बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिडको त्रासः अस्पताल डुलाउँदा डुलाउँदै २ जनाको मृत्यु

मङ्गलबार, २७ साउन २०७७, २२ : २९
मङ्गलबार, २७ साउन २०७७

झापा । कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएको जनाउँदै स्थानीय अस्पतालहरु उपचारमा पन्छिएपछि झापामा आज दुई जनाको  मृत्यु भएको छ । मेचीनगर –५ का ११ वर्षीय सागर तामाङ र कनकाई –५ का १७ वर्षीय रोशन सुनारको मृत्यु भएको हो ।

फुटबल खेल्दा सामान्य घाइते भएका दुवैलाई ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालहरुले पिसिआर परीक्षणबाट कोभिड –१९ नभएको रिपोर्ट ल्याएपछि मात्र उपचार गर्ने भनी एकले अर्कालाई रेफर गरेका कारण अस्पताल डुलाउँदा डुलाउँदै दुवैको मृत्यु भएको थियो ।

सोमबार ज्वरो बढेकाले तामाङलाई उपचारका लागि राति १ बजे बिर्तामोडको कनकाई हस्पिटल पु¥याइएको थियो । कनकाईले बालकलाई बिएण्डसी हस्पिटल लैजान सिफारिस गरेको थियो । बिएन्डसीले पनि धरान लैजान सिफारिस गरेको थियो । बिएण्डसी हस्पिटलले छातीको एक्सरे गरेपछि निमोनिया भएको ठहर गर्दै कोरोना सङ्क्रमण हुन सक्ने आशङ्कासहित बिरामीको पिसिआर परीक्षण गर्न र धरान लैजान सिफारिस गरेको थियो । त्यसपछि बालकको उपचार अभावमै बिहान ४ बजेतिर मृत्यु भएको थियो ।

यसैगरी कनकाईका सुनारलाई गए राति उपचारका लागि बिर्तामोडको बिर्तासिटी हस्पिटल लगिएको थियो । बिर्तासिटीले कोभिडसँग मिल्दोजुल्दो लक्षण भएको जनाउँदै अन्यत्र लैजान सिफारिस गरेपछि उनलाई कनकाई हस्पिटल लगिएको थियो । कनकाईले मेची अञ्चल अस्पताल लैजान सिफारिस गरेको थियो भने मेची  अस्पतालले आइसियु खाली नभएको जनाई भद्रपुरकै ओमसाई पाथीभरा हस्पिटल पठाएको थियो । ओमसाईले कोभिड–१९ परीक्षण नभएको जनाई मेचीमै फर्काएको थियो । त्यसपछि मेची अस्पतालमा उनको मृत्यु भयो ।

मेचीनगर–५ का वडाध्यक्ष योगेश थापामगरले अस्पतालहरुले उपचार नगरी अन्यत्र पठाउने गरेकै कारण बिरामीको मृत्यु हुनु सर्वसाधारणको स्वास्थ्यमाथिको गम्भीर खेलबाड भएको बताए ।  ‘कोरोना महामारीको समय छ भन्दैमा अन्य बिरामीको उपचारै नगरी बेवास्ता गर्नु ठीक भएन’, वडाध्यक्ष थापाले भने, ‘उपचार नै नगर्ने हो भने हस्पिटल हुनु र नहुनुको के अर्थ रह्यो ?’ 

बिएण्डसी हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले ज्वरो आएका बालकको उपचार गरिएको तर कोरोनासँग मिल्दोजुल्दा लक्षण देखिएपछि कोभिडको परीक्षण हुने र उपचार हुने अस्पतालमा लैजान सिफारिस गरिएको बताए । कोभिडको उपचार र पिसिआर परीक्षण बिएण्डसी हस्पिटलमा नहुने हुँदा शङ्कास्पद बिरामीलाई अन्यत्र पठाउनु बाध्यता भएको उनको भनाइ थियो । झापामा मेची अञ्चल अस्पतालमा मात्र कोभिड –१९ को पिसिआर परीक्षण र उपचार हुने गरेको छ ।  पच्चीस शय्याको आइसोलेशन वार्ड भने सङ्क्रमितले भरिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप