बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भरिया अभिनयले मेरो जीवनमा धेरै अर्थ राख्छः विपिन कार्की

सोमबार, २६ साउन २०७७, १४ : १३
सोमबार, २६ साउन २०७७

अभिनेता विपिन कार्कीमा जस्तोसुकै भूमिका पनि जीवन्त बनाउने खुबी रहेको छ । त्यसैले त उनले अभिनय गरेको फिल्मको व्यावसायिक पाटो जे भए पनि उनको भूमिकाले भने सर्वत्र चर्चा पाउने गर्दछ । उनका अभिनयका लाखौँ फ्यान पनि छन् ।
करिब एक वर्ष अगाडि उनको फिल्म ‘सेल्फी किङ’का कारणले चर्चा भएको थियो । फिल्मका लागि उनले बनाएको लुक्स हलसम्म दर्शक तान्ने माध्यमसमेत बन्यो । फिल्ममा कमेडी कलाकारको भूमिका निर्वाह गरेका विपिनको फिल्म अभिनय र भूमिका दुवैको दर्शकले तारिफ नगरी रहन सकेन् ।
उनै विपिनको अहिले फेरि तारिफ र चर्चा हुन थालेको छ । यतिबेला उनको तारिफ र चर्चाको विषय भरिया अभिनय बनेको छ । हालै सार्वजिनिक भएको ‘डर छैन’ बोलको म्युजिक भिडियोमा उनी भरियाको रूपमा प्रस्तुत भएका छन् ।
सन्तोष लामाको स्वर, हरि लम्सालको सङ्गीत, नारायण गौतमको शब्द रहेको गीतको भिडियोमा विपिनले दिनभर काम गरेर छाक टार्ने र पैसा नहुँदा चामलै खाएर रात बिताउने एक भरियाको जीवन बोलेका छन् । 
छोटो भिडियोमा सिङ्गो कथा व्यक्त गरेका विपिनको यो सेल्फी किङपछिको पहिलो प्रोजेट हो । जुन उनले लकडाउन पछि छायाङ्कन गरेका थिए । उनको यो भिडियोको भरिया अभिनय हेर्दा लाग्छ उनी वर्षौंदेखि यही पेसामा छन् । निकेश खड्काको निर्देशन रहेको भिडियोमा विपिनले आफूलाई भरियाको भूमिकामा शक्तिशाली रूपमा प्रस्तुत गरेका छन् । जसको तारिफ र प्रशंसा चौतर्फी भइरहेको छ ।
नेपाली कलाक्षेत्रमा भर्सनटाइल कलाकारका रूपमा परिचित विपिन कार्कीसँग भरिया भूमिकाको विषयमा केन्द्रित रहेर राखिएको केही प्रश्न यस्ता छन् । 

भरियाको भेषमा निर्वाह गर्दा कस्तो अनुभूति भयो ?
– मैले त भरियाको भूमिकामा अभिनय गरेको हो । साँच्चिकै भरिया बनेको होइन । मेरो अभिनयमा पनि भरियाको रियल फिलिङ चाहिँ आएको छैन, होला है । किनभने साँच्चिकै परेको र अभिनय गरेको फिल एउटै हुँदैन जस्तो लाग्छ मलाई । 
भरियासँग दर्शक नजिक्याउने कोसिस भने गरेको छु । हाम्रो सोसाइटीमा देखेको, भोगेको र अहिलेको अवस्थामा त्यो वर्गले भोगेको जीवनको प्रतिविम्बका रूपमा मैले त्यो भूमिका हेरेको, लिएको छु । 

भूमिका निर्वाह गर्न रिसर्च पनि भयो होला ?
–हाम्रो समाजमा धेरै देखिने, जो पनि ठोकिनुपर्ने पात्र भनेको भरिया नै हो । त्यसैले यो भूमिका निर्वाहका लागि कुनै रिसर्च चाहिन्छ भन्ने मलाई लागेन । मेरो अब्जर्भ गर्ने खालको बानी छ । मैले धेरै पटक कैयाँै भरियालाई अब्जर्भ गरेको छु । त्यस कारण पनि रोलको अफर आउने बित्तिकै भरिया खोज्दै, रिसर्च गर्दै हिँड्नु परेन । गरिनँ पनि ।
भरियाको भूमिका अफर आउँदा नगरौँ भन्ने लागेन ?
–म जहिले पनि अभिनयमा च्यालेन्जिङ, अफ्ठ्यारो काम र भूमिका रुचाउँछु । भोलि के होला, कसैले के भन्ला भनेर सोच्न बानी छैन । यस्तो सोच्न थाल्यो भने अभिनयको मज्जै आउँदैन । जुन भूमिका आफूले पाएको छु । त्यो राम्रोसँग गर्नुपर्छ भन्ने हुन्छ ।
 
भरिया गेटअपमा हिँडेको समय दर्शकले कलाकार विपिन कार्की भनेर चिने कि चिनेन् ?
–मेरा धेरै प्रकारका दर्शक छन् । तीमध्य धेरै फलो गर्ने पनि केही हुनुहुन्छ । उहाँहरु एक दुई जनाले चिन्नुभयो । त्यो स्वाभाविक पनि हो ।
काठमाडौँको इन्द्रचोक जस्तो दैनिक हजारौँ, लाखौँ मानिसको ओहोरदोहोर हुने स्थानमा भिडियो सुटिङ भएको थियो । त्यहाँ केही मानिसले मलाई चिन्नु भनेको सामान्य नै हो । 
तर धेरैले चिन्नु भएन । उहाँहरुले भरिया नै होला भनेर त्यस्तै व्यवहार देखाउनुभयो । मेरो सबै फिल्म हेर्ने, मेरो क्रियाकलापको नियमित फलो गर्नेले नजिक आएर मैले तपाईंलाई चिने दाइ समेत सुटुक्क भने । केहीले टाढाबाट आँखाले इसारा गरे ।
सुटिङको त्यो ३, ४ घण्टाको दौरानमा भरियाको भेषमा मलाई २०, २५ जनाले मात्र चिन्नु भयो । ती व्यक्तिलाई म सुटमा भए पनि कतिलाई आँखा सन्काए, कतिलाई हात हल्लाएर अभिवादन गरे, माया साटे ।
कतिपय मानिसले त मलाई रियल भरिया भनेर समेत झुक्किए । म भरिया बस्ने स्थानमा उनीहरुकै शैली र सामानसहित बसेकाले छायाङ्कनको समयमा पनि कतिपय व्यापारीले आफ्नो सामानका लागि जसरी रियल भरियालाई आग्रह गर्थे । त्यसरी नै सामान लानका लागि समेत मलाई आग्रह गरे ।
त्यसरी आफूलाई मानिसले भरिया सोचेर बोलाउँदा म भूमिकामा सफल देखिएछु भने भित्रभित्र गदगद हुन्थेँ । कलाकारका रूपमा मज्जा लिए । मैले सुरुमा भरिया बन्दा आफूले मात्र पात्रमा विश्वास गरेको थिए । सर्वसाधारणले भरिया सोच्दा अरुले पनि उक्त पात्रमा विश्वास गरेको रहेछन् भन्ने लाग्यो । आफूले अभिनय गरेको पात्र सार्थक भएजस्तो लाग्यो । खुसी सीमै भएन ।

भरियाको भूमिका केही सिक्नु पनि भयो कि ?
–हरेक अभिनयबाट केही न केही अवश्य सिक्न सकिन्छ । त्यसैले यो भरियाको भूमिकाबाट पनि नसिक्ने कुरै भएन ।  आफूले गरेको कामबाट के मिस्टेक गरेँ । कसरी गर्नुपर्ने रहेछ । म के सोच्थेँ लगायत धेरै सिकेँ । आफूलाई लागेको गर्न खोजेको कुरो उतार्न सकिएन भने । यस्तो तरिकाबाट  तरिकाबाट नहुने रहेछ । नयाँ तरिकाबाट अपनाउनुपर्ने रहेछ भन्ने बुझे । 
यो मात्र होइन, हरेक कामबाट केही न केही सिक्न सकिन्छ । तर मानिससँग सिक्ने उत्सुकुता भने हुनुपर्छ । सिक्ने उत्सुकता भएन भने कहिलै पनि र केही गर्दा पनि सिक्न सकिन्न । यो म्युजिक भिडियो मेरो पहिलो थिएन । मैले हरेक वर्ष केही भिडियो खेलेको छु । तर भरियाको भूमिका भने अभिनयको पहिलो अनुभव थियो । जुन स्मरणीय बन्यो ।

भरियाको जीवन बाहिरबाट जस्तो दुःखी देखिन्छ । त्यस्तै रहेछ कि रहेनछ त ?
–बाहिरबाट देखेको त्यो वास्तिविकता रहेछ । हामीले भिडियोमा गरेका चामल खानेदेखि लिएर धेरै दृश्य समेटेका त्यो साँच्चिकै दृश्य हो । भरियाको जीवनको वास्तविकता हो । भरियाको कथा धेरैको जीवनसँग मेल खाने कथा पनि हो । त्यसैले सबैले आफ्नो फिल गरेर, रियल लागेर, समाजको प्रतिविम्बको रूपमा पाएर होला भिडियोमा भरिया पात्र मन पराइएको छ ।

गीतबाहिर आएपछि कस्तो प्रतिक्रिया पाउनुभयो ?
– धेरै राम्रो प्रतिक्रिया पाइरहेको छु । मेरो कामबाट आएको दर्शकको प्रतिक्रियाबाट एकदमै सुन्तुष्ट हुने ठाउँ रहेका छन् । उत्साह, उमङ्ग जेजे भन्नुहुन्छ सबै भएको छ । एउटा कलाकारले काम गरिसकेपछि पाउने सफलताका लागि चाहिने प्रतिक्रिया सबै यो भूमिकाबाट पनि पाएको छु । निरन्तर कामका एकदमै ऊर्जा थपिएको छ । ऊर्जावान भएको छु । भरिया अभिनयले र पाएको चर्चाले मेरो जीवनमा धेरै अर्थ राख्छ । दर्शकको यो माया, यो खालको प्रतिक्रिया कहिलै भुल्न सक्दिनँ ।
लकडाउनका कारण सबै फिल्मका काम बन्द भएको थियो । यो भिडियोले मेरो जीवनमा पनि एउटा राहतको काम गरेको छ । म एउटा सिर्जनशील पेसामा भएको हिसाबले सिर्जना गर्न छोडियो भने एक खालको नमीठो अनुभूति हँुदोरहेछ । 
फिल्म सेल्फी किङ पछाडि करिब एक वर्ष भयो होला मैले कुनै पनि काम गरेको थिइनँ । फिल्म गरे जस्तो त डिटेलमा भिडियोमा काम गर्न पाइँदैन, हुँदैन पनि तर पनि यो भिडियोले महत्त्व राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप