बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेकपाको एकता अक्षुण रहन्छ: कार्यदल संयोजक पौडेल

शुक्रबार, ३० साउन २०७७, १७ : ०९
शुक्रबार, ३० साउन २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र लामो समय देखिको विवाद समाधानतर्फ अघि बढेको छ  । शुक्रबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तापछि विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएसँगै नेकपाको विवाद समाधानतर्फ अघि बढेको हो । पार्टीभित्र देखिएका समस्या पार्टीभित्रै समाधान गर्न सकिन्छ भन्ने निष्कर्षमा अध्यक्षद्वय पुगेको समितिका संयोजक विष्णु पौडेलले प्रतिक्रिया दिएका छन् ।

पौडेलले पार्टीभित्र देखिएको समस्यालाई संस्थागत ढंगले समाधान गर्न कार्यदल गठन भएको पनि जानकारी दिएका छन् । कार्यदलले समस्या पहिचान गर्ने र समाधानको सुत्र पहिल्याउदै सुझावसहितको प्रतिवेदन अध्यक्षद्वयलाई बुझाउने संयोजक पौडेलको भनाई छ ।

उनकाअनुसार सोही प्रतिवेदन अध्ययन गरी अध्यक्षद्वयले पार्टीको औपचारिक बैठकमा प्रस्तुत गर्नेछन् ।  उनले नेकपा विभाजनको कल्पना गर्ने प्रवृतिको अगाडी कार्यदल गठनपछि नेकपा अझ एकतावद्ध भएर अगाडी बढ्ने सन्देश प्रवाह भएको दावी समेत गरे ।

‘कतिपयले पार्टीमा विग्रहको कल्पना गरेका थिए । नेकपामा कुनै प्रकारको विग्रह हुँदैन । एकतावद्ध भएर अगाडी बढ्छ । नेकपाको एकता अच्छुर्ण रहन्छ भन्ने कुरा सुनिश्चित भएको छ’ संयोजक पौडेलको दावी छ ।  महासचिव पौडेलले नेकपा एकतावद्ध रहने कुरामा आश्वस्त रहन सबै नेता कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

‘नेकपा एकतावद्ध रहने कुरामा अस्वस्त रहन सबैमा आग्रह गर्दछु । आफ्नो अभिभारा सफलतापूर्वक पुरा गर्न नेकपा अगाडी बढेको छ । नेकपामा विग्रहको खोजी गर्ने शक्तिहरु, प्रवृतिहरु र तत्वहरुलाई भन्न चाहान्छु, अब नेकपाभित्र खेल्ने यस्ता कोशिस नगर्नुहोला । नेकपा आफ्नो अभिभारा बुझ्न र जनताले दिएको जिम्मेवारी पुरा गर्न प्रतिवद्ध छ’, पौडेलको भनाई छ ।

पार्टीभित्रका समस्याहरु जटिल अवस्थामा रहेको उल्लेख गर्दै उनले पार्टीका आन्तरिक समस्याका कारण सरकार सञ्चालनमा समेत समस्या रहेको बताए ।  ‘समस्याहरु निकै जटिल अवस्थामा पुगेको सत्य हो । जसले गर्दा पार्टी र सरकारका काममा विभिन्न प्रकारका व्यवधान सिर्जना भए । प्रभावकारी ढंगले काम अगाडी बढ्न सकेनन । अब सरकार र पार्टीका काम प्रभावकारी ढंगले अगाडी बढाउँछौ । सरकार र पार्टी दुबै प्रभावकारी भूमिकाका साथ प्रस्तुत हुन्छन,’उनको भनाई छ ।

कार्यदलमा महासचिव पौडेलसँगै स्थायी समति सदस्यहरू शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनादर्न शर्मा र पम्फा भुसाल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप