बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पहिरोको उच्च जोखिममा ३० घरपरिवार, ३ घर विस्थापित

बिहीबार, २९ साउन २०७७, ०९ : १०
बिहीबार, २९ साउन २०७७

लगातारको वर्षाले दार्मा गाउँपालिकामा करोडौँको क्षति पु¥याएको छ । यही साउन २५ गतेदेखि आएको अविरल वर्षाका कारण तीन घर परिवार विस्थापित भएका तथा ३० घर परिवार पहिरोको उच्च जोखिममा  छन् । 

वर्षासँंगै आएको पहिराले दार्मा ६ का टीके कामी र  विमला बुढाथोकी तथा वडा नं ४ का निराजन विकको घर पहिराले बगाउँदा परिवार विस्थापित भएका छन् । पहिराले घरसहित अन्नपात, लत्ताकपडा बगाएपछि परिवार आफन्तकहाँ आश्रय लिएर बसेका गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए । 

वर्षासँंगै आएको पहिराका कारण ग्रामीण सडक र  विद्यालयमा समेत क्षति पुगेको बताइएको छ । “अहिले पनि वर्षा भइरहेको छ,  गाउँपालिकाभित्र अझै पनि ३० घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् उनीहरुलाई सतर्क गराइएको छ”, अध्यक्ष केसीले भने । 

पहिरोले दार्मा गाउँपालिकाका नौ  घर तथा तीन  विद्यालयमा समेत क्षति पु¥याएको केसीले जानकारी दिए । “पहिराले गाउँपालिकाभित्र मानवीय क्षति भएको छैन तर पनि आर्थिक रुपमा भने साढे २ करोडभन्दा बढीको क्षति पु¥याएको छ, वर्षा अझै भइरहेकाले गाउँपालिकाभित्र पहिराको जोखिम अझै हटेको छैन”, अध्यक्ष केसीले भने ।

पहिरोले सडक, विद्यालय, घर तथा खेतमा बढी क्षति पु¥याएको अध्यक्षको भनाइ छ । गाउँपालिकाले पहिरोका कारण विस्थापित परिवारलाई आपत्कालीन राहत वितरण गरेको छ ।“हामीले गाउँपालिकाभित्र पहिरोका कारण विस्थापित परिवारलाई त्रिपाल, खाद्यान्न तथा जाली उपलब्ध गराएका छौंँ, गाउँपालिकाभित्र अहिले पनि जोखिमको सम्भावना भइरहेको र विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ”, केसीले भने । 

ग्रामीणस्तरमा निर्माण गरिएका सडक छेउमा रहेका घर पहिराको उच्च जोखिममा छन् । गाउँपालिकाभित्रका विद्यालयमा समेत पहिराले क्षति पु¥याएका कारण मर्मतसम्भार नगरेर विद्यालय सञ्चालन हुन नसक्ने अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ । 

पहिरोका कारण गाउँपालिका जोड्ने सडक अवरुद्ध भएपछि गाउँपालिकामा यातायातका साधन चल्न सकेका छैनन् । गाउँपालिका जोड्ने मुख्य सडक तत्काल सञ्चालनमा ल्याउन नसकिने गाउँपालिकाले जनाएको छ । 

पहिरोका कारण ठाउँठाउँमा पहिरो गएको र वर्षात्का कारण पुनः पहिरो आउने भएकाले तत्काल ग्रामीण सडक सञ्चालन गर्न नसकिने गाउँपालिका अध्यक्ष केसीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप