शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुख्यमन्त्री र अर्थमन्त्रीको द्वन्द्वले प्रदेश २ सरकार परिवर्तनको संघारमा

बुधबार, २८ साउन २०७७, १२ : ४५
बुधबार, २८ साउन २०७७

काठमाडौँ । तत्कालिन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच गठन भएर जनता समाजवादी पार्टी बने लगतै प्रदेश–२ मा सरकार परिवर्तन चर्चा शुरु भएको छ । प्रदेश २ मा अहिले तत्कालिन समाजवादी र राजपा नेपालको संयुक्त सरकार छ । केन्द्रमा पार्टीमा एकीकरण भएपनि संसदीय दल तथा अन्य तल्ला कमिटीको बीचमा एकीकरण भएको छैन ।

त्यही भएर केन्द्रमा एकीकरण भएपनि अहिले त्यहाँ दुई दलको सरकार रहेको छ । प्रदेश कमिटी र त्यसको संसदीय दलको एकीकरण हुने वित्तिकै त्यहाँ सरकार परिवर्तन हुने निश्चित छ । अहिले दुवै पार्टीका एक एकजना संसदीय दलका नेता रहेका छन् । तत्कालिन समाजवादी पार्टीको नेतृत्वमा त्यहाँको सरकार रहेको छ ।

एकीकरण पश्चात बन्ने संसदीय दलको नेता नै त्यहाँको सरकारको नेतृत्व गर्ने भएपछि अहिले जसपा नेपालमा प्रदेश संसदीय दलको अध्यक्ष बन्नका लागि हानाथाप भइरहेको छ । मुख्यमन्त्री मात्र होइन, पुरै टीम नै परिवर्तन गर्नुपर्छ भन्ने पार्टीमा अवाज उठ्न थालेको छ ।सांसदहरुले केही दिन पहिले जसपाका नेताहरुलाई भेटेर यसबारे ध्यानाकर्षण नै गराएका छन् ।

सरकार कमजोर हुनुको कारण

प्रदेश २ का सरकार कमजोर हुनुको मुख्य कारणमा त्यहाँको मुख्यमन्त्री र अर्थ मन्त्रीबीचको मनमुटाब हो । प्रदेश २ सरकारमा मुख्यमन्त्री लालबाबु राउत र अर्थ मन्त्री विजय यादव रहेका छन् । दुवैजना एउटै पार्टीका हुन् । सरकार गठन भएदेखि दुवैजनाको बीचमा कहिले राम्रो सम्बन्ध रहेन । त्यसको कारण हो, मुख्यमन्त्रीको पद । विजय यादव पनि प्रदेश २ का मुख्यमन्त्री बन्न चाहेका थिए । उनले पनि मुख्यमन्त्रीमा उम्मेदवारी दिएका थिए उनी सफल भएनन् । मुख्यमन्त्रीमा लालबाबुर राउत आए । लालबाबु मुख्यमन्त्री भएपछि पार्टीले विजय यादवलाई अर्थ मन्त्री बनाइएको थियो । त्यही बेलादेखि दुवैजनाको बीचमा सम्बन्ध राम्रो थिएन । मुख्यमन्त्री राउतलाई असफल बनाउनका लागि अर्थ मन्त्री यादवले कुनै कसर बाँकी राखेका थिएनन् ।

उता, मुख्यमन्त्री राउतले पनि विजय यादवलाई असफल बनाउनका लागि असहयोग गरिरहेका थिए । दुवैजनाले एक अर्कालाई असहयोग गर्न थालेपछि त्यसको असर पुरै सरकारमाथि नै पर्यो र अहिले प्रदेश २ सरकार असफल भएको कुरा मधेशका बुद्धिजिवीदेखि लिएरु पार्टीकै सांसदहरुले समेत गुनासो गर्न थालेका छन् ।

कुनै पनि सरकारमा सरकार प्रमुख र अर्थमन्त्री बीच सम्बन्ध राम्रो हुनुपर्छ । दुईजनाको कुरा मिलेपछि मात्र सरकार सफल हुन्छ । सरकारका लागि बजेट निर्माणदेखि लिएर विजेट निकासासम्मको काम अर्थ मन्त्रीको हातमा हुन्छ ।

प्रदेश २ सरकारका अर्थमन्त्री यादवले त्यस्तो व्यवहार मुख्यमन्त्रीसँग मात्र नभएर अन्य मन्त्रीसँग गरेको गुनासो प्रदेशमा सुन्न पाइन्छ । आर्थिक वर्ष २०७४÷०७५ को ८७ करोड रुपियाँ अझै भुक्तानी भएको छैन । एक मन्त्रीका अनुसार प्रदेश संसद र मन्त्रीपरिषद्ले समेत भुक्तानी दिन निर्णय गरिसकेपछि पनि अर्थमन्त्री यादवको कारण भुक्तानी भइरहेको छैन । यता, अर्थमन्त्री यादवले भने कानुनले नमिल्ने काम आफूले नगर्ने भन्दै आइरहेको दावी गर्दै आइरहेका छन् ।

ती मन्त्रीले भने, सरकारले लक्ष्य अुनसार खर्च गर्न नसक्नुमा कतै नकतै अर्थमन्त्री पनि दोषी हुन्, मलाई थाह छैन कि अर्थमन्त्रीले यो सरकारलाई असफल बनाएर के गर्न खोज्नुभएको छ ।’

सांसदको डेलिगेशन

प्रदेश २ का तत्कालिन राजपा र समाजवादी पार्टीका सांसदहरुले जसपा नेपालका नेताहरुलाई मन्त्रीहरुको गुनासो गरेका छन् । मन्त्रीहरु काम नगरेको, भ्रष्टार र कमिशनमा डुवेको, एक अर्कामा समन्वय नरहेको गुनासो गरेका छन् । सरकारले के काम गर्ने, के गर्ने, त्यसको पनि छनौट गर्न नसकेर वडाले गर्ने काम प्रदेश सरकारले गरिरहेको गुनासो ती सांसदले नेताहरु समक्ष गरेका छन् ।

देशमा प्रदेश २ कोरोनाका लागि हटस्पट बनिरहेको छ तर सरकार निरिह बनेर हेरिरहेको गुनासो पनि सांसदहरुको थियो । वजेट छ तर त्यसलाई खर्च गर्न सकिरहेको छैन, मन्त्रीहरुको एक आपसमा समन्वय नभएको कारण कतिपय हुनुपर्ने काम पनि हुन नसकिरहेको गुनासो सांसदहरुको थियो ।

साउन २० र २१ गते दुई दिन उनीहरुले जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता डा.बाबुराम भट्टराई, राजेन्द्र महतो र कार्यकारिणी समितिका सदस्यहरु महेन्द्र राय यादव, राजकिशोर यादव, अनिलकुमार झा र शरतसिंह भण्डारीलाई छुट्टा छुट्टै भेटेर प्रदेश सरकार परिवर्तनका लागि उनीहरुले दबाब दिएका छन् ।

मुख्यमन्त्रीदेखि लिएर मन्त्रीहरु आआफ्नो क्षेत्रको आधारमा मन्त्रीमुखी बजेट बनाएको गुनासो पनि उनीहरुले गरेका छन् । आ–आफ्नो नातेदार, आफन्त तथा कार्यकर्तालाई मात्र विकास निर्माणका कार्यक्रमहरु दिएर सरकारलाई बदनामा गराएको गुनासो पनि सांसदहरुको थियो । अर्थमन्त्री विजय यादवले आफ्ना दाइमार्फत २१ करोडको काम दिएको चर्चा पनि नेताहरुको बीचमा चलेको थियो ।

समाजिक विकास मन्त्री नवलकिशोर साहले सम्पूर्ण काम आफ्ना छोरामार्फत गराउने गरेको गुनासो पनि सांसदहरुको थियो । त्यसको जवाफमा नेताहरुले यी सबै कुरा आफूहरुलाई जानकारी रहेको र यसको बारेमा आफूहरु गम्भीर रहेको प्रतिकृया दिएका थिए ।

प्रदेश सांसदसँग कुराकानी गर्दै शीर्ष नेताहरुले यसबारे चाँडै नै पार्टीले छलफल गर्ने आश्वासन दिएका छन् । प्रदेश सांसद विक्की यादवले प्रदेश २ को सरकार परिवर्तन हुनुपर्छ भनि माग राख्दै आफूहरु पार्टीका नेताहरुलाई भेटेको बताए । उनले भने, ‘यत्रो दिन भइसक्दा प्रदेश सरकारले एउटा पनि नमूना काम गर्न सकेको छैन । सरकारको एक दुईजना मन्त्री मात्र होइन, पुरै टीम नै परिवर्तन गर्नुपर्ने कुरा आफूहरु नेता समक्ष राखेका छौँ ।’

कहिले हुन्छ परिवर्तन ?

पार्टीले पार्टी समायोजनको निर्देशिका तयार पारिसकेको छ । अब पार्टी समायोजनको काम शुरु हुन्छ र केही दिनै प्रदेशको समायोजन गरी त्यहाँ संसदीय दलको नेता चयन गर्ने काम हुने र त्यसपछि स्वतः सरकार परिवर्तन हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप