शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविविमा प्राध्यापक र पोखरामा विद्यार्थीसँग संवाद गरेर आन्दोलनका माग पूरा गर्न काँग्रेसको आग्रह

सोमबार, २६ साउन २०७७, २० : २३
सोमबार, २६ साउन २०७७

नेपाली काँग्रेसले त्रिभुवन विश्वविद्यालय (त्रिविवि)मा प्राध्यापक र पोखरामा विद्यार्थीसँग अविलम्ब संवाद गरेर आन्दोलनका माग पूरा गर्न आग्रह गरेको छ । त्रिविविमा पछिल्लो समयमा भइरहेको अनेक अनियमितता र चरम राजनीतिकरण एवं पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा १८ दिनदेखि जारी बिद्यार्थीहरुको अनशनप्रति सरकारी बेवास्तालाई काँग्रेसले गम्भीरतापूर्वक लिएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

सोमबार शर्मादवारा जारी विज्ञप्तिमा भनिएको छ, 'नेकपाको वर्तमान सरकारबाट नियुक्त त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरुले प्राज्ञिक संस्थाको जिम्मेवारी अनुरूपको गरिमा राख्न नसक्दा विश्वविद्यालय अन्वेषण र चिन्तनको थलो भन्दा विसंगतिपूर्ण द्वन्द्वको खेल मैदान बन्दै जानु दुःखद भएको छ ।'

उनका अनुसार प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले त्रिविलाई प्राज्ञिक सुशासनको केन्द्र बनाऔं भन्ने उद्घोष साथ प्राज्ञिक, शैक्षिक एवं प्रशासनिक पदको नियुक्ति राजनितिक भागवण्डामा नगरि जेष्ठता र प्राज्ञिक वरिष्ठताको आधारमा निश्चित मापदण्ड पारदर्शी ढंगले निर्धारण गरि नियुक्ति गर्नु पर्ने लगायतका ३३ बुंदे माग अघि सारेर दबाबमूलक कार्यक्रम गर्दै आएको छ । 

तर संवादवाट समाधान खोज्नु पर्ने प्रक्रियातर्फ भन्दा प्रजातन्त्रवादी प्राध्यापक संघको नेतृत्वप्रति ब्यक्तिगत पूर्वाग्रह राखेर मुद्दा दायर गर्ने कार्यले द्वन्द्व झनै बढ्ने देखिएको शर्माको भनाइ छ ।

अध्यक्ष सह प्रा जगत तिमिल्सिना र महासचिव सह प्रा राजेन्द्र गौतम माथिको मुद्दा अविलम्ब फिर्ता लिएर वार्ता र संवादद्वारा समस्याको समाधान गर्न काँग्रेसले सरकार एवं त्रिवि प्रशासन समेतलाई आग्रह गरेको छ ।

यस्तै पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा नेपाल बिद्यार्थी संघका विद्यार्थीहरु अनशनमा बसेको ३ साता पुग्न लाग्दा पनि सरकार र विश्वविद्यालयले समाधान खोज्न पहल नगर्नु दुःखद भएको शर्माले बताए ।

शर्माले भने, 'विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर भनेर दबाब दिंदै बिद्यार्थीहरु आन्दोलनमै उत्रनु पर्ने स्थिति आउनु सरकारका लागि लज्जास्पद स्थिति हो ।'

समस्त बिद्यार्थीको भावना प्रतिनिधित्व गरेर विभिन्न जायज माग अघि सारेर अनशनमा बसेका विद्यार्थीहरुसँग अविलम्ब संवाद गर्न र माग पूरा गर्नसरकार र सम्बन्धित पक्षलाई काँग्रेसको आग्रह छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप