शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओटीसी बजारमा १२३ कम्पनी, नेप्सेमा सूचीकृत नभए पनि यसरी हुन्छ शेयर कारोबार

मङ्गलबार, २७ साउन २०७७, ०९ : २९
मङ्गलबार, २७ साउन २०७७

काठमाडौँ । वैकल्पिक दोस्रो बजार मानिने ओसीटी बजारमा १२३ कम्पनी दर्ता भएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार विभिन्न कारणले दोस्रो बजारमा सूचीकरण हुन नसकेका शेयरहरुको कारोबार गर्ने त्यस्तो बजारमा हालसम्म विभिन्न क्षेत्रका समेत गरी सो संख्यामा कम्पनीहरु दर्ता भएका हुन् । ओभर दि काउन्टर (ओटीसी) भनिने उक्त बजारमा काउन्टरमा भौतिक रुपमै उपस्थित भएर शेयरको कारोबार गरिन्छ । ओटीसी विनियमावली अनुसार विभिन्न समयमा सूचीकरण खारेज भएका, सूचीकरणका लागि आवश्यक शर्त पूरा गर्न नसकेका वा सूचीकरणको प्रक्रियामै नआएका कम्पनीहरुको कारोबार यो बजारमार्फत् हुँदै आएको छ । 

हालसम्म धेरैजसो मर्चेन्ट बैंकर, भेन्चर क्यापिटल, जलविद्युत आयोजना, शैक्षिक संस्था, विद्यालय तथा कलेज, अस्पताल, दुग्ध डेरी, प्रकाशन गृहहरु, चिया तथा कफी उद्योग, डिजिटल भुक्तानीको सेवा दिने कम्पनी, वस्तु विनिमयसम्बन्धी काम गर्ने कम्पनी, धितोपत्र बजार कम्पनी तथा विभिन्न ग्रुपआबद्ध कम्पनीहरु यस बजारमा दर्ता भएको पाइएको छ । नेपाल स्टक एक्सचेञ्ज आफैं पनि सोही बजारमा दर्ता भएर आफ्नो शेयर कारोबार गर्दै आएको छ । नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका केही शेयरहरु समेत यो बजारबाट कारोबार हुने गर्छ ।

कसरी हुन्छ कारोबार ?

ओटीसी बजारमा कारोबार गर्न सम्बन्धित कम्पनीहरु यस्तो बजारमा दर्ता हुनुपर्छ । त्यसका लागि आवश्यक प्रक्रिया पूरा गरी नेपाल स्टक एक्सचेञ्जमा निवेदन दिनुपर्छ । यसरी दर्ता भएका कम्पनीका व्यक्तिगत तथा संस्थागत शेयरधनीले आफ्नो स्वामित्वमा रहेको शेयर विक्री गर्न चाहेमा यस्तो कारोबारका लागि सो बजारमा निवेदन दिनुपर्छ । तर त्यसरी निवेदन दिँदा सम्बन्धित कम्पनीबाट आफ्नो दस्तखत प्रमाणित गराएर ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

त्यसरी शेयरधनीले बिक्रीका लागि बिक्री आदेश भरेर निवेदन दिएपछि त्यो आदेश दर्ता हुनेछ । त्यसरी दर्ता भएको बिक्री आदेशलाई इच्छुक व्यक्तिले खरिदका लागि आदेश दिन सक्नेछ । त्यसरी आदेश दिँदा खरिद रकमको १० प्रतिशत पेश्कीस्वरुप बुझाउनुपर्ने व्यवस्था गरिएको छ । एकभन्दा बढी खरिदकर्ता भएमा मूल्य बढाबढको आधार त्यस्तो शेयर बिक्री हुने गरेको छ ।

कारोबार भएको ३ दिनभित्र बिक्रेताले आफ्नो शेयरको प्रमाणपत्र तोकिएको शाखामा पेश गर्नुपर्नेछ भने खरिदकर्ताले ३ दिनभित्र नै कबोल गरेको रकम बैंकमा जम्मा गरी त्यको भौचर धितोपत्र बजारलाई उपलब्ध गराउनुपर्छ । त्यसपछि सो शेयरको नामसारी प्रक्रिया सुरु हुन्छ । यसअघि नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्जको आफ्नो नाममा रहेको शेयर यही प्रक्रियाबाट बिक्री गरेको थियो ।

यी हुन् ओटीसी बजारमा सूचीकृत भएका कम्पनीहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप