शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायत पठाइदिने भन्दै भिजिट भिसामा युएई पुर्‍याएर अलपत्र पारियो,  न्याय माग्दा माग्दा कुटपिट

सोमबार, २६ साउन २०७७, १६ : ०९
सोमबार, २६ साउन २०७७

बेलायत पठाइदिने भन्दै भिजिट भिसामा युएई लगेर अलपत्र बनाइएका २  नेपालीलाई दलालले निर्घात कुटपिट गरेको पाइएको छ।बेलायत जाने सपना बुनेर भिजिट भिसामा युएई पुगेका रामेछापका टिकाराम बोहोरा र मनोहर केसी दलालबाट उल्टै कुटिएका हुन्।

एक महिना तालिम लिएपछि बेलायत जाने चाँजोपाँचो नमिलेसम्म युएईमै हाइप्रोफाइल क्लोज प्रोटेक्सन गार्डको रुपमा काम लगाइदिने भन्दै युएईको लागि नेपाली दलाल श्याम थापाले ७ हजार ५ सय दिर्हाम मासिक तलबको जव अफर लेटर र इम्प्लोयमेन्ट भिषा समेत दिए। तर अफर लेटर र इम्प्लोयमेन्ट भिसा नै नक्कली भएको र निज थापाको कम्पनी एचएसडी इन्टरनेश्नल सेक्युरिटी सर्भिस एलएलसी, आफैले खोलेको डमी भएको तथ्य खुलेकाे थियो  । सो खुलासा भएसँगै पीडितहरुको पासपोर्ट जफत गरेर थापा सम्पर्कबिहीन भएपछि पीडितले गैरआवासीय नेपाली संघ (एनआरएन) युएई र नेपाली दूतावासमा सहयोग र उद्धारका लागि निवेदन दिएका छन् ।

श्याम थापाले पीडितलाई दिएको अफर लेटर र स्यालेरी एग्रिमेन्ट
 

उनीहरुले केही दिन पहिले दूतावासमा उजुरी गरेको थाहा पाएपछि गत शुक्रबार बेलुकी श्याम थापाले गैर आवासीय नेपाली संघ (एनआरएनए) दुबई क्षेत्रका अध्यक्ष भीम मल्ल र उपाध्यक्ष निराजन खत्री(एरिक)को उपस्थितिमा केही स्थानीय बारमा काम गर्ने युवाहरुले बोहोरा र केसीलाई भेट्न भन्दै (नेपाली चोक)बरदुबईमा बोलाएका थिए। उनीहरु आफ्नो पासपोर्ट पाउने आशामा बरदुबई पुग्दा छलफलको क्रममा सामान्य विवाद भएपछि उनीहरुमाथि अन्धाधुन्ध आक्रमण भएको हो ।

दूतावास र एनआरएनए युएईलाई पीडितले दिएको निवेदन
 

पीडितमाथि निर्घात कुटपिट हुँदा पनि एनआरएनए दुबईका अध्यक्ष मल्लले कुनै प्रतिक्रिया जनाएनन्।उल्टै उनले प्रहरीलाई खबर नगर्न र मिल्न दबाब दिएका पीडित टिकाराम बोहोराले रातोपाटीलाई बताए। 'हामीले दुबई अध्यक्ष मल्लको सामुन्ने उल्टै कुटाइ खानु पर्यो', बोहोराले भने, 'पासपोर्ट लिन बोलाएर थापाले कुट्न लगाए र केस प्रहरीमा उजुरी नगर्न मल्लले दबाब दिए।'

पछि बोहोराले प्रहरीलाई खबर गरेपनि श्याम थापा सहितको टोली फरार भएको बताइएको छ। पीडित बोहोराले आफू माथि साँघातिक हमला भएको बारे प्रहरीमा उजुरी गरिसकेका छन् भने हालसम्म थापा फरार छन्।

पीडितहरुले एनआरएनमा निवेदन दिए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको पीडित मनोहर केसीले बताए। उनले भने,  'हाम्रो केस दर्ता भैसकेको छ।हामी कानुनी उपचारमा छौं।'

यता एनआरएनए दुबई क्षेत्रका अध्यक्ष भीम मल्ल ठकुरीले आफ्नो फेसबुक लाइभ मार्फत आफूले पीडितहरुलाई सहयोग गरेको बताउँदै दुबईमा रहेका  श्याम थापालाई पीडितहरुको पासपोर्ट दिन लगाएको दाबी गरे। उनले  थापालाई पीडितहरुसँग भेट गराई समस्याको समाधान गर्न खोजेको दावी गरेका छन्।आफूले पीडितको पक्षमा काम गरेको बताउँदै  पीडितहरुलाई सान्वना दिँदै आवश्यक कानुनी प्रक्रिया पुरा गरी दलाललाई छिटो भन्दा छिटो कारवाही गर्ने आश्वासन दिए।

विभागमा परेकाे उजुरी

यता गैर आवासीय नेपाली संघ एनआरएनए (एनए) युएईले एक विज्ञप्ति जारी गर्दै दुबई क्षेत्रीय समिति अध्यक्ष भीम मल्ल र उपाध्यक्ष निराजन खत्री (एरिक) उक्त घटनामा संलग्न नरहेको बरु उल्टै श्याम थापासँग पासपोर्ट जफत गरी पीडितहरुलाई सहयोग गरेको बताएको छ। तर आश्चर्य यो छ कि, उक्त विज्ञप्तिमा आधिकारिक व्यक्तिको हस्ताक्षर छैन। 

श्याम थापा

एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइरालाले प्रकाशित विज्ञप्ति आधिकारिक नभएको बताए। उनले भने,  'विज्ञप्ति आएपछि मैले थाहा पाएँ।कुनैपनि सूचना वा विज्ञप्ति प्रकाशन गर्ने काम संस्थाको प्रवक्ता वा सचिवले गर्ने निर्णय गरेका थियौं, विज्ञप्ति अथवा सूचना प्रकाशन गर्दा अध्यक्षसँग परामर्श गर्नु पर्थ्यो तर यसो भएन, म दुखी छु',  उनले भने, 'आगामी दिनमा यसो नहोस्।'

यद्यपि कोइरालाले पनि उक्त घटनामा दुबई क्षेत्रीय समिति अध्यक्ष भीम मल्लको संलग्नता नदेखिएकाे दावी गरे । उनले घटना हुनु भन्दा केही समय अघि मल्लसँग टोलिफोन संवाद गरेको र मल्लले थापालाई पीडित सामु उपस्थित गराएको पाइएको कोइरालाले बताए।
मल्ललाई उद्वत गर्दै अध्यक्ष कोइरलाले भने, 'दलाल श्याम थापाले केही समय अघि युएई ल्याएका केही नेपाली र पछिल्लो समय आएका ग्रुप बीच विवाद हुँदा कुटपिट भएको बताए।' उनले दोषी जो सुकै भएपनि पीडितले न्याय पाउनै पर्ने बताए  ।

६३ जना नेपालीसँग जनही ९ लाख लिएर बेलायत लैजाने भन्दै दुबईमा अलपत्र 

काठमाडौँस्थित तीनजुरे ईम्प्लोइमेन्ट सर्भिसेज प्रालिकी जनसम्पर्क अधिकृत सिर्जना अधिकारी, सन्तोष थापा र दुबई बस्ने श्याम थापाले ६३ जना नेपालीहरुलाई बेलायत लैजाने भन्दै गत २७ नोभेम्बर २०१९ मा युएई ल्याएका थिए। सन्तोष थापा दुबई बस्ने श्याम थापाका भतिजा हुन् ।

नक्कली इम्प्लोमेन्ट भिसा

तिनजुरे ईम्प्लोइमेन्ट प्रालिको रहोबरमा उनीहरुले प्रति व्यक्ति ९ लाख रुपैयाँ उठाएको पीडितहरुले बताएका छन् । उनीहरुलाई भिजिट भिसामा दुबई ल्याइयो ।यही बीचमा थापाले दुबईमानै काम लगाइदिन्छु भन्दै ७ हजार ५ सय दिर्हामको नक्कली सम्झौता पत्र बनाएर दुबईमा नै काम गर्न भने र दुबईमा रहेको एचएसडी इन्टरनेश्नल सेक्युरिटी सर्भिस एलएलसीमा केही दिन ट्र्निङ समेत गराए।
काम गरे बापत गत जनवरीमा तलबको २५ प्रतिशत रकम दिए।अन्तत: कोरोनाको महामारीसँगै काम बन्द भयो।थापाले उनीहरुलाई ईम्प्लोईमेन्ट भिस त दिए तर नक्कली दिए।

अन्तत थापाले दिएको सम्झौता पत्र र भिसा नक्कली भएको थाहा पाए पछि पीडितहरुले दूतावास र  गैरआवासीय नेपाल संघ(एनआरएनए) लाई सहयोग उद्दारको लागि निवेदन दिए। 

उता थापा भने एनआरएनएमा आफ्नो पहुँच छ भन्दै धम्क्याउन्दै आइरहेका छन्।अलपत्र परेका केही नेपालीहरु सम्पर्कमा आएका छन् भने केहीलाई अझै डर धम्की दिइएको बताइएको छ। उनीहरुले उजुरी गर्न समेत डराइरहेको बोहोराले बताए । अधिकांश पीडितहरु तीनजुरे ईम्प्लोईमेन्ट सर्भिसेजकी जनसंपर्क अधिकृत सिर्जना अधिकारी र सन्तोष थापा मार्फत दुबई पुगेका थिए ।

सिर्जना अधिकारीसँग गरिएको कागज

नेपालमा पीडितका परिवारले सम्मन्धित मेनपावर कम्पनी तीनजुरे ईम्प्लोईमेन्ट सर्भिसमा सम्पर्क गर्दा निज मेनपावर प्रमुख बिनय राई पन्छिने गरेको पीडित परिवारले बताएका छन्। 

आफ्नो मान्छे दुबईमा अलपत्र परेकोले तत्काल उद्दार गर्न मेनपावरसँग अनुरोध गर्दा यो विषय आफ्नो नभएकोले उद्दार गर्न नसक्ने राइले भन्ने गरेको पीडित परिवारले बतायो। तर सम्झौता पत्रअनुसार सिर्जना अधिकारी र सन्तोष थापाले तीनजुरे ईम्प्लोइमेन्ट सर्भिस मार्फत पठाएको खुल्न आएको छ। उनीहरुसँग यसबारे प्रतिक्रिया सम्पर्क गर्दा सम्पर्क हुन सकेन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप