शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुटवलमा बिहीबारदेखि भदौ ५ गतेसम्म लकडाउन

बुधबार, २८ साउन २०७७, १९ : ५०
बुधबार, २८ साउन २०७७

बुटवल । बुटवल उपमहानगरपालिकाले बिहीबार रातीदेखि  भदौं ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या दैनिक बृद्धि भएपछि उपमहानगरपालिकाले सो निर्णय गरेको हो । उपमहानगरको कोभिड–१९ संकट व्यवस्थापन समितिको आज बसेको बैठकले विहिबार राती ११.४५ देखि आगामी भदौ ५ गते राती ११.४५ सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

विभिन्न सुरक्षा निकाय, राजनीतिक दल तथा प्रतिनिधिहरुको बैठकले बुटवलदेखि बाहिर जाने तथा बुटवल भित्रिनेहरुका लागि २४ घण्टाको समय दिएर लकडाउन गर्ने निर्णय गरेको मेयर शिवराज सुवेदीले रातोपाटीलाई जानकारी दिए । उनले कोरोना संक्रमण दैनिक बढेकोले लकडाउनभन्दा अर्को विकल्प नभएको बताए ।

लकडाउन अवधिमा अत्यावश्यकीय सेवाका स्वाथ्य क्षेत्र, खाद्यान्न, दुःध तथा तरकारी सञ्चालनमा आउन दिइने भएको छ । बुटवल हुँदै चल्ने लामो दुरीका सवारी साधनलाई बुटवलमा यात्रु ओराल्न नपाउने गरी सञ्चालन गर्न दिइने, सामान ढुवानीका साधनहरुलाई विशेष सुरक्षा अप्नाएर लोड अनलोड गर्न दिइने, उद्योगमा कार्यरत कर्मचारी तथा कामदारहरुलाई बाहिर निस्कन नपाउने गरी स्वास्थ्य सुरक्षा अपनाई उद्योग सञ्चालन गर्न दिइने भएको छ ।

उनका अनुसार बुटवलभित्रका खाद्यान्न पसलहरु बिहान ७ बजेदेखि ११ बजेसम्ममात्रै खुल्न पाउनेछन् । दुध डेरीहरु बिहान ७ देखि ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म मात्रै खुल्न पाउने छन् । त्यस्तै बैठकले सार्वजनिक र निजी सवारी पनि बन्द गर्ने निर्णय गरेको छ । तरकारी बोक्ने गाडीहरु पनि परिचयपत्र बोकेर मात्रै सञ्चालन गर्न पाइनेछ भने होटल तथा रेष्टुरेन्टहरु पनि बन्द गर्न निर्देशन दिइएको छ ।

लकडाउन अवधिमा अत्यावश्यक बाहेक सार्वजनिक, नीजि तथा सरकारी सवारीका साधन समेत  सञ्चालनमा ल्याउन नपाइने उनले बताए । आजको बैठकमा प्रदेश ५ आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीको उपस्थिती रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप