसके बियरको क्रेट किनिदिने बाजी राखेका थिए ।’

लिबर्टाडोरेसमा जो शीर्ष गोलकर्ता थिए, तर पाराग्वेको ओलम्पिया क्लबसँग फाइनलको दोस्रो लेगमा एथलेटिको २–० ले पछि थियो । तीन मिनेट बाँकी छँदा बराबरी गरेर उनीहरुले खेललाई पेनाल्टीमा धकेले ।  अन्तिम पेनाल्टी प्रहार गर्ने जिम्मेवारी पाएका रोनाल्डिन्होले गोल गरेपछि खेल ४–१ ले जित्दै एथलेटिकोले १९७१ पछि पहिलो ठूलो उपाधि सुनिश्चित ग-यो । 

यस जितले रोनाल्डिन्होलाई विशिष्ट फुटबल बनायो – विश्वकप, च्याम्पियन्स लिग, विश्व वर्ष खेलाडी, बेलोन डि अर र कोपा लिबर्टाडोरेस जित्ने इतिहासका एकमात्रै फुटबलर । 
‘यसबारे हामीले कहिल्यै छलफल गरेका थिएनौं,’ आफ्नो २४ वर्षे करियरमा पाँचमध्ये ४ उपलब्धि हासिल गरेका रिभाल्डोले भने,‘उनी लिबर्टाडोरेस च्याम्पियन हुन पाउने धेरै भाग्यमानी बने र मैले यो उपाधि नजितेपनि उनले जितेकोमा खुसी छु । यो उनको करियरका लागि धेरै महत्त्वपूर्ण थियो ।’ 

एक वर्षपछि जुलाई २०१४ मा रोनाल्डिन्होले एथलेटिको छाडे । यहाँको चक्र अन्त्य भएर मेक्सिकोमा नयाँ चुनौतीले  कुरिरहेको थियो । 
तर मिलान छाड्दा कमजोर हुने जो पूर्वाअनुमानको वास्तविक सुरुवात बल्ल हुनेवाला थियो ।  

‘हरेक खेल सकेपछि प्राइभेट प्लेन लिएर उनी कानकुन वा प्लाया डेल कार्मेन जान्थे,’ रोनाल्डिन्होसँगै मेक्सिकोको क्युरेटारोबाट खेलेका प्याट्रिसियो रुबियोले भनेका छन्, ‘उनी मंगलबार मात्रै फर्कन्थे, सोमबार अभ्यास गर्दैन थिए । उनी स्टार थिए ।’

रोनाल्डिन्होको मेक्सिको यात्रा केवल ९ महिना चल्यो, करियरमा पहिलोपटक बिना उपाधि नै टुंगियो । यसपछि ब्राजिलमा फ्लुमिनिन्से क्लबमा यस्तै फलरहित यात्रा चल्यो । आलोचित हुन थालेपछि सेप्टेम्बर २०१५ मा उनले आफैं सम्झौता रद्द गरे । ‘प्रस्तावहरुको कमी थिएन, तर उनले आफैं नखेल्ने निर्णय लिए,’ एसईजले केही समयपछि भनेका थिए । 

रोनाल्डिन्होले औपचारिक रुपमा तीन वर्षपछि ३७ वर्षको उमेरमा जनवरी २०१८ मा सन्यास लिए । अझै पनि खेल्नका लागि प्रस्ताव भने आइरहेकै छन् । 
गत जुनमा म्याराडोना प्रशिक्षक रहेको अर्जेन्टिनी क्लब जिम्नासियासँग उनको नाम जोडिएको थियो । जबकी, उनी ४० वर्ष भइसके र पाराग्वेमा नजरबन्द छन् । म्याराडोनाले रोनाल्डिन्होबारे भनेका थिए – ‘उनको एउटै गल्ती आदर्श बन्नु हो । म मृत्यृसम्म पनि उनको समर्थन गरिरहनेछु ।’

रोनाल्डिन्होको करियर देखेकाहरुलाई पोडियमदेखि जेलसम्मको उनको यात्रा नियाल्न निकै सकस परिरहेको छ । 
उनले मैदानमा सधैं खुसी बाँडे, त्यसैले यो पछिल्लो शृंखला दुखद् छ । यद्यपी, यो आश्चर्य होइन – यस्तो हुनसक्ने केही संकेत देखिएका थिए । कलममार्फत लिइएका उनका निर्णय फुटबलमा जस्तो छरितो कहिल्यै थिएन । २०११ मा पत्रकार सम्मेलनमा पेप्सी पिइरहेको भेटेपछि  कोकाकोलाले उनीसँगको सम्झौता रद्द गरेको थियो । २०१६ मा पाराओलम्पिक खेलको ब्रान्ड एम्बेसडर नियुक्त भएपछि उनले केवल दुई खेल खेलेर इन्डियन प्रिमियर फुटसल लिगसँगको सम्झौता तोडे । 

पछिल्ला वर्षहरुमा यस्ता हठात् निर्णयले थप चिन्ताजनक अवस्था निम्त्यायो । २०१८ मा उनी र एसईजले वातावरण संरक्षण क्षेत्रमा अनुमति बिना ७० मिटर लामो पिएर (समून्द्रमा रिसोर्ट शैलीको खुला बाँध) बनाएबापत २ मिलियन पाउन्ड जरिवाना तिर्नुपर्ने भयो । उनीहरुले जरिवाना तिर्न अस्विकार गरेपछि अधिकारीहरुले ५७ वटा सम्पत्ति र दाजुभाइको पासपोर्ट कब्जामा लिए, आर्थिक सहमतिपछि मात्रै ती कागजात फिर्ता गरियो । अघिल्लो वर्ष रोनाल्डिन्होकी पूर्व–प्रेमिकाले उनको सम्पत्तीमा भागेदारी खोज्दै मुद्दा दर्ता गराइन् । 

मार्चमा पक्राउ पर्नभन्दा एक महिनाअघि उनीविरुद्ध आर्थिक अपचलनको मुद्दा चलेको थियो  । यद्यपी,१८ के रोनाल्डिन्हो नाम आर्थिक पिराडिम स्किममा उनको संलग्नताको विषयलाई रोनाल्डिन्होका वकिलले अस्विकार गरेका छन् । रोनाल्डिन्होले यसलगत्तै एलबिएलभी नामक कालोसूचीमा रहेको कम्पनीको पक्षमा ट्वीट गरेका थिए, यस कम्पनीको लाइसेन्स अघिल्लो वर्षमात्रै खारेज भएको थियो । 

पाराग्वेमा दाजु एसईजसँगै नक्कली पासपोर्ट प्रयोग गरेको अभियोगमा उनी पक्राउ परेको समाचार यसपछि आएको हो  । ३२ दिनसम्म उच्च सुरक्षाबीच राजधानी असुनसियोन नजिकको जेलमा बसेपछि १ दशमलव ६ मिलियन धरौटी तिरेर यी दाजुभाई आरामदायी पाल्मारोगा होटलमा स्थानान्तरण भएका छन् । पैसा ठगी गर्ने सम्भावित नेटवर्कबारे छानविन चलिरहेका बेला उनीहरु यहीं बस्नेछन् ।  

‘दस्तावेजहरु आधिकारीक होइनन् भन्ने थाहा पाउँदा हामी पुरै आश्चर्यमा प-यौं,’ रोनाल्डिन्होले पाराग्वेली पत्रिका एबीसीसँग भनेका थिए,‘पूरा जीवनभर मैले सकेसम्म व्यवसाहिक हुने र फुटबलमार्फत मानिसहरु समक्ष खुसी ल्याउने कोसिस गरेको छु । मलाई आशा छ हामी यो परिस्थितीबाट चाडै मुक्त हुनेछौं ।’

भ्रस्टाचार अभियोगमा लागेका पाराग्वेको फुटबल संघका पूर्व अध्यक्ष, ड्रग्स कारोबारीलाई सुरक्षा दिएका अभियोगमा जेल सजाय बिताइरहेका पूर्व प्रहरीकलगायत व्यक्तिहरुसँगै रोनाल्डिन्होले जेल जीवन बिताए । उनका दिनहरु सेक्युरिटी गार्डसँग सेल्फी लिएर अनि भिडियो कल गरेर बित्यो । स्थानीय मिडियाले कैदीबन्दीबीच भएको फुटबल खेललाई पनि चाखपूर्वक रिपोर्टिङ गरेका थिए । ११–२ को नतिजा निस्किएको यस खेलमा उनले ५ गोल गरे भने ६ वटा पास मिलाइदिए ।

जेलबाट जाकुजी र वाईफाईसहितको होटलको विलासी कक्षमा स्थानान्तरण भएयता जीवन अझै धेरै एक्लो बनेको छ ।  कोरोना महामारीका कारण यस होटलमा अहिले दुई दाजुभाइमात्रै पहुना छन् । रोनाल्डिन्होको एउटै आग्रह फुटबल खेल्नका लागि पर्याप्त ठाउँ चाहियो भन्ने थियो । ‘उनका लागि अभ्यास गर्न हामीले झन्डै ३० वाई १५ मिटरको कोठा तयार ग¥यौं,’ होटल म्यानेजर इमिलियो यीग्रोसले एएफपीसँग भनेका छन्,‘उनी सधैँ मुस्कुराउँछन्, उनका दाजुजस्तै ।’

त्यो हँसिलो दन्तलहर सायद अझै त्यहाँ छ, तर हाँस्ने विषयवस्तु नै छैन । रोनाल्डिन्होले रक्षापंक्तीको कमजोरीलाई समातेर आफ्नो सम्पूर्ण करियर बिताए, अब उनलाई पाँच वर्षे जेल सजायबाट बच्नुपर्ने आवश्यकता छ । सरकारी वकिलहरुसँग अनुसन्धानलाई निष्कर्षमा पु¥याउन ६ सेप्टेम्बरको समय छ । 

-बीबीसीबाट

अनुवाद : अन्वेषण अधिकारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप